लिखित प्रतिबद्धता जनाउँदै सार्वजनिक सवारीका चालक

४ बर्ष अगाडि

सार्वजनिक सवारीप्रति सर्वसाधारणको गुनासो बढ्न थालेपछि अवस्था सुधार्न ट्राफिक प्रहरीले सार्वजनिक सवारीका चालकसँग लिखित प्रतिबद्धता लिन थालेको छ । प्रहरीले स्थलगतरुपमा सवारीको अनुगमन गरी प्रत्यक्ष देखिएको समस्या पहिचान गरी यात्रुको गुनासोसमेत समेटेर लिखित प्रतिबद्धता लिन थालिएको हो । 

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सार्वजनिक सवारीलाई यात्रुमैत्री बनाउने अभियानअन्तर्गत यातायत व्यवसायीसँगको सहकार्यमा चालकहरुलाई लिखित प्रतिबद्धता गराउन थालिएको जानकारी दिए। “हाम्रो टोली हरेक दिन सार्वजनिक यातायातमा आफैँ चढेर अनुगमन गर्छन्, यात्रुहरुँग जानकारी लिन्छन्, के के कमजोरी छ सबै उल्लेख गरेर उनीहरुलाई प्रतिबद्धतापत्र वितरण गर्ने गरिएको छ, त्यसमा सुधार गर्नुपर्ने कुरा उल्लेख छ, एक हप्तामा कार्यान्वयन गर्न भनिन्छ, कार्यान्वयन भएन भने कारवाही थालिन्छ”, ढकालले भने ।

ट्राफिक प्रहरीका हरेक युनिटले दिनमा निश्चित समयमा अनुगमन गर्छन् । गाडीको अवस्था के छ, भाडासम्बन्धी गुनासो छ कि छैन, आरक्षण सिट उपलब्ध छ कि अरूले नै प्रयोग गरेको छ, झ्याल ढोका र सवारीको अवस्था कस्तो छ, क्षमताअनुसारको यात्रु छ कि छैन भन्नेजस्ता विषयमा अनुगमन गर्छन् । 

यस्तै गाडीको गति, चालक सहचालकको बानीबेहोरा, सवारी सरसफाइदेखि जुत्ता लगाए÷नलगाएको तथा जथाभावी पार्किङ, पिक एण्ड ड्रपको पालना लगायतका विषयमा अनुगमन हुने गरेको छ । कुनै कुरा कमजोरी देखिएमा चिह्न लगाएर एउटा पत्र चालकले लिने र अर्को प्रतिबद्धतापत्र प्रहरीले लिन्छ । उक्त पत्रमा गाडी नम्बर, चालकको नामसहितको विवरण उल्लेख भएको महाशाखाका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए। 

गुनासो धेरै आएपछि गत पुस २७ गते महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल आफैँ सादा पोसाकमा सार्वजनिक सवारीमार्फत काठमाडौँका विभिन्न क्षेत्र घुमेर अवस्था बुझेपछि २८ गतेको निर्णयअनुसार अहिले प्रहरीले सार्वजनिक सवारीमा आफ्नो उपस्थिति बाक्लो बनाएको हो । त्यसपछि अहिलेसम्म उपत्यकामा भण्डै दुई हजार गाडीमा अनुगमन गरेर एक हजारभन्दा बढी चालकसँग प्रतिबद्धता लिइसकेको छ । 

“चालकहरुले प्रतिबद्धतामा उल्लेख कमीकमजोरी सुधार गर्ने भनेर प्रतिबद्धता जनाएका छन्, पूरा भएन भने कारवाही हुन्छ”, अनुगनको नेतृत्व गर्नुभएको महाशाखाका प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए। उनकै नेतृत्वमा यातायात व्यवसायीसमेत संलग्न रहेको एक अनुगमन समिति बनाएर काम गरिरहेको उनले बताए। 

महाशाखा मातहतका ४० युनिटले आ–आफ्नै तरिकाले अनुगमन गरी प्रतिबद्धता लिने काम जारी राखेका छन् । यसले सवारी व्यवस्थापनमा सहज हुने र यात्रुका समस्या हल हुने विश्वास महाशाखाको छ । प्रहरीका अनुसार उपत्यकामा दैनिक चल्ने १२ लाख गाडीमध्ये ९२ प्रतिशत निजी गाडी छन् । आठ प्रतिशत मात्रै भाडाका छन् । यति धेरै गाडी यहाँ थेग्न मुस्किल हुन्छ । त्यही भाडाका सवारीमा अत्यधिक यात्रुको चाप हुन्छ । उपत्यकामा जम्मा दुई हजार १४ किलोमिटर मात्रै सडक छ । 

ट्राफिक प्रहरी जम्मा एक हजार ४०० मात्रै छन् । एक प्रहरी बराबर ९०० सवारी हेर्नुपर्छ । एक किलोमिटरमा ८०० सवारी गुड्नु भनेको अत्यधिक चाप हो । एक किलोमिटरमा ४०० गाडी सामान्य मानिने महाशाखाको भनाइ छ । पछिल्लो पाँच वर्षको अन्तरालमा सवारी दोब्बर हुँदा प्रहरीको सङ्ख्या भने उस्तै छ । यसका कारण ट्राफिक व्यवस्थापन ठूलो समस्या हुँदै आएको महाशाखाप्रमुख ढकालले बताए।

उनका यात्रुलाई यात्राका समयमा एउटा समस्या हो तर चालकले ट्राफिक नियम पालना नगरेका कारण दुर्घटना बढ्ने अर्को जटिल समस्या छ । नियमानुसार गाडी चलाउने हो भने झण्डै ६० प्रतिशत दुर्घटना आफैँ रोकिने प्रहरीको अनुमान छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया