विचारमा स्पष्टता नभए लक्ष्य प्राप्ति हुँदैन : अध्यक्ष दाहाल

४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्ट वैचारिक राजनीतिक कार्यदिशाका आधारमा मात्र पार्टी अघि बढ्ने प्रष्ट पारेका छन ।    

पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा आज गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्वारा सम्पादित ‘जनताको जनवादका आधारहरु’ नामक पुस्तकको लोकार्पण गर्दै उनले विचार र कार्यदिशमा स्पष्टता आउन नसक्दा अन्योल र अराजकता मौलाएर पार्टी ठिक ढङ्गबाट अघि बढ्न नसक्ने बताए ।

“विचारमा सहिपना र स्पष्टताले पार्टीलाई विकसित गर्दै लैजान्छ”, उनले भने, “विचारमा स्पष्टता भएन भने पार्टीले आफ्नो उद्देश्य र लक्ष्य प्राप्ति गर्न सक्दैन ।” 

समाजवाद स्थापनाका लागि नेपालमा मौलिक ढङ्गको क्रान्ति गरिएको उनको भनाइ थियो । “हामीले नेपालमा जे उपलब्धि हासिल ग¥र्यौं, त्यो दुनियाको कुनै किताबमा पाइँदैन”, अध्यक्ष दाहालले भने, “विश्वभरको क्रान्तिको अध्ययन गरेर नेपालमा मौलिक विचार निर्माण गरिएको छ, समाजवादको आधार तयार पार्ने ‘हतियार’का रुपमा जनताको जनवादलाई लिइएको हो ।”

पुस्तकले नेकपाको वैचारिक धरालत र अब कुन दिशातर्फ जाँदैछ भनेर आम जनमानसलाई बुझ्न सहज हुने उनको भनाइ थियो । “राजनीतिक आन्दोलनपछिको सङ्क्रमणालीन परिस्थितिमा नेपाली राजनीतिको आजको अवस्था र अबको लक्ष्य बुझ्न पुस्तकले महत्वपूर्ण सन्देश दिएको छ”, अध्यक्ष दाहालले भने ।

नेपालमा कम्युनिष्ट आन्दोलनको उठान, सङ्घर्ष तथा वैचारिक विषयवस्तु समेटिएको यस पुस्तकले नेकपाको आधारिक दस्तावेज तयार गर्न सहयोग पु¥याउने उनको विश्वास थियो । 

अध्यक्ष दाहालले नेकपाको इतिहास, कार्यदिशा विकासका शृङ्खला र सन्दर्भ एवं पार्टी एकताको निर्णयसम्मका वैचारिक आधारबारे पार्टी पङ्क्तिमा थप प्रष्टता ल्याउन मद्दत मिल्ने बताए । 

कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै नेकपाका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले कम्युनिष्ट विचार विकासको शृङ्खलालाई पुस्तकमा समेटिएकाले सबैका लागि अत्यन्त उपयोगी रहेको बताए । 

जनतालाई सार्वभौम बनाउने राजनीतिक प्रणाली नै ‘जनवाद’ भएको उल्लेख गर्दै उहाँले पुस्तकमा समाजवादको तयारीको चरण ‘जनवाद’ हो भन्ने विषयलाई व्यापक विश्लेषण गरिएको बताए । 

पुस्तकका सम्पादक उपाध्यायले नेकपाको ७० वर्षे इतिहासलाई पुस्तकमा समेटिएको बताए । 

अर्का सम्पादक तिमिल्सिनाले नेकपाको ऐतिहासिक दस्तावेजलाई सङ्कलन गरेर नेता कार्यकर्तालाई पार्टी कार्यदिशाका बारेमा जानकारी होस् भने पुस्तक तयार गरिएको बताए । 

४ बर्ष अगाडि

प्रतिक्रिया