चक्लाबन्दी खेती गर्नै किसानलाई ठुला कृषियन्त्र वितरण गर्नै

४ बर्ष अगाडि

ठूलो परिमाणमा कृषिउपजको उत्पादन गर्ने गरी चक्लाबन्दी खेती गर्ने किसानलाई वाग्मती प्रदेश सरकारले ठूला कृषियन्त्र वितरण गर्ने भएको छ । 

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय हेटौँडाले धेरै क्षेत्रफलमा खेती गर्ने किसानका लागि ठूलाखालका कृषियन्त्र उपकरण वितरण गर्ने तयारी गरेको हो ।

कृषकको ५० प्रतिशत लगानी हुने गरी ढुवानी ट्रक, ट्र्याक्टर र पिकअप गाडी वितरण गरिने जनाइएको छ । त्यसरी अनुदान प्राप्त गर्ने प्रदेशभरका १३ कृषकको नाम छनोट कार्यसमेत सम्पन्न गरिएको बताइएको छ । कृषि निर्देशनालयका अनुसार त्यसरी छनोट गरिएका प्रदेशका १३  किसानमध्ये आठले पिकअप गाडी, दुईले ट्र्याक्टर र तीनले ढुवानी ट्रक प्राप्त गर्नेछन् । 

प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन कृषकलाई प्रोत्साहन गर्नका लागि उनीहरुलाई कृषिमा प्रयोग हुने उपकरण वितरण गर्न लागिएको कृषि विकास निर्देशनालयका निर्देशक रवीन्द्रबहादुर प्रधानले जानकारी दिए । उनका अनुसार त्यस्ता कृषि उपकरण प्राप्त गर्न ती किसानले कम्तीमा ४०० रोपनी जग्गामा तरकारी, फलफूल तथा अन्नबाली लगाएको हुनुपर्ने छ । 

वाग्मती प्रदेश सरकारले कृषिउपजको वृद्धिका लागि साना किसानलाई पनि अलग्गै कार्यक्रममार्फत प्रोत्साहन गरिरहेको मन्त्रालयले जनाएको छ ।
 आधुनिक कृषि प्रणाली अपनाई पशुपालन तथा कृषि उत्पादन गर्ने व्यावसायिक कृषकलाई सरकारले सहयोग गर्ने प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले बताए । 

यसैगरी जैविक कृषि प्रणाली अपनाउने कृषकलाई पनि प्रदेश सरकारले प्राथमिकता राखिएको उनले बताएका छन। 
 

४ बर्ष अगाडि

प्रतिक्रिया