‘एमसिसी’का पक्ष विपक्षमा तर्क

४ बर्ष अगाडि

राष्ट्रियसभाका सांसदहरुले संयुक्त राज्य अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी०का पक्ष र विपक्षमा आफ्नो तर्क गरेका छन् ।

सभाको आजको बैठकको विशेष समयमा सांसद राजकुमार कुँवरले ‘एमसीसी’ संसद्बाट अनुमोदन भएमा यसबाट मुलुकमा बाह्य सैनिक हस्तक्षेप बढ्ने तर्क गरे। एमसीसी परित भएमा यसमार्फत अमेरिकी सेना नेपाल भित्रिने र मुस्ताङमा रहेको युरेनियम कब्जा गरेर बस्ने उनले आशङ्का व्यक्त गरे। 

सांसद कुँवरले मुलुकभित्रकै स्रोतसाधन परिचानल गर्न सके विकास गर्न बाह्य सहयोगका लागि हात फैलाउनु नपर्ने बताए। साथै उनले वर्तमान कम्युनिष्ट सरकारले द्वन्द्वपीडित घाइते र शहीद परिवारका समस्या शीघ्र सम्बोधन गर्नसमेत माग गरे।

बैठकमा सांसद कोेमल वलीले ‘एमसीसी’का सम्बन्धमा सबै दल र ठूला नेताले विरोध नजनाएको उल्लेख गर्दै यस बारेमा सरकारले जनतालाई यथार्थ बुझाउन नसक्दा भ्रम फैलाउने काम भएको तर्क गरे। लामो समयदेखि विभिन्न मापदण्ड पालना गरेपछि मात्रै नेपालले यो सहयोग प्राप्त गर्न लागेको जानकारी गराउँदै उनले यस विषयमा दातृ निकायको दूतावसासमेतले एमसीसी कुनै पनि सैनिक गठबन्धनसँग सम्बन्धित नभएको भनी स्पष्ट पारिसकेको बताए।

सांसद रमेशजङ्ग रायमाक्षीले लोकतान्त्रिक अधिकार हनन हुने विधेयकलाई पारित गर्दा विवेक प्रयोग गर्नुपर्ने बताए। उनले प्रधानमन्त्रीको कार्यालय सिंहदरबार भए पनि प्रधानमन्त्री बस्ने निवासका रुपमा रहेको बालुवाटारमा नै अहिले सबै सरकारी कामकारवाही हुने र भेटघाट गर्ने गरिएको भन्दै आपत्ति प्रकट गरे। उनले गोकर्ण रिसोर्टको जग्गा यति समूहलाई भाडामा दिएको विषयमा प्रश्न उठाए। 

सांसद प्रमिला कुमारीले मधेश आन्दोलनका शहीदको सम्मान गर्दै आन्दोलनका क्रममा बिना कसुर लगाइएका मुद्दा फिर्ता गर्न सरकारसँग माग गरे। डा बिमला राई पौडेलले परिवर्तनको शुरुआत घरबाटै भने झैँ सङ्घीय संसद् सचिवालयभित्र रहेका बेथिति अन्त्य गरी सुधार गर्न जरुरी रहेको बताए।

सांसद मुक्ताकुमारी यादवले तराई क्षेत्रमा प्रशासनकै आडमा अपराध हुने गरेको अरोप लगाउँदै धनुषामा दिलीप भनिने ओपप्रकाश महतो, आफ्ना छोरा लोकेशकुमार यादव तथा कञ्चनपुरमा निर्मला पन्तलगायतको हत्या समेतमा प्रशासनको सहयोग रहेको टिप्पणी गरे। केही दिनअघि मात्र अवैैधरुपमा क्रसरको कारोवार गर्ने व्यक्तिले पर्यावरणको संरक्षणमा संलग्न रहँदै आएका दिलीपको टिप्परले किचेर हत्या गरेको बताउँदै हत्यारालाई कडा कारवाही र दिलीपलाई पर्यावरणीय शहीद घोषणा गर्न माग गरे ।

सांसद चक्रप्रसाद स्नेहीले कोटेश्वर–जडीबुटी सुरुङमार्ग र मनोहरा करिडोरका लागि बर्सेनी बजेट विनियोजन भएको तर काम शुरु नहुने गरेको बताए । साथै उनले यस्ता बजेट विनियोजन हुने र काम शुरु नहुने समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए।

सांसद रामनारायण बिडारीले काठमाडौँमा कुनै बेला त्रिपुरेश्वरदेखि रानीपोखरीसम्म रहेको  विशाल टुँडिखेल दिनहुँ अतिक्रमण हुँदै गएकामा चिन्ता व्यक्त गरे । उनले टुँडिखेलको केही भाग नेपाली सेना मातहत रहेको र केही भाग ठेकेदारले कब्जा गरेको भन्दै खाली गराउन सरकारको ध्यानाकर्षण गराए। राष्ट्रियसभाको अर्को बैठक सोमबार दिउँसो १ः०० बजे बस्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया