कृषकलाई गाईका बाच्छाबाच्छी हुर्काउनै समस्या

४ बर्ष अगाडि

रामपुर नगरपालिका–६ कौवा बस्ने विष्णुदेवी गैरेले गाईपालन व्यवसायबाट राम्रै कमाई लिए । आजभन्दा सात वर्षअघि दुईवटा गाईबाट व्यवसाय शुरु गर्नुभएकी गैरेले दूध उत्पादन राम्रो भएपछि व्यवसाय बढाए । तराई क्षेत्रबाट जर्सी र होलस्टिन जातको गाई खरिद गरी उहाँले व्यवसायमा तल्लीन भएर लाग् । 

“विगतमा आम्दानी राम्रै हुन्थ्यो । अहिले भने व्यवसायमा लगानी गरे अनुसारको आम्दानी नहँुदा निराश लागेको छ”, उनले भने, “दुहुना गाईको तुलनामा बाच्छाबाच्छीको सङ्ख्या बढी छन् । अनुत्पादक बाच्छाबाच्छीलाई दानापानी घाँसपातमा ठूलो लगानी गर्नुपर्दा व्यवसाय नै धरापमा परेको छ ।” 

“बाच्छाबाच्छी हुर्काउनै समस्या छ, लामो समय हुर्काएको बाच्छीले पनि तराई क्षेत्रमा जन्मेको बाच्छीले जस्तो दूध नदिने, एउटा बाच्छीलाई हुर्काएर दूध उत्पादन लिने अवस्था बनाउन करिब तीन वर्ष समय पर्खनुपर्दा कृषकलाई मार परेको छ”, उनको गुनासो छ । 

उनको फार्ममा १३ गाईमध्ये छवटा माउ गाई, छवटा बाच्छी, एक उत्पादन दिन नसक्ने माउ गाई छन् । घरमा पालिएका तीनवटा दुहुना गाईबाट हाल दैनिक दश लिटरमात्र दूध उत्पादन हुने गर्छ । “शुरु शुरुमा त दूध उत्पादन पनि ५०÷६० लिटर सम्म हुन्थ्यो, कमाई राम्रै थियो, व्यवसायमा पनि जाँगर बढेर आउँथ्यो, अहिले बाच्छी गोठभरि भएपछि उत्पादन नै घटेको छ, व्यवसाय होला कि भनेर गरेको उल्टै ऋण थपिएला जस्तो छ”, उनले भने ।

बाच्छाबाच्छी हुर्काउने समस्याले कतिपय कृषकले बिस्तारै गाईपालन व्यवसाय छाड्दै गएको पाइएको छ । दानाको मूल्य बढ्दै जानु, बाच्छी हुर्काएर उत्पादन लिन लामो समय पर्खनुपर्ने अवस्थाले शुरुमा गाईपालन व्यवसायमा हौसिएका कृषकहरु अहिले निराश बनेका छन् । रामपुर नगरपालिका–८ का गणेश आचार्यले रामपुरमै ठूलो गाईपालन व्यवसाय चलाए । उनले पनि बाच्छाबाच्छीको सङ्ख्या बढ्दै जान थालेपछि व्यवसायलाई घटाउँदै लग्े । 

२८ वटासम्म गाई पाल्नुभएका आचार्यले बिस्तारै बाच्छाबाच्छी बढ्न थालेपछि गाईको सङ्ख्या घटाएर दुईदेखि तीनवटासम्म मात्र गाई पाल्न थालेको बताउँदै उनले भने, “गाईलाई अन्यत्र लगेर छाड्न पनि भएन, घरमा पाल्न नसक्ने अवस्था आयो, बाच्छाबाच्छी हुर्काउन थाल्दा कृषकलाई आम्दानीभन्दा पनि ऋणमाथिको ऋणको भार थपिएला जस्तो हुन थाल्यो ।” 

बाच्छी हुर्काएर छिटो आम्दानी लिन नसकिने र दानापानी, घाँसपातमा ठूलो रकम खर्चनुपर्दा लगानीअनुसार आम्दानी लिन नसकिएको रामपुर नगरपालिका–४ का विनोद श्रेष्ठले बताए । “बाच्छी हुर्काएर उत्पादन लिन तीन वर्ष जतिको समय पर्खनुपर्ने, तराईमा जन्मेका बाच्छीको तुलनामा यहाँ जन्मेका बाच्छीले राम्रो दूध उत्पादन पनि नदिने, बाच्छाबाट झन् उत्पादन नै लिन नसकिने हँुदा कृषकलाई समस्या परिरहेको छ”, उनले भने ।

पशु सेवा शाखा कार्यालय रामपुरका प्रमुख तुल्सीराम काफ्लेले भने, “घाँसमा पशुलाई चाहिने पर्याप्त पोषण भए पनि कृषकले पोषिलो घाँस उत्पादनमा जोड नदिनु, प्राविधिकसँग सल्लाह नलिँदा बाच्छाबाच्छी हुर्काउन समस्या परेको छ, पोषिलो घाँस नियमित खुवाएमा दूध उत्पादन बढ्ने र छिटो बाच्छी ब्याउने गर्दछ ।” 

रामपुर नगरपालिका क्षेत्रमा एक दर्जनको हाराहारीमा व्यावसायिक तरिकाले गाईपालनमा कृषक आबद्ध छन् । तराई क्षेत्रबाट होलस्टिन र जर्सी जातका गाई खरिद गरी कृषकले व्यवसाय चलाइरहेका छन् । व्यवसाय शुरुका वर्षमा कृषकले सोचेभन्दा पनि बढी आम्दानी लिन थालेपछि बिस्तारै गाईको सङ्ख्या बढाउँदै गए । पछि विस्तारै बाच्छाबाच्छीको सङ्ख्या थपिँदै जाँदा व्यवसाय निल्नु न ओकल्नु जस्तै बनेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया