रामपुरका महिलाहरु ढाका कपडा सिलाएर आत्मनिर्भर बन्दै

४ बर्ष अगाडि

पाल्पाको रामपुरका महिला ढाका कपडा सिलाएर आत्मनिर्भर बन्दै गएका छन् । 

रामपुर बचत तथा ऋण सहकारीले ढाका कपडा सिलाइ तालीम दिएपछि अहिले महिला आत्मनिर्भर हुन थालेका हुन् । 

सहकारीले तालीम दिएपछि बेझाड बजारमा रेखादेवी श्रेष्ठले पसल नै राखेर ढाका कपडा सिलाउने गर्छिन । 

उनले महिला तथा पुरुष, बच्चाका विभिन्न ढाका कपडा सिलाउने गरेको बताइन । बेरोजगार बसेका महिलालाई सहकारीबाट तालीम पाएपछि रोजगार बनाएको उनको भनाइ छ ।

ढाका कपडा सिलाएर उहाँले मासिक रु २० हजार आम्दानी गर्नुहुन्छ । यसैबाट घरखर्च, छोराछोरीको पढाइ खर्च चलेको छ । सहकारीले दुईपटकसम्म गरी २० जना महिलालाई चार महिनाको तालीम उपलब्ध गराएपछि महिला व्यवसायमा अग्रसर भएर लागेका छन् । पहिलादेखि नै सिलाइकटाइको काम गर्दै आउनुभएकी इन्दु परियारले पनि ढाका कपडाको तालीम पाएपछि पेशालाई व्यावसायिक तवरले अगाडि बढाएकी छिन ।

तालीमपश्चात् अहिले व्यावसायिक रुपमा पसल सञ्चालन गरी आफू मात्र नभई चारजनालाई रोजगारीसमेत दिएको परियारको भनाइ छ ।

सहकारीले व्यावसायिक बनाउन रामपुरका २० महिलालाई ढाका कपडा सिलाइ तालीम तथा एक–एकवटा मेशिनसमेत उपलब्ध गराएको अध्यक्ष राजुप्रसाद श्रेष्ठले बताए ।

व्यवसाय गर्न सोच बनाएका तर सीप नपाएर बेरोजगार बनेका महिला सहकारीमार्फत सीपमूलक तालीम पाएपछि उत्साहका साथ व्यवसायमा लागेका छन् । 

रामपुरमा नै ढाका कपडाका विभिन्न उत्पादन हुन थालेपछि अहिले माग बढ्दो रहेको यसमा संलग्न महिला बताउँछन् ।  सदरमुकाम तानसेनबाट ढाकाको कपडा खरिद महिलाले व्यवसाय चलाउने गरेका छन् । 

रामपुर क्षेत्रमा विशेषगरी झोला, हाते पर्स, आस्कोट, चोलीहरु, बच्चाका लागि दौरा सुरुवालको बढी माग आउने गरेको छ । रामपुर घुम्न आएका व्यक्तिले ढाकाको कपडाबाट उत्पादित सामान कोसेलीका रुपमा लैजाने गरेका छन् ।

पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीको सङ्गमस्थल रहेको रामपुर बजारमा ढाका कपडाबाट उत्पादित सामग्री विशेष आकर्षणका रुपमा रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया