प्रधानमन्त्री ओलीको जन्मघरसम्म बाटो पुग्दै

४ बर्ष अगाडि

धेरै सुनिएको, चिनिएको ठाउँ हो तेह्रथुमको आठराई । 

आठराई पूर्वी नेपालमा राजनीतिक÷सामाजिक परिवर्तनको ज्योति छर्ने ठाउँ पनि हो । आठराई विकासका गतिविधिले विस्तारै उज्यालिँदै छ । यहाँसम्म पुष्पलाल ९मध्यपहाडी० लोकमार्ग विस्तार भएको छ । 

विद्युतीकरण पनि अघि बढेको छ । बसाइँसराइले उजाडिएका आठराई उजिल्याउन चुहानडाँडामा विमानस्थल निर्माणको प्रकृया अघि बढेको छ ।
यही आठराई गाउँपालिकाको छातेढुङ्गाबाट मध्यपहाडी लोकमार्ग छोडेर नौ किलोमिटर जति यात्रा गरेपछि मुलुकका कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो पुगिन्छ । 

प्रधानमन्त्री ओली जन्मे हुर्केको, पञ्चायत विरुद्धको आन्दोलनको चेतना पाएको र क्रान्तिमा सम्मिलित भएको ठाउँ पनि आठराई नै हो । प्रधानमन्त्री ओलीले विभिन्न सन्दर्भ र कुराकानीमा आठराईसँग जोडिएका प्रसङ्गहरु सुनाउने गरेका छन् ।

केही महिना अघिसम्म मुलुकका कार्यकारी प्रमुखको जन्मघरसम्म मोटरबाटो पुगेको थिएन । भर्खरै उनको जन्मघरसम्म साङ्घुरै भए पनि मोटरबाटो पु¥याइएको छ । गत साता मध्यपहाडी लोकमार्गको अवलोकनमा आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली आठराईको छातेढुङ्गाको हात्तिपोखरीबाट ओलीको जन्मघरतर्फ प्रस्थान ग¥यो । 

निकै कष्टसाथ करीब ६ किलोमिटर दूरी पार भयो तर, त्यसपछि सवारीसाधन अघि बढाउने अवस्था भएन । सवारी चालकहरु भन्दै थिए – “यो बाटोमा राम्रोसँग घुम्ती मोड्न पनि पुग्दैन ।” 
अघिल्लो रात पानी परेकाले आठराई गाउँपालिका–४ इवाको रातो माटोमा सवारी अघि बढ्न सकेनन् । घुम्तीमा गाडी भासिने भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले गाडी अघि नबढाउन भने । 

गाडीबाट उत्रेर उनी पैदल अघि बढ्े। हिलाम्ये बाटोमा राम्रोसँग हिँड्न मिल्ने अवस्था थिएन । उनको साथमा मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक अशोककुमार शर्मा, सांसद्द्वय भवानीप्रसाद खापुङ र घनश्याम खतिवडा पछि लागे । मन्त्रालयसँग करीब रु डेढ खर्बको विकास बजेट छ ।  

केही समथर ठाउँमा छ प्रधानमन्त्री ओलीको जन्मघर । उनको जन्मघरलाई आठराई क्षेत्रलाई जस्तै उज्यालो पार्ने प्रयत्न भइरहेको छ । विकासको गतिले उज्यालो बनाउन मद्दत पनि पुगिरहेको छ  तर, सिङ्गो गाउँ भने उजाड छ । 

बसाइँसराइले अलि वरपरका पाखाबारीहरु समेत बाँझिन थालेका छन् । पारिपट्टि पाँचथरको हिलिहाङमा मध्यपहाडी लोकमार्ग र तमोर कोरिडोरको ठूलो ट्र्याक देखिए पनि प्रधानमन्त्रीको गाउँ भने सुनसान छ । “गाउँमा पातलो मात्रै मान्छे भेटिने रहेछन्,” तेह्रथुमका सांसद भवानीप्रसाद खापुङले भने। पूर्वी पहाडबाट हुने बढ्दो बसाइँसराइको मारमा प्रधानमन्त्रीको गाउँ समेत परेको छ । खरले छाएको, ढुङ्गा, माटो र काठले बनेको प्रधानमन्त्री जन्मेको घर अघिल्तिर उनकै परिवारजनले टिनको छानो भएको ठूलो घर निर्माण गरेका छन् । 

यी दुई घरभन्दा करीब ५० मिटर पर प्रधानमन्त्री ओलीको व्यक्तिगत लगानीमा हालै मात्र हेलिप्याड निर्माण सम्पन्न भएको छ । त्यहाँसम्म सानो कच्ची बाटो पुगेको छ । “सबै मानिसहरुले तेह्रथुममा, आठराईमा केही हुन्छ भने अहिले हुन्छ भन्ने गरेका छन्,  यही धर्तीको छोरो यो देशको कार्यकारी प्रमुख छन्”, सांसद खापुङले भने – “केही होला भन्ने आशा पलाउन थालेको छ । भर्खर त प्रधानमन्त्रीज्यूको घरसम्म बाटो पुग्दैछ ।” प्रधानमन्त्रीले आगामी फागुन ११ गते आफ्नो ६८औँ जन्मदिन मनाउन जन्मथलो आउने मनसाय ब्यक्त गरेपछि पूर्वाधार निर्माणको कार्य भइरहेको स्थानीयवासीको भनाइ छ । 

पहाडहरु कसरी उजाडिँदैछन् भन्ने राम्रो प्रमाण प्रधानमन्त्री स्वयं जन्मेको गाउँले देखाउँछ । बारीमा सुन्तलाका रुखहरु छन् । पुराना रुखहरु सुक्दै गएका छन् तर, नयाँ बिरुवा हुर्किएको पाइन्न । गाउँमा काम गर्ने मान्छे नै नभेटिने अवस्था रहेकाले यस्तो स्थिति आएको स्थानीयवासी बताउँछन् । दोस्रो पटक प्रधानमन्त्री बन्नुभएका ओलीको जन्मघरमा भर्खरै सडकको ट्र्याक पुगेको छ भने अरु गाउँहरुको हालत यसै बुझ्न सकिन्छ । 

यहीँकी विष्णुमाया भुसालको परिवारले प्रधानमन्त्रीको घरलाई उज्यालो बनाउन मद्दत गरेका छन् । घर, आँगन गोबर माटोले लिपेर चिटिक्क पारिएको छ । “हामीलाई कमाइ गरिखान वर्षौँदेखि यी घरहरु छोडिएका छन्,” भुसालले भननि – “पहिले बिक्री गरिएका यहाँका अन्य घरजग्गा प्रधानमन्त्रीज्यूको पहलमा पुनः खरिद गरिएका छन् ।”

प्रधानमन्त्री ओलीको परिवार २०२८ सालमा बसाइँ सरेर झापा गएको थियो । राजनीतिक आन्दोलनमा सक्रिय रहनु पर्दा प्रधानमन्त्री ओलीले आफ्नो जन्मथलोबारे पर्याप्त ध्यान दिन नपाएको स्थानीयवासी बताउँछन् । लामो सङ्घर्षबाट अन्य प्रधानमन्त्रीभन्दा फरक अवसर प्राप्त गर्नुभएका प्रधानमन्त्री ओलीकै अगुवाइमा मुलुकमा विकास र समृद्धिको जग बस्नेमा पनि स्थानीयवासी ढुक्क देखिन्छन् । 

धेरै स्थानीयवासी प्रधानमन्त्रीको जन्मथलो एक विशिष्ट स्थानको रुपमा विकसित हुने अपेक्षामा देखिन्छन् ।पछिल्लो पटक २०६९ सालमा प्रधानमन्त्री ओली जन्मघर आइपुग्नु भएको थियो । अहिले उनको जन्मघरलाई सङ्ग्रहालयको रुपमा विकास गर्ने तयारी भइरहेको छ । 

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० आठराई गाउँपालिकाका इन्चार्ज भीम घिमिरेका अनुसार उक्त सङ्ग्रहालयमा ओलीसँग सम्बन्धित सम्पूर्ण सामग्री राख्ने तयारी गरिएको छ । उनको बाल्यकालदेखिका विषय समेट्न खोजी कार्य भइरहेको घिमिरेले बताए । यस्तै, ‘केपी शर्मा ओली ट्रष्ट’ले यहाँ कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि २०० रोपनी जमीन खरिद गरिसकेको छ । अझै २०० रोपनी जमीन खरिदको प्रकृयामा रहेको ट्रष्टले जनाएको छ । कृषिको आधुनिकीकरणका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित केन्द्र स्थापनाको काम अघि बढाइएको हो । 

जीर्ण अवस्थामा पुगेको प्रधानमन्त्री ओलीको जन्मघरलाई पुरानै स्वरुपमा संरक्षण गर्नुपर्ने स्थानीय बासिन्दा बताउँछन् । प्रधानमन्त्रीको जन्मघर एक ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास हुने भएका कारण यहाँसम्म कालोपत्रे सडक, विद्युत्, खानेपानी, सिँचाइ जस्ता पूर्वाधार निर्माण गर्नुपर्ने उनीहरुको माग छ । गाउँलाई जीवन्त राख्न गाउँबाट बसाइँसराइ रोक्न अत्यावश्यक रहेको स्थानीयवासी विनोद सिलवाल बताउँछन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया