कसरी भयो प्रधानमन्त्रीको ‘डोमेन’ दुरुपयोग ?

४ बर्ष अगाडि

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका नामबाट खोलिएको वेबसाइट दुरुपयोग भएको छ। उक्त साइटमा ‘पोर्न’ भिडियो कहाँबाट कसले अपलोड गर्यो भन्ने खुल्न सकेको छैन। केपीशर्माओली डटकममा अश्लील सामग्री राखिएकोबारे सरकारले अनुसन्धान तीव्र बनाएको छ।

सुरुमा प्रधानमन्त्री ओलीको व्यक्तिगत जानकारी समेटिएको वेबसाइट लामो समयदेखि दुरुपयोग भएको पाइएको छ। सरकारले दुई वर्षअघि पोर्न साइटलाई प्रतिबन्ध लगाएको थियो। प्रधानमन्त्रीकै नामको डोमेनमा भने सयौं पोर्न भिडियो अपलोड भएका छन्।

आईटी कम्पनी सञ्चालकका अनुसार सरकारले यो वेबसाइट नेपालभर नखुल्ने बनाउन सक्छ। यो मात्र समाधान भने होइन। यो डोमेन प्रधानमन्त्रीका नाममा भएकाले यसको असर अन्तर्राष्ट्रिय क्षेत्रसम्मै रहन्छ। नेपालमा नदेखिने बनाउनेभन्दा पनि सरकारले यो डोमेनप्रदायक कम्पनीसँग समन्वय गरी फिर्ता गर्नुपर्ने आईटी विज्ञको सुझाव छ।
केपीशर्माओली डटकम डोमेन सन् २०१३ सेप्टेम्बर ३१ मा रजिस्टर भएको थियो। राजनकुमार न्यौपानेले छेनाटेक नेपाल प्रालिका नामबाट यो डोमेन दर्ता गरे। उनले २०१३ देखि २१ जुन २०१७ सम्म नवीकरण गरे। उनले चार वर्षसम्म ओलीको व्यक्तिगत वेबसाइटकै रूपमा चलाए।

ओली २० फेब्रुअरी २०१८ (२०७४ फागुन ३ गते) दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भएपछि यो डोमेन नवीकरण भएन। प्रधानमन्त्रीको सचिवालयले नयाँ डोमेन केपीशर्माओली डटकम डटएनपी दर्ता गरी सञ्चालनमा ल्यायो। त्यही वेबसाइट अपडेट छ।

प्रधानमन्त्रीकै नाम दुरुपयोग भएर दर्ता भएको अर्को वेबसाइटको डोमेन १२ मार्च २०१८ पछि गलत ढंगले प्रयोग भएको पाइएको छ। ओलीका नामको डोमेनमा सन् २०१८ पछि विभिन्न पोर्न भिडियो अपलोड भएका छन्। शीर्ष नेताको व्यक्तिगत डोमेन दुरुपयोग भएको यो नै पहिलो घटना भने होइन। यसअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, युवा नेता गगन थापा, नेकपा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका डोमेन दुरुपयोग भएका थिए। डोमेन दर्ता गरेर लामो समय अपडेट नगर्दा यस्तो समस्या देखिने गरेको छ। अन्नपूर्णबाट

४ बर्ष अगाडि

प्रतिक्रिया