राजीनामा दिएर अस्ट्रेलिया गए खरेल

४ बर्ष अगाडि

 प्रधानमन्त्री केपी ओलीको रोजाइमा नियुक्त नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले कार्यकाल पूरा नहुँदै आइतबार पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पुष्टि गरे ।
निगमको सञ्चालक समितिमा पर्यटन सचिव अध्यक्ष रहने व्यवस्था संशोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै जिल्लावासी खरेललाई ०७५ भदौ अन्तिम साता चार वर्षका लागि नियुक्त गरेका थिए । दुइटा वाइडबडी विमान खरिद गरेका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारको आठ महिना कार्यकाल बाँकी छँदै प्रधानमन्त्रीले भूमिका कटौती गरेर खरेललाई पहिले सञ्चालक समितिको सदस्यमा ल्याएका थिए । त्यसको तीन दिनपछि तत्कालीन पर्यटन सचिव कृष्ण देवकोटालाई अध्यक्ष पदबाट राजीनामा बुझाउन लगाउँदै खरेललाई कार्यकारी अध्यक्ष नियुक्त गरेका थिए ।
सिंहदरबारमै पुगेर १६ महिनाको कार्यकालको बिट मार्दै निगमबाट बाहिरिएपछि खरेल दिनभर ‘फोन अफ’ गरेर सम्पर्कबाहिर रहे । खरेलको पारिवारिक स्रोतका अनुसार उनी आइतबार राति नै अस्ट्रेलियातर्फ उडेका छन् । खरेल निगम प्रमुखको भूमिकामा दोस्रोपटक आएका थिए । 
 पर्यटन मन्त्रालय सम्हाल्न आइपुगेका योगेश भट्टराई खरेलप्रति सन्तुष्ट थिएनन् । मन्त्री निकट स्रोतका अनुसार उनले खरेललाई थुप्रै पटक राजीनामा दिई सहजीकरण गर्न दबाब दिँदै आएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया