राष्ट्रपतिबाट मन्त्री तुम्बाहाङ्फेलाई शपथ

४ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्वाहाङ्फेलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति भवन शीतल निवासमा अपराह्न आयोजित समारोहमा राष्ट्रपतिबाट नवनियुक्त मन्त्री तुम्वाहाङ्फेले शपथ लिएकी हुन् ।

नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनलाई मन्त्री पदमा आजै नियुक्त गरेको बताइएको छ ।  यसअघि उक्त मन्त्रालयको कार्यभार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका थिए । 

डा तुम्वाहाङ्फे यसअघि उपसभामुख थिइन् । सभामुखको निर्वाचनका लागि मार्गप्रशस्त गर्ने क्रममा उनले गत माघ ६ गते उपसभामुखबाट राजीनामा दिएकी थिइन् । उनी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का तर्फबाट प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित सांसद हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्को उपस्थिति थियो। मन्त्रिगण, नेपाल सरकारका मुख्य सचिव, संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता, प्रधानसेनापति र अन्य सुरक्षा निकायका प्रमुख तथा सरकारका उच्च अधिकृतको पनि सो अवसरमा उपस्थिति थियो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७४ साल फागुन ३ गते गठन भएको मौजुदा मन्त्रिपरिषद्को यो आठौँ हेराफेरी एवं पुनःगठन हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया