‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान उपलब्धिमूलक

४ बर्ष अगाडि

प्रदेश नं २ को सरकारद्वारा महिला सशक्तीकरण तथा सामाजिक सुधार गर्ने गर्ने उद्देश्यले सञ्चालित ‘बेटी पढ़ाऊ, बेटी बचाऊ अभियान’  उपलब्धिमूलक रहेको बताइएको छ ।

प्रदेश सरकारद्वारा सार्वजनिक गरिएको दुई वर्षको उपलब्धि विवरणमा सो कुरा उल्लेख गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतका अनुसार अभियानले महिलाप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको छ । सो अभियानअन्तर्गत हालसम्म माध्यमिक र उच्च माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ हजार छात्रालाई साइकल वितरण र  करिब १५ हजारलाई वितरण गर्न प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

साइकल वितरण कार्यक्रमअन्तर्गत सप्तरी जिल्लाका २९ विद्यालयका एक हजार ५३५ , सिरहा जिल्लाका २५ विद्यालयका एक हजार ६१६ , धनुषा जिल्लाका ३२ विद्यालयका एक हजार ७८५ र महोत्तरी जिल्लाका ३१ विद्यालयका एक हजार ८७० छात्रालाई साइकल वितरण गरिएको छ ।

त्यस्तै सर्लाही जिल्लाका ४२ विद्यालयका दुई हजार ४५७, रौतहट जिल्लाका २८ विद्यालयका एक हजार ४०८, बारा जिल्लाका २६ विद्यालयका एक हजार ६७५ र पर्सा जिल्लाका २७ विद्यालयका एक हजार ६५४ छात्रालाई साइकल वितरण गरिएको छ ।

‘छोरी जन्मनुलाई सराप होइन वरदान’का रूपमा लिनुपर्छ भन्ने भावना वृद्धि गरी जीवन सुरक्षित गर्ने उद्देश्यले सरकारले छोरी बीमाको रकमलाई वृद्धि  गरी तीनलाख पु¥याएको छ । सो अभियानप्रति विभिन्न पालिका उत्साहित भई सरकारद्वारा दिइएको रकममा थप गरी छ लाख पु¥याउने लहर आएको जनाइएको छ ।

प्रदेश सरकारले गत वर्षको माघ १ गतेपछि जन्मिएका छोरीका लागि छोरी शिक्षा बीमा मुद्दति बचत कार्यक्रम सञ्चालन गर्दे आएको छ । सो कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा चार हजार ३७३ बीमित बालिकाको खातामा रकम जम्मा भइसकेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अनुसार  सप्तरी जिल्लाका ६४७, सिरहा जिल्लाका ३६२, धनुषा जिल्लाका ७८१, महोत्तरी जिल्लाका ७२६, सर्लाही जिल्लाका ३०५, रौतहट ७६०, बारा जिल्लाका ४४१ र पर्सा जिल्लाका ३५१ बीमित बालिकाको खातामा रकम जम्मा भइसकको छ ।

सोही कार्यक्रमअन्तर्गत २०७६ साउनदेखि कात्तिकसम्म दर्ता भएका तीन हजार बालिकाको खातामा रकम पठाउने अन्तिम तयारीमा रहेको छ । त्यस्तै  सो कार्यक्रम सन्दर्भमा चालु आवको माघ २ देखि माघ २९ गतेसम्म सञ्चालित शिविरमा २० हजार २५ छोरीको बीमाका लागि निवेदन दर्ता भइसकेको जनाइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया