को हुन पुटिनपछिका रुसका शक्तिशाली व्यक्ति ? यस्तो छ नालीबेली

४ बर्ष अगाडि

रुसले भर्खरै नयाँ प्रधानमन्त्रीको रुपमा मिखाइल मिशुस्तिनलाई चुन्यो । प्रधानमन्त्री चयन हुनु एक दिनअघिसम्म पनि मिशुस्तिनले यो पद पाउँदैछन् भन्ने कमैलाई थाहा थियो ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका ‘छाया’ मानिने दिमित्री मेद्भेदेव लामो समय प्रधानमन्त्री पद सम्हालेर बाहिरिएपछि उनको स्थानमा मिशुस्तिन ल्याइएका छन् । 

संसदमा हुने राष्ट्रपतिको वार्षिक सम्बोधनमा पुटिनले रुसको संविधानमा उलेख्य परिवर्तन गर्ने संकेत गरे लगतै मेदभेदेव र उनको क्याबिनेटले राजीनामा दिएको थियो । पुटिनले अघि सारेको यो योजनाबारे विस्तृत विवरण अझै बाहिर आइसकेको छैन ।

रुसका लागि बीबीसी संवाददाता सारा रेन्सफोर्ड यस घटनाक्रमबारे भन्छिन्, ‘मेद्भेदेवलाई पहिलेदखि पुटिनको विश्वसनीय व्यक्ति मानिन्थ्यो । तर अहिले आएर रुसले सामना गरिरहेको आर्थिक समस्याका लागि कतै न कतै मेद्भेदेवलाई दोष दिइँदैछ ।’ 

यो वर्ष देशको नाममा सम्बोधन गर्ने क्रममा पुटिनले अमेरिका र अन्य पश्चिमी देशलाई आफ्नो सामर्थ देखाउन चाहेको र रुसको समाजिक कल्याणमाथि ध्यान केन्द्रीत गर्न चाहेको बताएका थिए ।
यसैले एक नयाँ अनुहारलाई अगाडि ल्याइएको विश्वास गरिन्छ । अहिले रुसी सरकारी मिडियाले मिसुस्तिनबारे सन्देश प्रसारित गरिरहेका छन् । तिनले मिखाइल मिशुस्तिनलाई एक योग्य र अर्थतन्त्रसम्बन्धित समस्यासँग जुध्न सक्षम व्यक्तिका रुपमा प्रस्तुत गरिरहेका छन् । 

५३ वर्षिया मिखाइल मिशुस्तिनलाई पुटिनले प्रधानमन्त्रीका रुपमा छान्नुअघि कमै परिचित भए पनि उनी कर्मचारीका रुपमा भने सफल मानिसकेका थिए ।  आइतबार साँझ उनको नाम रुसी संसदको तल्लोसदनमा पेस गरिदाँ एक जना सदस्यले पनि उनीविरुद्ध मतदान गरेनन् । सन् १९६६ मा रुसको मक्सोको सहरमा जन्मिएका मिखाइल एक प्रभावशाली कर्मचारीका रुपमा गरिन्छन् । 
सन् १९९८ पछि मिशुस्तिन रुसका कर विभागका साथै कैयौं महत्वपूर्ण पदमा रहेर काम गरिसकेका छन् । तर सन् २०१०मा रुसको केन्द्रीय कर सेवाका प्रमुख बनाइएपछि उनले रुसी सत्तारुढहरुको ध्यान तान्न सफल भएका थिए ।

रुसको कर प्रणालीमा सुधार गर्ने कामको लागि उनको प्रशंसा गरिन्छ । उनी बारेमा दिइएको जानकारी अनुसार उनले अर्थशास्त्रमा पीएचडी गरिसकेका छन् । रुसको समाचार एजेन्सी तासका अनुसार मिखाइलले ९० को दशकमा इन्टरनेशनल कम्प्युटर क्लब नामको एक कम्पनीको लागि आईटी विज्ञको रुपमा पनि काम गरिसकेका छन् । त्यस संस्थामा रहदाँ उनले ‘महत्वपूर्ण पश्चिमी आईटी प्रविधि’लाई रुसमा भित्राएका थिए । 

मिखाइल मिशुस्तिन आर्टिफिशियल इन्टिलिजेन्स र डिजिटल प्रविधिलाई बढावा दिनुपर्ने विश्वास गर्छन् । समाचार एजेन्सी रोयर्टसका अनुसार मिशुस्तिनले पुटिनलाई लामो समयदेखि आइस–हकी खेलमा साथ दिदैं आएका छन् । मिशुस्तिनले केही दिनभित्र क्याबिनेटका बाँकी सदस्यको नामको टुङ्गो लगाउनेछन् । मिखाइल मिशुस्तिन आफैले ‘अहिलेको व्यवस्था र सरकारी ढाँचामा कैयौ परिवर्तन गर्ने’ बताइसकेका छन् ।

तर, रुसी राजनीतिक विश्लेषकमाझ मिखाइल मिशुस्तिन एक अस्थायी अनुहार मात्र हुन् या साच्चै पुटिनका राजनीतिक उत्तराधिकार हुन् भन्ने विषयमा पनि चर्चा भइरहेको छ । 
रुसको सरकारी टेलिभिजनका अनुसार मिखाइल मिशुस्तिन रुसको व्यापारिक समुदायमा पनि लोकप्रिय छन् । मिखाइल रुसको ‘आइस हकी फेडरेशन’मा वरिष्ठ सदस्य हुन् र उनले पुटिनको ‘नाइट हकी लिग’मा पनि खेलिरहेका छन् । 

रुसको आर्थिक पत्रिका ‘वेदोमोस्ती’ अनुसार मिखाइल एक गितकार पनि हुन् । उनले रुसका कैयौं चर्चित गायकको लागि गीत पनि लेखेका छन् । 
तर विपक्षका नेता गेनेडी गुडकोभले भने पुटिनले कम परिचित र कुनै राजनीतिक महत्वकाक्षा नभएका व्यक्तिलाई प्रधानमन्त्री बनाएर आफ्नो व्यक्तिगत स्वार्थ हेरेको बताए । बीबीसी हिन्दी


 

४ बर्ष अगाडि

प्रतिक्रिया