जीया म्यानपावरले ठगेका ९ नेपाली साउदीमा अलपत्र, तीन महिनादेखि धाउँदा पनि फिर्ता ल्याएन सरकार

४ बर्ष अगाडि

जीया इण्टरनेशनल सर्भिसेज प्रालिले झुटो सम्झौता गरेर विदेश पठाएका सात जना नेपाली साउदीमा अलपत्र परेका छन् । 

साउदी अरबको हटीन आउटलेट कन्ट्र्याक्टिङ्ग कम्पनीमा काम गर्न गएका सुनसरीका सञ्जय कुमार मण्डल, सागीर मिया र साजक मिया, रुपन्देहीका राजेश कोइरी, सर्लाहीका दिनेश शाह, सिन्धुलीका राज आले, सप्तरीका राम कुमार खाङ र श्री कुमार खाङ तथा धनुषाका एमडी अजमल रैन अलपत्र परेका हुन् । 

खाना समेत नदिएर दैनिक १६ घण्टा काममा लगाएको कम्पनीले काम शुरु गरेको अर्को महिनादेखि नै तलव दिन छाडेपछि उनीहरु अलपत्र परेका हुन् । 

तलव समेत नदिएको र खान नपाएका कारण विरामी परेका उनीहरुले काम छाडेका थिए । त्यसमध्ये केही लुकेर अबैधानिक रुपमा अन्य कम्पनीमा काम गर्न थालेका छन् भने केही आफै त्यहाँको पुलिसकहाँ पुगेर पक्राउ परेका छन् । 

उनीहरुलाई शुरुमा कम्पनीले ८ घण्टा कामको १२ सय रियल तलव, खाने बस्ने व्यवस्था र  २ घण्टा ओभरटाइम सुविधा समेत दिने भनेको सञ्जय कुमार मण्डलका बुबा शम्भु मण्डलले बताए । तर शुरुमै प्रति कामदार १ देखि डेढलाख सम्म असुलेको जियाले जम्मा १ हजार रियल तलव हुने भनेको थियो । सोही अनुसार सम्झौता भएको छ । 

गत सेप्टेम्बर २९ मा साउदी गएका उनीहरुलाई कम्पनीले जुस र फ्रुटी मात्रै खान दिएर १६ घण्टासम्म कुल्ली काममा लगाएको थियो ।  शुरुको १ महिना तलव दिएपनि त्यसपछि तलब समेत नदिएर बिरामी परेको उनीहरुको गुनासो छ ।

खानेखर्च समेत नभएको कारण आफूले छोरालाई नेपालबाटै खर्च पठाएर बाँचेको मण्डलको भनाई छ । छोरा ठगीएको थाहा पाएपछि उनले मंसिर ८ गते जिल्ला प्रशासन कार्यालयमार्फत बैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए ।

त्यसपछि छोरा फिर्ता बोलाउन माग गर्दै सयौँ पटक विभाग र म्यानपावर कम्पनी धाएपनि फिर्ता नभएपछि पुस १८ गते श्रम मन्त्रालयमा उजुरी गरेका थिए । ‘कमाउन गएको छोरालाई पाल्न खर्च पठाएँ, फिर्ता बोलाउन म्यानपावरलाई ७० हजार टिकट खर्च दिएँ र काठमाडौंका होटलमा बसेर हरेक दिन विभाग र मन्त्रालय धाएको छु’, उनी भन्छन्, ‘मेरो लाखौँ खर्च भइसक्यो तर पनि छोरा झिकाउन कसैले सक्दैनन् ।’ 

उनी दुइ महिनादेखि होटलमा कोठाको मात्रै दैनिक साढे ३ सय खर्च तिरेर छोरा फिर्ता बोलाउन भन्दै काठमाडौं बसेका छन् । दिनहुँ विभाग र मन्त्रालयमा धाउँछन् तर छोरा फिर्ता लिने प्रकृया शुरु हुँदैन । ‘सबैले तपाइँको काम हुन्छ भन्छन् तर तीन महिना हुन लाग्यो खै त छोरो फिर्ता आएको ?’, उनले प्रश्न गरे । 

मण्डलले गरेको उजुरीका आधारमा विभागले उद्धारका लागि रियाद स्थित नेपाली दुतावासलाई माघ १ गते निर्देशन दिएको थियो । निर्देशनको एक महिनासम्म पनि दुतावासले कुनै जानकारी नपठाएको विभागले जनाएको छ । ‘कम्पनीले सेवा सुविधा र तलव नदिएको उजुरी परेकोले निजलाई उद्धार गरि नेपाल फिर्ता पठाउनु भनेर लेखि पठाएका छौँ’, विभागको अनुगमन तथा अभिमुखिकरण शाखाका निर्देशक हरिप्रसाद ज्ञवालीले भने ‘दुतावासबाट जवाफ आइसकेकोले हामीले यकिन गर्न नसकेको हो ।’ 

जिया म्यानपावर अहिले कारबाहीमा परेको कारण कारोबार रोक्का छ । तर पनि उसले आफूले पासपोर्ट जम्मा गर्ने र अमार्फत कामदार विदेश पठाउने गरेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया