नेपाल टेलिकमले अझ धेरै काम गर्न बाँकी छ

नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) ले स्थापनाको सोह्रौँ वार्षिकोत्सव आज मनाइरहेको छ । इतिहासदेखि वर्तमानसम्मको यात्रालाई समुन्नत र सह्रानीय बनाउन नेपाल टेलिकमका सारथीहरू प्रशंसाका पात्र हुनुहुन्छ । आज नेपाल टेलिकम नेपाली रोजाइको दूरसञ्चार सेवा प्रदायक भएको छ ।

नेपाल टेलिकमको इतिहास खोतल्दा संस्था वि.सं. २००५ मा स्थापित मोहन आकाशवाणीमा जोडिनुपर्ने हुन्छ । सोही जगमा उभिएर २०१६ सालमा दूरसञ्चार विभागको स्थापना भयो । सो विभाग २०२६ सालमा दूरसञ्चार विकास बोर्डमा परिणत भयो । सञ्चार संस्थान ऐन, २०२८ जारी भएपछि २०३२ सालमा सरकारी पूर्ण स्वामित्वमा नेपाल दूरसञ्चार संस्थानको गठन भयो । यो हैसियतमा करिब तीस वर्ष सेवा गरेपछि २०६१ माघ २२ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको रूपमा दर्ता भयो । हाल यो कम्पनी नेपाल टेलिकमको चिनारीका साथ राष्ट्रको सेवामा समर्पित छ ।

नेपाल दूरसञ्चार संस्थानलाई हालको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको कानुनी हैसियत बनाउन पे्ररक तत्वको रूपमा दूरसञ्चार नीति, २०६० ले काम ग¥यो । वि.सं. २०५० को प्रारम्भदेखि मुलुकले आर्थिक उदारीकरणको नीति अवलम्बन गरेको थियो । सो बमोजिम मुलकको सामाजिक–आर्थिक विकासमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने विषयमा सरकारले नयाँ नीति ल्याउने काम गरेको थियो । सोहीक्रममा दूरसञ्चार नीति, २०५६ कार्यान्वयनमा आयो । यस नीतिले दूरसञ्चार क्षेत्रलाई पूर्ण प्रतिस्पर्धात्मक बनाउने वातावरण सहज बनायो । तर निजी क्षेत्रसमेतको सहभागिता सुनिश्चित गरी मुलुकभर सर्वसुलभ, सरल र भरपर्दो दूरसञ्चार सेवा प्रदान गर्न नीतिका प्रावधान पर्याप्त थिएनन् ।

विश्वव्यापी रूपमा दूरसञ्चार सेवामा सबैको पहुँच अर्थात् ‘युनिभर्सल एक्सेस’को लक्ष्यसहित तमाम प्रयास भइरहेका थिए । अल्पविकसित तथा विकासशील देशलाई अन्तर्राष्ट्रिय दातृ निकायले सघाइरहेका थिए । नेपाललाई सघाउन विश्व बैङ्क तयार भयो । विश्व बैङ्कको सहयोगमा दूरसञ्चार क्षेत्र सुधार आयोजना कार्यान्वयनमा आयो । आयोजनाको प्रमुख काम नीतिगत सुधार थियो । नीतिको मस्यौदा तयार पार्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट फिनल्यान्डका आर्नो वर्जेनियस विज्ञका रूपमा छनोट भएका थिए । पङ्क्तिकार आयोजना समन्वयकर्ताको जिम्मेवारीमा थियो । निज विज्ञले पहिलो भेटमा कस्तो नीति बनाउने भनेर सोधेको अहिलेजस्तै लाग्छ ।

दूरसञ्चार नीति, २०६० लाई तत्कालीन श्री ५ को सरकारले पारित गर्दाको अवस्थामा नेपाल दूरसञ्चार संस्थानबाहेक काठमाडौँ उपत्यकामा युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) नामक दूरसञ्चार सेवा प्रदायकले सेवा दिइरहेको थियो । पूर्वी नेपालको ग्रामीण क्षेत्रका लागि एसटीएम नामक कम्पनीले सेवा दिनेगरेको थियो । तर कम्पनीले प्रदान गरेको सेवाले ग्राहकको मन जित्न सकेको थिएन । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक पनि बाक्लिँदै थिए । काठमाडौँ उपत्यका बाहिर सेवा विस्तार फस्टाउन सकेको थिएन । नेपाल दूरसञ्चार संस्थानको सेवा सर्वसुलभ भइरहेको थिएन । वास्तवमा दूरसञ्चार व्यक्तिलाई बजारसँग जोडेर सूचना, लगानी, उत्पादन, रोजगारी र आयआर्जनका हरेक अवसरको लाभ उठाउन सघाउने प्रमुख साधन हो । तर उतिबेलाको अवस्थामा बिना सोर्स ल्यान्डलाइन पाउनै कठिन थियो ।

दूरसञ्चार नीति, २०६० ले दूरसञ्चार सेवामा सबैको पहुँच, सेवा प्रदान गर्ने दायित्व, व्यावसायिक सेवाको विकास, दूरसञ्चार क्षेत्रको उदारीकरण, खुला अनुमतिपत्र प्रणाली निजी क्षेत्रको सहभागिता, सूचना समाजमा प्रवेश, ग्रामीण क्षेत्रका प्रयोगकर्ताका लागि उपयुक्त सूचना तथा सञ्चार प्रविधिको छनोट, विकास कार्यमा लागेकालाई सूचना तथा सञ्चार प्रविधिको भरपुर प्रयोग गर्नमा जोड, नेपाल दूरसञ्चार संस्थानको व्यावसायीकरण, नीति कार्यान्वयनका लागि संस्थागत विकास र दूरसञ्चार क्षेत्रको आर्थिक सक्षमता अभिवृद्धिजस्ता रणनीतिलाई अङ्ग बनाइएको थियो ।

रणनीति कार्यान्वयनको सिलसिलामा देखिने कामको रूपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको स्थापनालाई लिन सकिन्छ । हुन त यो काम साविकको नेपाल दूरसञ्चार संस्थानलाई नेपाल दूरसञ्चार कम्पनीमा रूपान्तरण गरेको रूपमा बुझ्न सकिन्छ । तथापि आन्तरिक रूपमा धेरै तयारी पूरा गरेर कम्पनीको स्वरूपमा कानुनी प्रक्रिया पूरा गरिएकाले नयाँ इतिहास आरम्भको रूपमा कम्पनीको स्थापनालाई हेरिएको छ । नेपाल टेलिकम स्वयम्ले पनि सो वर्षमा कम्पनीको वार्षिकोत्सवलाई सोही बमोजिम गणना गर्दै अहिले कम्पनी सोह्रौँ वार्षिकोत्सवमा प्रवेश गरेको छ ।

दूरसञ्चार विकास हरेक आयामका लागि अपरिहार्य पूर्वाधार हो । यसको आबद्धताले व्यक्ति र बस्ती दुवैलाई उत्पादनशील बन्न सघाउँछ । स्थिर र मोबाइल हुँदै इन्टरनेटसहितको नयाँ पुस्ताको दूरसञ्चार प्रविधिले विश्वलाई साँघुरो बनाउँदै लगेको छ । सूचनामा आधारित समाजको निर्माणद्वारा मानव सभ्यतालाई नयाँ उचाइमा पु¥याएको छ । लागत घटाउने, समय बचाउने र गुणात्मक विकासमा प्रत्यक्ष सघाउने चरित्र दूरसञ्चार सेवामा विद्यमान रहेकाले दूरसञ्चार सेवा मानव जीवनको अभिन्न अङ्गको रूपमा झन अपरिहार्य हुँदै जाने निश्चित छ ।

बहुदेशीय बैङ्किङ कारोबार र व्यापारका लागि दूरसञ्चार सेवामा आधारित प्रविधिको सहयोग महìवपूर्ण छ । राज्यको शासन व्यवस्थालाई सुदृढ पार्न तथा सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन एवम् व्यक्तिगत जीवनयापनलाई सहज तुल्याउन दूरसञ्चार सेवाको लाभले समग्र विश्व सम्मोहित छ । नेपाली समाज पनि दूरसञ्चार सेवाको लाभ उठाउन व्यस्त छ । यसरी हेर्दा दूरसञ्चार सेवाको बजार सुरक्षित छ ।

नेपाल टेलिकमको अत्यन्त प्रशंसनीय पक्ष भनेको यसमा आबद्ध जनशक्ति स्वयम्मा क्षमतावान छ । शौभाग्यले यस कम्पनीको नेतृत्व अविच्छिन्न रूपमा कम्पनीभित्रैका क्याडरबाट हुँदै आएको छ । प्राविधिक क्षमताका हिसाबले अहिले मुलुकका सबै भूभागमा नेपाल टेलिकमको सिग्नल उपलब्ध छ । साथसाथै अन्य कम्पनीले पनि दूरसञ्चार सेवा प्रदान गरिरहेकाले नेपाल टेलिकमलाई गुणस्तरीय सेवा प्रदान गर्नबाट विश्राम लिने अवस्था छैन ।

नेपाल टेलिकमको चर्चा गरिरहँदा कम्पनीको जगहाल्ने काम कसरी गरिएको थियो भन्नेतर्फ सङ्क्षेपमा उल्लेख गर्र्नु सान्दर्भिक हुन्छ । कार्यसम्पादनको कसीमा हार्डवर्क, टिमवर्क र नेटवर्कको महìव रहन्छ । नेपाल टेलिकमलाई वर्तमान कानुनी स्वरूपमा लाँदाको समयमा सूचना तथा सञ्चार मन्त्रालयमा कार्यरत सचिव मुकुन्द शर्मा पौडेल, सहसचिवद्वय सुशील घिमिरे र मुकुन्दप्रसाद आचार्य तथा चिफ इन्जिनियर महेशप्रसाद अधिकारीको साथमा काम गर्ने अवसर मिलेको थियो । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष सुरेशकुमार पुडासैनीको विषय विज्ञता र टिममा रहेर सहजीकरण गर्ने सीपले त्यसबखत काम गर्न सजिलो भएको थियो । नेपाल दूरसञ्चार संस्थानलाई विघटन गरेर नेपाल दूरसञ्चार कम्पनी स्थापना गर्नु चुनौतीपूर्ण काम थियो ।

आज नेपाल टेलिकम प्राविधिक, वित्तीय र मानवीय क्षमताले ओजपूर्ण छ । राष्ट्रको सञ्चारको रूपमा प्रस्तुत हुँदै पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेर राष्ट्र सेवामा समर्पित छ । सेवा सुलभ बनाउँदै व्यक्तिमा जोडिएको छ । उसबेला दूरसञ्चार नीति, २०६० तर्जुमा गर्दाको दृष्टि (भिजन) ले अहिले सार्थकता पाएको छ । उद्देश्य फलिफाप छ । सेवा प्रवाहको दृश्य बदलिएको छ । टेलिकमको सेवा सुन्दर बनेको छ ।

दूरसञ्चार सेवाको बृहत्तर आबद्धताले हर क्षेत्रमा व्यापक उत्पादकत्व बढाउने निश्चित छ । सञ्चार प्रविधिले मानव सभ्यताको स्वरूप बदल्दै लगेको छ । सूचना समाजको निर्माणले ज्ञानमा पहुँच भएको छ । शिक्षा, स्वास्थ्य लगायतका तमाम सुविधा वा अवसर घरमै उपभोग गर्न पाइएको छ । तथापि सेवा वितरणका दृष्टिले जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउन अझ धेरै काम गर्न बाँकी छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया