काठमाडाैंका सडकमा ट्राफिक प्रहरी भन्दा सीसीटीभी क्यामेरा धेरै, ६ हजार चालक कार्बाहीमा परे

४ बर्ष अगाडि

दुर्घटना तथा सडक नियमको उल्लङ्घनमा निगरानी बढाउनका नेपाल प्रहरीले काठमाडौंमा एक हजार ७ सय सीसीटीभी क्यामेरा जडान गरेको छ । 

सवारी आवागमनमा भएको वृद्धिसँगै बढेका चुनौतीका कम गर्न  सीसीटीभी क्यामेराबाट निगरानी बढाएको हो । 

अनुगमन ट्राफिक प्रहरीको दरबन्दी कम भएको काठमाडौंमा सडकमा खट्ने ट्राफीक भन्दा सीसीटीभीको संख्या धेरै रहेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । 

काठमाडौं उपत्यकामा करिब १४ सय ट्राफिक प्रहरी परिचालन गरिएको महानगरीय ट्राफिक महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए । 

उनका अनुसार नेपालमा अहिले जम्मा दुई हजार ६ सय २१ ट्राफिक प्रहरीको दरबन्दी छ। 

त्यसैले सन् २०१९ को जुन महिनामा करिब साढे पाँच सयको हाराहारीमा रहेका सीसीटीभी क्यामेरा ६ महिनामा लगभग तीन गुनाले बढाइएको प्रहरी अधिकरीहरुले बताएका छन् ।  

सीसीटीभी क्यामेराका कारण ठूला देखि  स–साना घटनाबारे थाहा पाउन र सवारी चालकलाई जवाफदेही बनाउन सहयोग पुगेको ढकालले बताए । 

क्यामेरोको सहयोगले दुर्घटनामा मात्र नभई ट्राफिक व्यवस्थापन लगायतका विषयमा समेत सहयोग पुगेको ट्राफिक प्रहरीको भनाई छ । 

सीसीटीभीबाट खिचिएको भिडिओ हेर्नका महानगरीय प्रहरी आयुक्तको कार्यालय र ट्राफिक मुख्यालयमा  खिचेको कन्ट्रोल रुम बनाइएको छ।

प्रहरी आयुक्तको कार्यालयमा चारदेखि पाँचजना र  ट्राफिक मुख्यालयबाट १० देखि १५ जना गरी हरेक समयमा  स्थानमा १४ देखि २० जनाले भिडियोको अनुगमन गरिरहेका हुन्छन्।

त्यसका आधारमा चालु आर्थिक वर्षको पहिलो छ महिनामा मात्रै सीसीटीभी करिब छ हजारभन्दा बढीलाई कारबाही गरेको महाशाखाले जनाएको छ । 

कार्बाही पर्नेहरुमा लेन मिचेको, सडक सङ्केत पालना नगरेको, सडक चिह्न रहेका स्थानमा समेत सवारीसाधन मनपरी फर्काएको, तीव्र गतिमा सवारी कुदाएको, जहाँ पायो त्यही सवारी रोखेर राखेको वा यात्रु चढाएको र झारेको जस्ता घटनादेखि ज्यान नै लिने प्रकृतिका घटना घटाउनेसम्मका सवारी छन् । 

ढकालका अनुसार सीसीटीभीमा गल्ती गर्ने सवारी देखिनासाथ यातायात विभागबाट सवारीचालकको विवरण लिने र त्यसकै आधारमा कारबाही अघि बढाउने गरिएको बीबीसी न्यूजले जनाएको छ । 

सीसीटीभीबाट अनुगमन प्रभावकारी भएपछि ट्राफिक प्रहरीले रातिको बेला समेत स्पष्ट रूपमा फूटेज हेर्न सकिने तथा स्मार्ट क्यामेरा जडान गर्न सरकारसँग माग गरेको छ । 
उपत्यकामा सीसीटीभीको सङ्ख्या अझ तीन गुणा बढाउनुपर्ने अवस्था रहेको महाशाखाले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया