एमसीसी संसदमा पेश नगरेपछि बलात्कार आरोप लागेका महरा अदालतबाट निर्दोष ठहरिए

४ बर्ष अगाडि

जवरजस्ती करणी उद्योगको आरोप लागेका निवर्तमान सभामुख  कृष्ण बहादुर महरा निर्दोष ठहरीएका छन् । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई लागेको अभियोग दावी नपुग्ने फैसला गरेको हाे । 

"अभियोग दाबी नपुगेकाले उनले सफाइ पाउने ठहर गरिएको छ", अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने । 

उनको मुद्धामा लामो समय चलेको बहस आइतवार सकिएपछि आज अन्तिम सुनुवाई भएकाे हाे । 

दशैंकाे ठीक अगाडि असोज १२ गते महरामाथि सं‌सद सचिवालयकी कर्मचारीलाई बलात्‍कार प्रयास गरेको आरोपमा मुद्दा लागेको थियो । 

आफूमाथि अभियोग लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएपनि आरोप अस्वीकार गर्दै आएका थिए। 

असोज १९ को साँझ दशैँको अष्टमी पर्वकाे दिन गिरफ्तार गरेर पुर्पक्षका लागि थुनामा राखिएका महरा अब भने रिहा हुनेछन् ।    

यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो भने दुई महिनाअघि उच्च अदालत पाटनले पूर्वसभामुख महरालाई थुनामुक्त गर्न अस्वीकार गरेको थियो।

उसले जिल्ला अदालतले महरालाई मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म पुर्पक्षका निम्ति थुनामा राख्न दिएको आदेश नै सदर गरिदिएको थियो।

बलात्कार प्रयास गरेको उजुरी दिएकी संसद्‍ महिलाले पछि आफूलाई जबरजस्ती उजुरी गर्न लगाएको भन्दै अर्को निवेदन दिएकी थिइन्।

तत्कालीन नेकपा माओवादीबाट दाङ क्षेत्र नं २ बाट संसदीय निर्वाचन जितेका ६० वर्षीय महरालाइ अभियाेग लागेपछि दुई साता अगाडि सत्ताधारी नेकपाका भित्र पूर्व माओवादीकै नेता अग्नि सापकोटा नयाँ सभामुख छानिएका छन्।

नेपालमा विवादित रहेकाे एमसीसी संसदमा दर्ता गर्न नमानेपछि महरालाई शक्तिकेन्द्रकै याेजनामा याेजनाबद्द रूपमा फसाइएकाे अड्कल पनि राजनीतिकबृत्तमा लाग्दै आएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया