मितेरी जोडेर हाेमस्टेमा घुम्न पाइने अभियान

४ बर्ष अगाडि

नेपाली समाजमा मित लगाउने प्रचलन हराउँदै गएको अवस्थामा मितेरी लगाएका सामुदायिक होमस्टेले पर्यटक आदानप्रदान थाल्ने भएका छन् ।     
     
भिटोफ गण्डकी प्रदेशको संयोजनमा यही माघ २३, २४ र २५ गते ‘जाऊँ है घुम्नलाई, मितेरी जोडेर शुरु गरौँ भ्रमण वर्षलाई’ भन्ने नाराका साथ गण्डकी प्रदेशका केही सामुदायिक होमस्टेसँग प्रदेश नं ५ बर्दियाका केही सामुदायिक होमस्टेले मितेरी साइनो गाँसेको थियो ।     
     
उक्त क्रममा मितेरीसाइनो गाँसेका पर्वतको मोदी गाउँपालिका–१ स्थित लप्सीबोट सामुदायिक होमस्टे र बर्दियाको बारबर्दिया नगरपालिका–९ स्थित सतखलुवा सामुदायिक होमस्टेले फागुनको पहिलो सातामा नै पर्यटक आदानप्रदान शुरु गर्ने भएका हुन् ।     
     
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीका अनुसार मितेरीलाई व्यावहारिकतामा परिणत गर्दै बर्दियाको सतखलुवा सामुदायिक होमस्टेको पहलमा त्यस क्षेत्रका १३० महिला स्वास्थ्य स्वयंसेविकाको टोली फागुनको पहिलो साता लप्सीबोट आउन लागेको हो ।     
     
 “ग्रामिण पर्यटनको विकासका लागि पर्यटक आदानप्रदान गर्ने सोचका साथ हामीले होमस्टेबीच मितेरी साइनो गाँसेका हौँ”, उनले भने, “मितेरी साइनो गाँसेसँगै पर्यटक आदानप्रदानको प्रयास पनि शुरु भएको छ।”     
     
 नेपालका हरेक गाउँ पर्यटकीय सम्भावनायुक्त भएको बताउँदै उहाँले घरवास सञ्चालित गाउँबीच एकापसमा पर्यटक आदानप्रदान एवं साझेदारी गर्नसके यसले प्रत्येकलाई फाइदा पुग्ने उनले बताए ।     
     
 मितेरी साइनोले हिमाल, पहाड र तराईलाई जोडेको भिटोफ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तारानाथ पहारीले बताए ।  पर्वतको लप्सीबोट होमस्टेलाई बर्दियाको सतखलुवासँग मितेरी लगाएसँगै पर्यटक आदानप्रदानको शुरुआत हुन लाग्नु समग्र गाउँ पर्यटनका लागि सकारात्मक सन्देश भएको उनले बताए ।      
     
योसँगै हिमाल, पहाड र तराईबीचको सांस्कृतिक विविधतालाई एकापसमा बुझ्नसमेत सहयोग पुग्ने बताउँदै पहारीले वन्यजन्तु एवं जैविक विविधताले सम्पन्न तराईको बर्दिया क्षेत्र र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले संरक्षित लप्सीबोट र आसपासमा भइरहेका संरक्षणका प्रयासबारे जानकारी आदानप्रदान गर्न सकिने उल्लेख गरे ।     
     
घरवास पर्यटनका शुरुआतकर्ता स्व क्याप्टेन रूद्रमान गुरुङले गण्डकी प्रदेशस्थित स्याङजाको शिरुवारीमा पहिलो पटक शुरु गरेको घरवास कार्यक्रम पछिल्ला वर्षमा देशभर सञ्चालित छ ।     
     
गण्डकी प्रदेशमा मात्रै हालसम्म २७४ होमस्टे दर्ता भइसकेको छ । यहाँका शिरुबारीसहित लम्जुङको घलेगाउँ, गोर्खाको वारपाक, तनहुँको बन्दीपुर, कास्कीको ताङतिङ, पर्वतको चित्रे (पञ्चासे क्षेत्र), भुकदेउरालीजस्ता सयौँ ठाउँमा सञ्चालित घरबास यतिखेर पर्यटकको आकर्षण बनेका छन् । गण्डकी प्रदेशमा सञ्चालित घरबास प्रकृति र संस्कृतिमा मात्र सम्पन्न नभई गाउँगाउँबाट देखिने हिमाल, गुफा, तालतलैया, धार्मिक एवं ऐतिहासिकस्थल आदिका कारण स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बन्दै गएका छन् ।     
     
सरकारले नेपाल भ्रमण वर्षमा २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेका अवस्थामा आन्तरिक गाउँ पर्यटनको समेत विकास गर्ने उद्देश्यका साथ भिटोफ गण्डकी प्रदेशले होमस्टेबीच गाँसेको मितेरी साइनो व्यावहारिकतामा उन्मुख बन्नुलाई महत्वका साथ हेरिएको उनले बताए ।   
 

४ बर्ष अगाडि

प्रतिक्रिया