सरकारी खर्चमा विदेशमा अध्ययन गरेर फर्केपछि कृषि अनुसन्धानका लागि खट्नुपर्ने कृषि वैज्ञानिक सरुवा भएको कार्यालयमा जान अटेरी गरेपछि नक्कली कागजात तयार पारेर तलव खुवाएको फेला परेको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का एस वन तहका वैज्ञानिक आनन्द मिश्र हाजिर हुन जान नमानेपछि कार्यालय प्रमुखले नक्कली कागजात तयार पारेर तलव खुवाउने गरेको फेला परेको हो ।
मिश्र कृषि इन्जिनियरिङ्ग शाखा खुमलटारबाट २०७३ माघमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, परवानीपुर बारामा दरबन्दीसहित सरुवा भएका थिए ।
सरुवाको समयमा अध्ययन विदामा जापान रहेका उनी जापानबाट आएको पनि एकवर्ष भन्दा धेरै भयो । नार्कको कर्मचारी प्रशासन विनियम २०४९ अनुसार अध्ययन विदाबाट फर्केको २१ दिनभित्र सरुवा भएको कार्यालयमा हाजिर हुनुपर्छ ।
तर उनी फर्केको १ वर्षसम्म पनि दरबन्दी नै नभएको ठाउँमा बसेका छन् । चालु आर्थिक वर्षको आन्तरिक लेखा परिक्षणको क्रममा दरबन्दी नै नभएको व्यक्तिलाई तलव खुवाएको फेला परेपछि नार्कमा कसले तलव खायो भन्ने विषयमा खैलाबैल भएको थियो ।
सोधखोजको क्रममा दरबन्दी सहितको वैज्ञानिक दरबन्दी नै नभएको कार्यालयमा बसेको फेला परेपछि कृषि इन्जिनियरिङ्ग महाशाखा प्रमुख श्रीमत श्रेष्ठले उनलाई काजमा ल्याएको भन्ने भ्रम फैलाएर कुरा मिलाएका छन् ।
प्रमुख श्रेष्ठले उनी पीएचडी गर्न गएको र फर्केपछि काजमा रिसर्च प्रोजेक्टमा काम गरिहेको बताए । ‘सरुवा भएको थाहा भएन, उहाँ जापानबाट फर्केपछि काजमा यहाँ रिसर्च प्रोजेक्टमा काम गरिरहनुभएको छ’ उनले भने, ‘उहाँ सरुवा भएको भए पठाउनुपर्ने भए केन्द्रिय कार्यालयले गर्नुपर्ने हो, मलाई थाहा भएन ।’
तर नार्क केन्द्रीय कार्यालयका प्रशासन महाशाखा प्रमुख बाबुराम पौडेलले भने सरुवा भएको व्यक्ति कार्यालयमा हाजिर हुन जानुपर्ने बताउँछन् ।
‘उहाँ अध्ययन विदामा भएको बेला दरबन्दी परवानीपुरमा परेको हो, अहिले उहाँ आइसक्नुभएपछि दरबन्दी भएको कार्यालयमा हाजिर हुन जानुपर्छ’, उनले भने ‘काजमा आउनु भएको हो कि के हो मैले पनि बुझ्नु पर्छ र कार्यालयमा हाजिर हुन जानुपर्छ ।’
नार्क श्रोतका अनुसार आलेपको क्रममा दरबन्दी नै नभएको व्यक्तिलाई तलव दिएको फेला परेपछि नार्कमा हंगामा भएको छ । त्यसपछि मिश्रले भएभरको पहुँच पु¥याएर काज मिलाएका छन् ।
उता उनको दरबन्दी भएको परवानीपुरमा भने बैज्ञानिकहरुको अभाव छ । १८ जना वैज्ञानिकको दरबन्दी रहेको केन्द्रमा ३ जनामात्रै कार्यरत छन् भने अधिकृतस्तरका २८ जना दरबन्दीमा १२ जना मात्र कार्यरत छन् ।
केन्द्रमा जम्मा ७९ जनाको दरबन्दी रहेकोमा पचास प्रतिशत मात्रै दरबन्दी रहेको परवानीपुरका प्रमुख केशव प्रसाद श्रेष्ठले बताए । ‘वैज्ञानिक र कर्मचारी नभएपछि हामीले भनेजतिको काम गर्न सकेका छैनौँ’ उनले भने, ‘अहिले नयाँ अनुसन्धान भन्दा पनि नियमित कार्यालय सञ्चालन मात्र छ ।’
प्रतिक्रिया