विदेशीमा रहेका नेपालीको सहयोगमा विद्यालय

४ बर्ष अगाडि

विदेशमा रहेका नेपालीले दाङमा विद्यालय स्थापना गरेका छन् । ‘ओपन वर्लड कवज’ संस्थामार्फत दाङमा थारु समुदायका विद्यार्थीलाई शिक्षा दिने गरी विद्यालय सञ्चालनमा ल्याएका हुन् । उक्त संस्थाको नेपालको प्रतिनिधि काठमाडौँ निवासी सरिता तिमिल्सिनाका अनुसार दाङको घोराही उपमहानगरपालिका वडा नं १० मा थारु समुदायका छोराछोरीले पढ्ने विद्यालय सञ्चालनमा ल्याइएको हो । 

संस्थाले नेपालमा महिला स्वास्थ्य र शैक्षिक सुधारमा काम गर्दै आएको छ । थारु समुदायका बालबालिकालाई सहज शिक्षा दिनका लागि उक्त विद्यालयमा लगानी गरेको उनको  भनाइ छ । “अहिले थारु समुदायका बालबालिकाले अन्य भाषा बुझ्न कठिन हुने र पढाइमा प्रभावपर्ने गरेको छ”, उनले भने, “त्यसैले थारु समुदायका बालबालिकालाई पठनपाठनमा सहज होस् भनी हामीले दाङमा उक्त विद्यालय सञ्चालनमा ल्याएका हौँ ।” 

नारायणपुरमा त्रिपुर टिनरगार्डेन एकाडेमी सञ्चालनमा ल्याएर थारु समुदायका बालबालिकालाई शिक्षा दिइरहेको उनको भनाइ छ । “कतिपय थारु समुदायका बालबालिकाले आर्थिक अभावकै कारण पनि विद्यालय पठाउन नसक्ने अवस्था रहेको छ”, उनले भने, “उहाँहरुको सहजताका लागि हामीले विद्यालय सञ्चालनमा ल्याएका हौँ ।” 

शुरुमा १२ जना विद्यार्थीलाई पठनपाठन गरेको भए पनि अहिले ९७ जना विद्यार्थी रहेको उनको भनाइ छ । अहिले नर्सरीदेखि कक्षा १ सम्म पढाइ भइरहेको छ । अहिले अभिभावकले कक्षा थप गर्न दबाब दिएकोसमेत तिमिल्सिनाले बताए । “अहिले नर्सरीदेखि एकसम्म पढाइ भइरहेको छ”, उनले भने, “तर अभिभावकले कक्षा थप गर्न दबाब दिइरहनुभएको छ ।” 

    अभिभावकले कक्षा थप गर्न अनुरोध गरेको भन्दै त्यसका लागि विदेशी संस्थासँग पहल गरिरहेकोसमेत उनले बताए। साथै टाढाटाढाबाट विद्यार्थी आउन चाहेको भन्दै यातायातसमेत सञ्चालन गर्न लागिएको उनको भनाइ छ । अहिले बाहिर मन्टेश्वरीमा मासिक रु पाँच÷छ हजार तिर्नुपर्ने बाध्यता रहेको भए पनि  टिनर गार्डेनले ६०० मै पठनपाठन गराएको भन्दै यो सकारात्मक कार्य रहेको स्थानीय खुशीराम चौधरीले बताए। अहिले सबै विद्यार्थीबाट मासिक रु ६०० लिने गरेको भन्दै जसबाट विद्यार्थीलाई खाजा, यातायात सुविधा दिने गरेको चौधरीको भनाइ छ । 

अहिले विद्यार्थीलाई प्रविधिमैत्री बनाएर पढाउने गरिएको छ । “हामीले अहिले सबै विद्यार्थीलाई आइप्याड प्रदान गरेका छौँ”, तिमिल्सिनाले भने, “त्यसले विद्यार्थीलाई इन्टरनेट प्रयोग गरेर पठनपाठनमा सहजता हुने गरेको छ ।” अहिले उक्त एकेडेमीमा पाँच जना शिक्षक कार्यरत रहेका छन् । अमेरिकामा रहेको ‘ओपन वर्लड कवज’ संस्थाले विभिन्न देशमा पिछडिएका वर्गलाई सहयोग गर्दै आएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया