एक वडामा तीन ‘हेलिप्याड ’निर्माण

४ बर्ष अगाडि

जिल्लाको काठेखोला गाउँपालिका–७ रेशको एक वडामा तीन हेलिप्याड निर्माण गरिएको छ । 

आकस्मिक उद्धार तथा विदेशी पर्यटकलाई घरवासमा ल्याउन वडा भित्रका तीन स्थानमा हेलिप्याड निर्माण गरिएको वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाले ‘एक वडा, एक हेलिप्याड’ नीति लिएको छ ।  वडामा तीन हेलिप्याड निर्माण गरिएको छ । 

साबिक रेश ठूलो वडा भएको र एकै वडामा चारवटा सामुदायिक घरवास सञ्चालनमा रहेका कारण उद्धारमात्र नभएर विदेशी पर्यटक भित्र्याउनका लागि पनि हेलिप्याड निर्माण गरेका हौँ”, अध्यक्ष लामछिानेले भने, “दुईवटा निर्माण सम्पन्न भइसकेको छ ।

एक निर्माणको अन्तिम चरणमा छ ।”रेशको झाँक्रीस्थानमा गाउँपालिकाको दुई लाखको लागत र सुराजामा गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको एक लाख ५० हजारमा हेलिप्याड निर्माण सम्पन्न भएको छ । 
यसैगरी वडा कार्यालय नजीकै गाउँपालिकाकै रु तीन लाखको लागतमा निर्माणको अन्तिम चरणमा पुगेको जनाइएको छ । 

वडा कार्यालयले साबिक रेश गाविसका प्रत्येक दुई वडालाई केन्द्रित गरेर एक हेलिप्याड बनाउने योजना रहेको जनाएको छ । ९ वडा नै लाभान्वित हुने गरी रेशको बौरमा हेलिप्याडका लागि जग्गा तय गरिएको छ ।

गाउँपालिकाले अन्य वडामा समेत हेलिप्याड बनाउने अभियानलाई तीव्र गति दिएको छ । 

एक वर्षभित्र गाउँपालिकाका सबै वडामा हेलिप्याड बनाउने अभियान चलाइएको काठेखोला गाउँपालिकाले जनाएको छ ।

आठवटै वडामा हेलिप्याड बनाउनका जग्गा छनोट गरी गण्डकी प्रदेश सरकारको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पठाइएको गाउँपालिकाका अध्यक्ष अम्मर थापाले जानकारी दिए ।     

स्वास्थ्य केन्द्र, वडा कार्यालय आसपासका क्षेत्रमा हेलिप्याड बनाउन जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहसँग सहकार्य गर्दै आएको छ । 

सरकारले दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी, नवजात शिशुको उपचारका साथै दुर्घटनाका गम्भीर घाइतेको सहज उपचारका लागि ‘एयर एम्बुलेन्स’ शुरु गरेपछि वडास्तरमै हेलिप्याड बनाउन थालिएको हो ।

दुर्गम वडाको एक बस्तीबाट अर्कोमा पुग्न धेरै समय लाग्ने भएकाले एउटै वडामा तीनवटासम्म हेलिप्याड आवश्यक पर्ने स्थानीय जनप्रतिनिधिले औँल्याएका छन् । 

हेलिप्याडले आन्तरिक तथा बाह्य पर्यटकको आवतजावतसमेत सहज बनाउने अपेक्षा गरिएको छ । 

जिल्लाका अन्य स्थानीय तहले हेलिप्याड निर्माणका लागि आवश्यक सार्वजनिक जग्गाको खोजी गरिरहेका छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया