अन्तःशुल्क घटेपछि लक्ष्यअनुसार कर उठेन

४ बर्ष अगाडि

अन्तःशुल्कमा कमी आएपछि लक्ष्यअनुसार कर सङ्कलन हुन सकेको छैन ।

आन्तरिक राजश्व कार्यालय भरतपुरले पुस मसान्तसम्ममा रु १५ अर्ब ४३ करोड ९४ लाख ७६ हजार राजश्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ७८ दशमलब ४० प्रतिशतमात्र हुन आउँदछ । 

 कार्यालयका अनुसार पुस मसान्तसम्ममा रु १२ अर्ब ८६ करोड ६३ लाख १४ हजार अन्तःशुल्क सङ्कलन भएको छ । जुन लक्ष्यको ७४ दशमलव ६८ प्रतिशतमात्र हुन आउँछ । मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब १२ करोड ३७ लाख ७९ हजार सङ्कलन भएको छ । यो लक्ष्यको १२५ दशमलव ३१ प्रतिशत हो । 
    
  त्यस्तै आयकरतर्फ रु एक अर्ब ३२ करोड ३४ लाख ५१ हजार, बहाल करतर्फ रु तीन करोड ४४ लाख ९५ हजार र ब्याज करमा रु आठ करोड १९ लाख पाँच हजार सङ्कलन भएको छ । आयकरमा ९६ दशमलव १५, बहाल करमा ६६ दशमलब २२ र व्याज करमा ७६ दशमलव ९९ प्रतिशत लक्ष्य प्राप्त भएको कार्यालयले जनाएको छ । 

  कार्यालयप्रमुख शुभप्रसाद रिजालका अनुसार यहाँको मुख्य राजश्व  अन्तःशुल्क हो । यस वर्षको लक्ष्य रु ४३ अर्ब ३८ करोड रहेको छ । जसमध्ये अन्तःशुल्कको लक्ष्यमात्र रु ३७ अर्ब ९४ करोड रहेको छ । यस कार्यालयले सङ्कलन गर्ने राजश्वमा ८६ प्रतिशत लक्ष्य अन्तःशुल्कको छ । गत वर्ष रु ३० अर्ब राजश्व सङ्कलन भएकामा रु २६ अर्ब अन्तःशुल्कबाट सङ्कलन भएको थियो । 

 अन्तःशुल्कको मूख्य हिस्सा मदिरा र बियर उद्योगले समेट्ने गर्दछ । यसका अतिरिक्त रङ, सिमेन्ट, फलामका निर्माण सामग्री उत्पादन, हल्का पेयपदार्थ लगायतमा अन्तःशुल्क लाग्ने गर्दछ । यस कार्यालयले नवलपुर र चितवन हेर्दछ । यस क्षेत्रमा सात मदिरा उद्योग र छ बियर उद्योग छन् । मदिरा र बियरको उत्पादन र बिक्री वितरण कमी भएका कारण राजश्वमा गिरावट आएको रिजालको भनाइ छ । अन्तःशुल्कमा मदिराको भन्दा बियर उद्योगको लक्ष्य बढी भएको भन्दै उहाँले गर्मी मौसमसँगै बियरको उत्पादन एवं बिक्री बढेर राजश्व लक्ष्यमा पुग्ने जानकारी दिए ।
 
 चिसो मौसममा मदिराको खपत राम्रो हुने भए पनि बियरको खपत निकै कम हुने गर्दछ । कार्यालयले राजश्व बढाउन यस क्षेत्रका उद्योग वाणिज्य संङ्घ, उद्योग सङ्घ, चेम्बर अफ कमर्स लगायतका उद्योगी–व्यवसायीका सङ्घसंस्थासँग छलफल एवं करसम्बन्धी जानकारी गराउने, बजार अनुगमन गर्ने जस्ता कार्य गर्दै आएको रिजालले बताए । कार्यालयमा एक लाख ४० हजारभन्दा बढी करदाता रहेका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया