सिटाैला, गगन र प्रदीप एकै मञ्चबाट यसरी अाेली सरकारमाथि खनिए

५ बर्ष अगाडि

काठमाडौं-नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारसँग लोकतान्त्रिक चरित्र र कम्युनिष्ट चरित्रमध्ये कुनै पनि नभएको दाबी गरेका छन् । 
बुधबार जिपी कोइराला लोकतन्त्र सम्बद्र्धन केन्द्रको आयोजना र संस्थाको अध्यक्ष बलदेव तिमल्सिनाको अध्यक्षतामा राजधानीमा ‘वर्तमान राजनीतिक परिस्थिति र लोकतन्त्र माथीका चुनौती’ विषयक कार्यक्रममा सिटौलाले सरकारसँग लोकतान्त्रिक चरित्र र कम्युनिष्ट चरित्र दुबै नभएको दाबी गरेका हुन् ।
‘संविधानको बाटो टेकेर बनेको सरकार त्यही बाटोलाई दुर्घटना गराउँने तर्फ अघि बढ्दैछ , यस्तो अवस्थामा राजनीति दुर्घटनातर्फ मुलुक जान्छ, सरकारसँग लोकतान्त्रिक चरित्र पनि छैन, कम्युनिष्ट चरित्र पनि देखिएन ।’
सिटौलाले मुलुकमा आउनेन सक्ने जस्ताेसुकै पनि खतरा रोक्ने ताकत कांग्रेससँग मात्रै भएको समेत स्पष्ट पारे । 
‘विगतदेखि नै खतरा रोक्ने लिगेसी कांग्रेसले बोक्दै आएको हो, अहिले पनि त्यो ताकत कांग्रेससँग मात्रै छ, त्यही लिगेसीबाट राजा फालेर गणतन्त्र आयो,’ नेता सिटौलाले भने । 
उनले वर्तमान सरकार संविधानले देखाएको बाटोमा टेकेर बनेको तर अहिले संविधानले देखाएकै बाटोलाई विराउनेतर्फ अघि बढिरहेको बताए । 
सिटौलाले राज्य मै हुँ भन्ने दम्भका कारण बर्तमान सरकार ६ महिनाको छोटो अवधिमा नै बढी आलोचित भइसकेको समेत दाबी गरे । 
कांग्रेसले संस्कार, नीति र व्यवहारमा परिवर्तन गरे मात्र लोकतन्त्रलाई बलियो बनाउन सकिने भन्दै उनले नेतृत्वले पहिले आफ्नै शैली सुधार गर्नु पर्ने र त्यसपछि मात्र लोकतन्त्र जोगाउन कम्युष्टिसँग लड्न सकिने धारणा व्यक्त गरे ।
युवा नेता तथा सांसद गगन थापाले वर्तमान सरकारका प्रधानमन्त्री केपी ओली प्रजातन्त्र प्राप्तिका लागि नभएर कम्युनिष्ट व्यवस्थाका लागि जेल बसेको बताए ।
‘फुलबारी भनेको तोरीबारी होइन, कम्युनिष्ट व्यवस्थाका लागि आन्दोलन गरेर जेल बसेर प्रजातन्त्रको हुंकार गर्ने व्यवहारले लोकतन्त्र बलियो हुँदैन, सरकारबाटै लोकतन्त्रमाथी खतरा छ,’ थापाले भने । 
उनले पछिल्लो समय प्रधानमन्त्रीको क्षमता माथी नै प्रश्न उठ्न थालेको बताए । 

थापाले पार्टी भित्रको पुरानो सोच बदल्ने अभियानलाई तिव्रता दिंदै लोकतन्त्र जोगाउँन सक्ने कांग्रेसको निर्माणमा सबै एक ढिक्का भएर लाग्नु पर्ने बताए । 
अर्का नेता प्रदिप पौडेलले सरकारले संविधानले प्रष्ट गरेको व्यवस्था माथी नै आक्षेप लगाउने काम गरेको भन्दै व्यवस्था कमजोर भए निर्वाचन पद्धतीको प्रकृया नै अन्त्य हुन सक्ने खतरा रहेको औंल्याए । 
‘लोकतान्त्रिक मान्यता माथीको प्रहारले सरकार कमजोर हुँदै छ, संविधानले सुनिश्चित गरेको व्यवस्थामाथी नै आक्षेप लगाउनु व्यवस्था कमजोर बनाउने षड्यन्त्र हो,’ नेता पौडेलले भने । 

कार्यक्रममा मुलुकको वर्तमान राजनीतिक अवस्थाका विषयमा केन्द्रिय सदस्य शिव हुमागाइ, सांसद धना खतिवडा,नेबि संघ महामन्त्री कुन्दनराज काफ्ले  सहितका नेताहरुले धारणा राखेको कार्यक्रम आयोजक सस्थाका प्रतिनिधि बिपिन अधिकारीले जानकारी दिए  ।

५ बर्ष अगाडि

प्रतिक्रिया