आगामी वर्षको बजेट ढाँचा फागुन मसान्तसम्म

४ बर्ष अगाडि

सरकारले आगामी वर्षको बजेटमा समावेश गर्नुपर्ने आयोजना ढाँचा फागुन मासान्तसम्म तयार गर्न मन्त्रालयहरुलाई निर्देशन दिएको छ । 

अर्थ मन्त्रालयले फागुन मसान्तसम्म बजेट तथा कार्यक्रमको ढाँचा राष्ट्रिय आयोजना बैंकको सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गरी मन्त्रालयमा जानकारी पठाउन निर्देशन दिएको हो ।  

त्यसका लागि राष्ट्रिय योजना आयोग अन्तर्गत आयोजना बैंकको सूचना व्यवस्थापन सूचना प्रणालीको सफ्टवेयर तयार भइसकेको छ ।   

‘आर्थिक वर्ष २०७६/०७७ को बजेटमा समावेश गर्नुपर्ने नयाँ कार्यक्रम/आयोजनाको लागि चालु आर्थिक वर्षमा विनियोजित बजेटबाटै आयोजनाहरूको पहिचान, छनौट, मूल्याङ्कन तथा लागत लाभ विश्‍‌लेषण समेतका आधारमा आयोजना ढाँचा तयार गरी राष्ट्रिय आयोजना बैंक सूचना व्यवस्थापन प्रणालीमा प्रविष्‍‌टी गराई यहि फागुन मसान्तभित्र अर्थ मन्त्रालयलाई सोको जानकारी दिने व्यवस्था गरिएको छ’, मन्त्रालयले भनेको छ ।  

वित्तीय अनुशासन पारदर्शिता र उत्तरदायित्व प्रवर्द्धन गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन कार्यान्वयनमा ल्याई विनियोजन कुशलता हासिल गर्न राष्ट्रिय आयोजना बैंकको स्थापना गरिएको हो । 

हचुवाका भरमा विकासे आयोजना घोषणा गर्ने र कार्यान्वयनमा समस्या तथा ढिलाइ हुने समस्या समाधानका लागि यस्तो व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ । 

विभिन्न निकायले प्रस्ताव तथा तयारी गरेका र कार्यान्वयनका चरणमा रहेका सबै आयोजना प्रणालीमा आबद्ध गर्नका लागि मार्गदर्शन बनाइएको तथा सञ्चालनका लागि सम्बन्धित मन्त्रालय तथा विभागका उत्तरदायी अधिकारीहरुलाई तालिम पनि दिइएको छ । 

तथ्यपरक र मापदण्डमा आधारित आयोजना पहिचान, छनोट तथा मुल्याङ्कन प्रक्रिया तथा प्राथमिकीकरण गर्ने प्रणालीको विकास र अभ्यास गर्न  तथा आयोजना बैंकका सिद्धान्त र मान्यता अनुरुप प्रदेश र स्थानीय तहहरुमा समेत त्यस्तो प्रणालीको स्थापना गर्ने आवश्यक सहजीकरण गर्ने बैंको उद्धेस्य रहेको छ ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया