रामपुरको आलुखेतीले पर्यटकको मन तान्र्दै

४ बर्ष अगाडि

रामपुर नगरपालिकालाई आलुबाट आत्मनिर्भर बनाउन समूहमार्फत लगाइएको आलुखेतीले पर्यटक लोभ्याएको छ ।

एक वडा एक उत्पादन कार्यक्रममार्फत वडा नं  ६ लाई आलु पकेट क्षेत्रका रुपमा छुट्टाएर आलुखेतीमा जोड दिइएको छ ।

यहाँ समूहमार्फत लगाइएको आलुखेती अहिले आन्तरिक पर्यटकको रोजाई बनेको छ । अहिले रामपुर आउने आन्तरिक पर्यटक आलुखेती अवलोकन गरेर मात्र फर्कने गरेका छन् । यहाँको आलुखेतीले चर्चा पाउन थालेपछि स्याङ्जा, तनहुँ, नवलपुरलगायतका विभिन्न स्थानबाट आलु हेर्न आउने आन्तरिक पर्यटकको चहलपहल रहेको नदी किनारा आयआर्जन कृषक समूहका सचिव सीता देवकोटा बताउछन ।

“दिनहुँ विभिन्न सङ्घसंस्था, समूह, व्यक्ति आलु अवलोकन गर्न आइरहनुभएको छ, आलु खेतमा पर्यटकको चहलपहल छ, समूहका एक÷दुई जना सदस्यहरु खेतमै बसेर पर्यटकलाई आलुखेतीबारे जानकारी गराइरहेका छौँ” उनले भने ।

नदी किनारा आयआर्जन महिला कृषक समूहले यसवर्ष नौ रोपनीमा पाँच क्विण्टल आलु लगाएको छ । गतवर्ष सात रोपनीमा लगाएको आलुले राम्रो उत्पादन भएपछि यो वर्ष व्यवसाय बढाएको अध्यक्ष भगवती देवकोटा बताउछन ।

वडा कार्यालयको बीउ अनुदान र विजयपुर कृषि सहकारीको समन्वयमा यहाँका कृषकले आलु लगाएका हुन् । आलु लगाउने प्रविधिसम्बन्धी खेतमै प्राविधिक सुविधा पाएपछि आलु फस्टाउँदै गएको छ । कृषकलाई खेतबारीमै पुगेर आलु लगाउने, गोडमेल, मलबीउको प्रयोग सिँचाइ गर्ने तरिकाबारे जानकारी दिने गरेको कृषि शाखा कार्यालय रामपुरका प्रमुख रामहरि पाण्डेयले बताए ।

वडा कार्यालयले यसवर्ष आलु महोत्सव गर्न आलुखेतीलाई प्रवद्र्धन गर्दै कृषकको मागको आधारमा १५० रोपनी क्षेत्रफलमा करिब ६० क्वीण्टल आलुको बीउ अनुदानमा वितरण गरेको वडाध्यक्ष न्यौपानेले बताए । कृषकले उत्पादन गरेका आलुले बजार नपाएमा शीत भण्डारमा राख्ने व्यवस्था वडा कार्यालयले नै गर्ने अध्यक्ष न्यौपानेको भनाइ छ । 

रामपुरमा समूहमा लगाइएको आलुले पर्यटक तानिरहेको र कृषकको आलुखेतीमा उत्साह बढ्दै गएको विजयपुर कृषि सहकारी संस्थाका अध्यक्ष सूर्यप्रसाद रेग्मी बताउछन । यसवर्ष वडा कार्यालयको सहयोगमा १० समूह र ६८ जना कृषकले आलुखेती गरेका छन् । उन्नत जातको बीउ, प्राविधिक सेवा राम्रो पाएपछि सोचेभन्दा आलु राम्रो हुँदै गएको कँडेलबारी कृषक समूहका अध्यक्ष सीता भण्डारीले बताए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया