बैंककाे नयाँ नियमले जग्गा काराेबार प्रभावित हुने

४ बर्ष अगाडि

बैंकहरुमा गो–एएमएल प्रणाली लागू भएपछि जग्गाको काराेबार प्रभावित हुने देखिएकाे छ । 

नयाँ नियम अनुसार चेक जम्मा गर्दा अनिवार्यरुपमा विवरण खुलाउनुपर्ने भएपछि जग्गा काराेबार प्रभावित हुने भएकाे हाे । 

अहिलेसम्म जग्गा किनबेच महंगाे मूल्यमा भएपनि  सरकारी मूल्यांकन अनुसारकाे काराेबार देखाएर राजश्व थाेरै तिर्ने गर्दथे । तर अब बैंकमा रकम जम्मा गर्दा तीनपुस्ते सहित आम्दानीको विवरण खुलाउनुपर्ने हुन्छ ।

जग्गा किनबेचकाे वास्तविक विवरण बैंकमा खुलाउनुपर्ने भएकाे कारण  जग्गा बिक्रेताले सरकारी मूल्यांकन अनुसार जति मूल्यमा जग्गा बेचेकाे हाे साे काे विवरण तथा लिखत देखाएर मात्र बैंकमा रकम जम्मा गर्ने छ ।

जसकाे कारण अब सरकारी मूल्यांकन भन्दा चर्काे मूल्यमा काराेबार गर्ने काम अन्त्य हुने भएकाे छ । किनबेच भएको वास्तविक मूल्य देखाउनुपर्ने भएपछि जग्गाको भाउ समेत घट्ने जानकारहरू बताउँछन् । 

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले १ माघ देखि ‘गो–एएमएल’ मा गएका छन् । जुन प्रणाली अनुसार जग्गा बेच्नेहरूले बैंकमा रकम जम्मा गर्दा वास्तविक मूल्य खुल्ने प्रमाण (लिखत) बैंकमा देखाउनुपर्ने हुन्छ । 

अर्थमन्त्रालय र नेपाल राष्ट्रबैंकले यसरी नयाँ नियम ल्याएपछि खेतीयोग्य जमिन जथाभावी घडेरीको रुपमा बेच्ने र चर्को मूल्यमा जग्गाको कारोबार गर्ने क्रम रोकिने भएको बताइएको छ । 

उता खेतियोग्य जग्गाको जथाभावी कित्ताकाट रोकेको भूमि व्यवस्था मन्त्रालयले पनि बैंकमा रकम जम्मा गर्दा जग्गा बिक्रीको लिखत अनिवार्य गर्ने जनाएको छ । 

भ्रष्टाचार, हुण्डी तथा अन्य गैर कानूनी कारोबारबाट कालोधन जम्मा गरेकाहरुले जग्गामा लगानी गर्ने र बढी मूल्यमा किनेको वा बेचेको देखाएर कालोधन शुद्धिकरण गर्ने बाटो समेत बन्द हुने भएको छ । 

यसका लागि सरकारी निकायहरु अर्थ मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, नेपाल राष्ट्रबैंक, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग तथा बैंकहरुको तालमेल भैरहेको बताइएको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया