खेतको आलीबाट शुरु भएको सहकारी जिल्लाकै नमूना

४ बर्ष अगाडि

झट्ट सुन्दा अनौठो लाग्छ, खेतको आलीबाट शुरु  रामपुरको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाले पाल्पा जिल्लाकै नमूना सहकारीका रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ ।

आज भन्दा दुई दशक अघि रामपुर नगरपालिका–७ स्थित बिरुवा खेतको आलीमा केही स्थानीयवासीले सहकारी सञ्चालनको सोच बनाए अनुरुप विसं २०५६ पुस २० गते यो सहकारी अस्तित्वमा आयो ।

खेतको आलीमा बसेर दैनिक ५० रुपैयाँका दरले सञ्चालन गर्ने गरी थिति बसालेको यस सहकारीमा अहिले भने रु ८७ करोड बराबरको कारोबार हुने गरेको छ । एक अर्बको कारोबार पु¥याउने संस्थाको लक्ष्य छ ।

अहिले यो सहकारी पूर्वी पाल्पाका धेरै नागरिकलाई सेवा दिन सफल छ । सानो पूँजीको प्रयोगमार्फत आर्थिक समृद्धि चाहने जुझारु जो कोहीका लागि यो भरपर्दो सहारा सावित भएको छ ।

यो संस्था सञ्चालनमा आएसँगै कैयौं उद्योगी, व्यवसायी, व्यापारी, कृषकलाई व्यवसाय गर्ने महत्वपूर्ण सारथी बन्यो । बिनाधितो सहुलियत दरमा ऋण उपलब्ध गराउन थालेका कारण पैसाकै अभावमा अन्योलमा रहेका सर्वसाधारणलाई यो संस्थाले उद्यमशीलतातर्फ उन्मुख गरायो ।

सहकारीले आफ्नो सेवाको क्षेत्रलाई पनि त्यही अनुरुप फराकिलो बनाउँदै लग्यो । खेतको आली हुँदै चौतारी, खुल्ला चउर, भाडाका कोठामा सञ्चालन गरिएका धेरै तितामिठा अनुभव सङ्गालेको यो सहकारीको अहिले आफ्नै सुविधासम्पन्न भवन छ ।

जिल्ला सदरमुकाम तानसेनदेखि करीव ६५ किलोमिटर पूर्व रामपुर नगरपालिकामा केन्द्रीय कार्यालय रहेको यो सहकारीमा सेवाग्राहीको चाप बढेसँगै शाखाहरु खोलिएका छन् ।

सहकारीबाट बिनाधितो ऋण पाएपछि यहाँका महिलाहरू घरमै बसी विभिन्न आयमूलक व्यवसाय गर्न थालेका छन् । सहकारीको लघुवित्त कार्यक्रममा आबद्ध भई बिनाधितो ऋण लिएर च्याउ खेती, भैंसीपालन, बाख्रापालन व्यवसायमा लगानी गरेको रामपुर नगरपालिका वडा नं ५ बस्ने लक्ष्मी राना बताउछन्।

“सहकारीले ऋण दिएकाले कृषि व्यवसाय गरेकीे छु, राम्रो भएको छ, व्यवसाय राम्ररी चलेको देखेपछि संस्थाले सहुलियत ऋण मात्र नभई व्यवसायको मूल्याङ्कन गरी यो वर्ष मलाई पुरस्कृत पनि ग¥यो,” रानाले हर्ष व्यक्त गर्दैै भने । आफूले समय समयमा कर्जा बुझाउँदै ऋण लिँदै व्यवसाय बढाउने गरेको उनले सुनाए।

सहकारीले व्यवसाय गर्न ऋण लगानी गरिदिएपछि राना जस्तै रामपुर–१० का कमलराज वस्तीले व्यावसायिक भैंसीपालन गरेका छन् । सहकारीमा आबद्ध भएसँगै व्यवसायमा सहकारीले ऋण दिने गरेको र त्यसै कारण दुई चार पैसाका लागि अरूलाई गुहार्न नपरेको वस्ती बताउछन्।

रामपुर नगरपालिका–५ बहखोला बस्ने अर्की स्थानीयवासी उर्मिला राना व्यवसाय चलाउन धेरै ठाउँमा भौँतारिन। ऋण दिन आफन्त, साथीभाइ, छिमेकी कसैले पत्याएनन् । सहकारीमा आबद्ध भएपछि सजिलै सँग बिनाधितो ऋण लिएर होटल व्यवसाय चलाएको अनुभव उनले सुनाइन।

“परिवारमा कमाउने कोही नहुँदा दैनिकी चलाउन पनि मुस्किल थियो,” विगत सम्झँदै उनले भनिन – “सहकारीबाट ऋण झिकेर होटल व्यवसायमा लगानी गर्दा अहिले राम्रै भएको छ । घर घडेरी जोड्दै आनन्दसँग जीवनयापन गर्न पाएका छौं ।”

उनीहरु जस्ता धेरैको जीवन जिउने आधार बनेको छ, अन्धकारमुक्ति साकोस । संस्थाबाट ऋण लिएका व्यक्तिले व्यवसायमा राम्रो प्रगति गरेको अध्यक्ष सागरप्रसाद देवकोटा बताउछन्।

“संस्था सेवामुखी हो भन्ने भावना हामी सबैमा छ, हामीले सदस्यको आर्थिक अवस्था बलियो कसरी हुन्छ भनेर सहुलियत दरमा ऋण, बिनाधितो ऋण उपलब्ध गराउँदै आएका छौँ,” अध्यक्ष देवकोटाले भने।

सहकारीमा हाल बाल बचतसहित नौ हजार ७०९ सदस्य आबद्ध छन् जसमा महिला छ हजार ६९९, पुरुष एक हजार ६४९, बाल बचतकर्ता एक हजार ३६१ छन् ।

कुल २९८ वटा लघुवित्त केन्द्र छन् । लघुवित्तमा आबद्ध महिला सदस्यलाई व्यवसाय गर्न बिनाधितो दुई लाख, धितो राखेर ५० लाख सम्म सहुलियत ऋण प्रवाह भइरहेको व्यवस्थापक दिपेन्द्रप्रसाद पौडेल बताउछन्।

“सहुलियत ऋण पाएपछि संस्थामा नयाँ सदस्यको आकर्षण बढ्दो छ, सेवालाई छिटो र प्रभावकारी रुपमा अगाडि बढाएका छौँ,” उनले भने – “संस्थाबाट ऋण लिएका सदस्य व्यवसायबाट आर्थिक क्षेत्रमा अब्बल बन्दै गएका छन् ।”

संस्थाले तीन वर्ष अघि आफ्नै हलसहितको तीन तले २४ कोठे भवन निर्माण गरी सेवा दिँदैआएको छ । सहकारीले रामपुर नगरपालिकासहित पूर्वखोला गाउँपालिका, निस्दी गाउँपालिका र रम्भा गाउँपालिकालाई कार्यक्षेत्र बनाएर सेवा दिइरहेको छ । केन्द्रीय कार्यालय रामपुर नगरपालिका–७  डुम्रीगाउँ छ भने रामपुर, तनहुँ, जब्गादी र रामटार एक÷एक वटा शाखा छन् । सहकारीले ३६५ दिन नै कार्यालय सञ्चालन गरी सेवा दिँदै आएको छ ।

सञ्चालक समितिले बनाएको मापदण्डलाई कर्मचारीले अनुसरण गरी ३६५ दिन नै कर्मचारी खटिएका छन् । सार्वजनिक विदाका दिन तीनजना कर्मचारी र दुईजना कार्यालय सहयोगीबाट सेवा प्रवाह भइरहेको संस्थाका पूर्व सचिव तथा हाल लेखा समितिका संयोजक विष्णुप्रसाद लम्सालले जानकारी दिए।

संस्थामा आबद्ध ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई ध्यानमा राखेर सहकारीले २०७४ सालदेखि  भत्ता स्वरुप मासिक रु ५०० प्रदान गर्दैआएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया