‘पेपरलेस’ बन्दै आयल निगम, चुहावट नियन्त्रण र कर्मचारीको अनावस्यक ओभरटाईम कटौती हुने

४ बर्ष अगाडि

नेपाल आयल निगम स्वचालित प्रणालीमा जाने तयारी गरेको छ । निगमले कम्प्युटर प्रविधिको माध्यमबाट सम्पूर्ण कार्य सञ्चालन गरी स्वचालित प्रणालीमा जाने तयारी गरेको हो । 

निगमको सबै तथ्यांक एकीकृत सफ्टवेयरमा राख्ने, सफ्टवेयरबाटै दैनिक कार्य सञ्चालन गर्ने, सबै मेसिनरी उपकरण कम्प्युटरकृत प्रविधिबाट सञ्चालन गर्ने, ढुवानी साधनहरुमा ‘भेइकल ट्रयाकिङ्ग प्रणाली’ लागू गर्ने गरी ‘इण्टरप्राइज रीसोर्स प्लानिङ्ग’ (इआरपी) अनुसार सञ्चालन गर्ने तयारी भएको निगमले जनाएको छ । 

यसका लागि छुट्टै सफ्टवेयरको माध्यमबाट सबै कामहरु सञ्चालन गरिने छ । सो योजना अनुसार काम भएमा सबै काम पारदर्शी हुने, पूर्ण स्वचालित प्रणालीका कारण कार्यदक्षता बढ्ने र वित्त व्यवस्थापन प्रभावकारी बन्ने हुन्छ । 

सो अनुसार सफ्टवेयर र हार्डवेयरको जडान गरी इन्धन भर्ने, खन्याउने, नापजाँच गर्ने, गाडी सञ्चालन गर्ने काम कम्युटरकृत प्रणालीबाट हुने छ ।  

निगमको आय व्यय लगायत इन्धनको खरिदबिक्रीको विवरण समेत पारदर्शी हुन्छ । इन्धन भर्ने तथा बिक्रीमा बेला बेलामा हुने गरेको चोरी पूर्ण रुपमा नियन्त्रण हुने निगम स्रोतको दावी छ । 

निगममा जनशक्तिको लागि हुने गरेको अनावस्यक खर्च कटौती हुनुका साथै सबै कुरा पादर्शी हुने हुँदा निगमको सुधारका साथै आम्दानी समेत बढ्ने भएकोले सो प्रणाली लागु गर्न निगमले आन्तरिक तयारी तिब्र पारेको छ। 

भारतीय आयल निगम (आईओसी) ले दक्षिण एसियामै नमुना प्रणाली लागू गरेर कार्य सञ्चालन गरिरहेको छ। सोही अनुसार नेपालमा पनि इआरपी कार्यान्वयन गर्ने हो भने अनावस्यक जनशक्ति र अन्य कार्यमा हुने खर्च कटौती हुनुका साथै चुहावट नियन्त्रण हुने सम्भावना रहन्छ । 

कार्यकारी निर्देशकको रुपमा सुरेन्द्र पौडेल नेपाल आयल निगममा आएपछि उनले निगम सुधारको लागि विभिन्न योजनाहरु ल्याउने क्रममा इआरपी लागु गर्ने गरी छलफल चलाएका हुन् । निगमले कुन कुन कुरालाई स्वचालित प्रणालीमा लैजाने भन्ने विषयमा गृहकार्य गर्न ईन्जिनियर मनोज ठाकुरको संयोजकत्वमा समिति समेत गठन गरेको छ । 

समतिले यसका लागि आन्तरिक तयारी तिब्र पारेको जनाएको छ । समितिले गृहकार्य टुंग्याउने वित्तिकै के कसरी जाने भन्ने विषयमा सञ्चालक समितिमा निर्णय गरेर प्रकृयामा जाने तयारी निगमको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया