काठमाण्डौमा रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने

४ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाले आगामी वैशाखदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । बुधवार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र अन्य सरोकारवालासँगको बैठकले यस्तो निर्णय गरेको हो । 

सार्वजनिक यातायातलाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुनालाई पनि सहयोग होस् भन्दै कामपाले रातको समयमा पनि सार्वजनिक यातायात सञ्चालन गर्न लागेको हो ।  

बैठकमा कामपाका प्रमुख शाक्यले नयाँ वर्षको शुरुआतसँगै पहिलो चरणमा बेलुका ८ बजेदेखि ११ बजेसम्म सेवा शुरु गर्ने गरी कार्यदल नै गठन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । विगतमा २०६९ भदौ १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनमा आए पनि करीब १८ महीनापछि सेवा बन्द भएको थियो ।  

प्रमुख शाक्यले शुरुमा व्यवस्थापनका लागि पर्ने आवश्यकता पूरा गर्न महानगरपालिका तयार रहेको भन्दै दीर्घकालीन सेवा दिने गरी योजना बनाएर तयार रहन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई आग्रह गरे । 

बैठकमा  पहिलो चरणमा  रत्नपार्कलाई केन्द्रित गरेर छिमेकी नगरपालिकाहरु तथा ललितपुर र भक्तपुरमा समेत सेवा पुर्‍याउने गरी १५ ओटा रुट बनाएर सेवा दिने निर्णय गरेको छ । शुरुमा कम्तीमा पनि ६० ओटा बस दैनिक सञ्चालन गर्न सकिने जानकारी दिइएको छ ।    

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनप्रसाद हमालले पनि कार्यदल बनाएर विवाद नआउने गरी समाधानको बाटो खोज्न तयार रहेको भन्दै सेवा दीर्घकालीन गर्ने कुराको सुनिश्चित महासंघले गर्नुपर्नेमा जोड दिए । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक विमल बस्नेतले नेपाल भ्रमण वर्षलाई केन्द्रित गरेर महानगरभित्रका पर्यटकीय क्षेत्रमा पनि विदेशी पाहुनालाई सहज आगमन र अबेरसम्म हिँडडुलका लागि सेवा प्रभावकारी हुने गरी योजना बनाएर अघि बढ्नुपर्ने बताए । 

४ बर्ष अगाडि

प्रतिक्रिया