अफगानिस्तानमा आंशिक युद्धबिराम शुरु, स्वागतमा अफगानीहरुको नाचगान

४ बर्ष अगाडि

अफगानिस्तानमा शनिबारदेखि एक हप्ता लामो आंशिक युद्धविराम शुरु भएको छ । वर्षौंदेखि गृहयुद्धका कारण थिलथिलो भएको अफगानिस्तानमा शान्ति आउने आशामा हर्षित देखिएका नागरिकहरू बिहानैदेखि सडकमा नाचगान गरिरहेका छन् । 

अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबान, अमेरिका र अफगान सरकारबीच हिंसा न्यूनीकरण गर्न एक हप्ते सम्झौता भएको छ, र यो शनिबारदेखि लागू भएको हो । यो प्रारम्भिक सम्झौताको पूर्ण पालना भएमा सन् २००१ देखि जारी सशस्त्र हिंसा अन्त्यका लागि एउटा प्रस्थान विन्दु हुनेछ । 

अमेरिका र विद्रोही तालिबानबीच आंशिक युद्धबिरामको नतिजाका आधारमा स्थायी युद्धबिराम गर्न दुबै पक्ष सहमत भएका छन् । उक्त सम्झौता बमोजिम अमेरिकाले १८ वर्षपछि अफगानिस्तानमा तैनाथ करिब १४ हजार अमेरिकी सैनिक क्रमशः फिर्ता लैजाने छ । साथै, युद्धबाट थकित भइसकेको अफगानिस्तानमा राजनीतिक केही अस्थिरताका बाबजूद विकास र प्रगतिको ढोका खुल्ने अपेक्षा गरिएको छ । 

काबुल सडकमा शनिबार बिहानै भेटिएका ट्याक्सी चालक हबीब उल्लाहले निकै आत्मविश्वासका साथ भने “बम वा आत्मघातीको आक्रमणबाट मृत्यु हुने भय बेगर नै म पहिलो पटक यसरी सडकमा निस्कन पाएको छु । मलाई आशा छ यो सदा जारी रहने छ ।”

यो साप्ताहिक युद्धबिराम सफलतापूर्वक अघि बढाउन तालिबान समूहले आफ्ना लडाकूलाई नियन्त्रणमा राख्न सक्नु पर्दछ । अमेरिका र विद्रोही दुवैले आगामी फेब्रुअरी २९ मा दोहामा पूर्ण सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने पटकपटक बताइसकेका छन् । तर अमेरिकी सेना र अमेरिकी चासोका स्थानमा बम हमला भएपछि ट्रम्पकै आदेशमा अमेरिका–तालिबान जारी शान्तिवार्ता केही समय रोकिएको थियो ।

तर दुबै पक्षबीच पुनः शान्तिवार्ता भएर अस्थायी एक हप्ते युद्धबिराम भएको छ ।

लामो समयदेखि रक्तपातपूर्ण युद्धको सामना गरिरहेका सर्वसाधारण अफगानीले पछिल्लो सहमतिले ठूलो राहत दिएको छ । संयुक्त राष्ट्रसंघले गत वर्ष विगत एक दशकमा अफगानिस्तानमा एक लाखभन्दा बढी मानिस मारिए वा घाइते भएको जनाएको थियो ।

तालिबानको मुख्य आधारभूमि मानिएको दक्षिणी कन्धाहार र पूर्वी जलालाबादमा अफगानीहरु रातिदेखि नै सडकमा परम्परागत पस्तुन नाचमा रमाइरहेका देखिन्थे । 

वर्षौंदेखि सर्वसाधारणका लागि घातक ठाउँहरूमध्ये एकको रुपमा देखिएको काबुलमा भने मानिसहरु केही सजग देखिएका थिए । 

“अस्थायी नै भए पनि युद्धमा रोकिनु राम्रो हो तर हामी स्थायी युद्धविराम होस् भन्ने चाहन्छौं,” सरकारी कामदार फजुल रहमानले भने । “जतिसक्दो चाँडो विद्रोही तालिवान र अफगान सरकारबीच पनि शान्ति वार्ता हुनु पर्दछ ।” 

काबुलका एक जना पसले इमामुद्दीनले जेजस्तो अवस्थामा पनि सबै अफगानीले शान्तिको चाहना राखेको बताए । “एक हप्ताको युद्धबिराम त आँखा झिमिक्क पार्दै सकिन्छ,” उनले भने । “उनीहरूले यस देशको समस्याको लागि दिगो समाधान खोज्नु पर्दछ ।”

– खतरनाक क्षण –

हिंसामा कटौतीको विषय भने अद्यापी कृपण छ ।

अमेरिकाले अफगानिस्तानमा जारी “हिंसामा उल्लेखनीय र राष्ट्रव्यापी कटौती”का लागि “समझदारी” भएको बताएको छ भने अफगान सुरक्षाफौज पूरै साताभर “सक्रिय आत्मसक्षाको स्थितिमा” मात्र रहने छ । 

“तालिबानले हिंसामा अर्थपूर्ण कटौतीप्रति आफ्नो प्रतिबद्धता प्रदर्शन गर्नु पर्दछ,” अमेरिकी रक्षामन्त्री मार्क एस्परले ट्वीट गर्दै भनेका छन्
 । “तालिवानले शान्तिको बाटोलाई अस्वीकार गरेको खण्डमा हामी आफैं र अफगान साथीहरुको मद्दत गर्न तयार हुनेछौं ।”

कन्धाहारमा एकजना तालिबान विद्रोहीले आफूलाई हतियार थाँती राख्ने आदेश आएको एएफपीलाई बताए । तर अर्का लडाकूले आफूलाई केबल ठूला शहरहरु र राजमार्गहरूमा आक्रमण रोक्न आदेश दिइएको जानकारी दिए । 

कुनै पनि युद्धविराम चुनौती र खतराबाट भरिपूर्ण हुन्छ । विश्लेषकहरूका भनाईमा अफगानिस्तानको रक्तपात रोक्न निकै जटिलताहरु रहेका छन् र कुनै पनि समय त्यो भङ्ग हुन सक्दछ । 
सन् २००१ मा अमेरिकी आक्रमणपछि अफगानिस्तानमा एक पटक मात्र युद्धमा विश्राम आएको छ । तालिबान र काबुलबीच सन् २०१८ मा मुस्लिमहरुको महान चाड ईदको अवसरमा तीन दिन युद्धविराम भएको थियो । 

त्यसबखत अफगानिस्तानले तालिबानी लडाकूहरू, सुरक्षाफौज र सर्वसाधारणलाई अङ्गालो हालेर, आइसक्रीम बाँडेर र सेल्फी खिच्दै खुशी साटासाट गरेका थिए । 

अमेरिकाले एक वर्षभन्दा बढी समयदेखि तालिवानसँग वार्ता गरिरहेको छ । उक्त वार्ता मुख्य रुपमा अफगानिस्तानमा तैनाथ १२,००० देखि १४,००० अमेरिकी सेनाको आधा हिस्सा तत्कालै हटाउने र स्थायी युद्धविराम गर्ने केन्द्रित छ । 

त्यसको बदलामा तालिबानले सुरक्षा प्रत्याभूति गर्नु पर्नेछ र अफगान सरकारसँग शान्ति वार्तामा सहभागी हुनेछ । 

बिहीबार उक्त समूहका उपनेता सिराजुद्दीन हक्कानीले न्यूयोर्क टाइम्समा एउटा लेख लेख्दै विद्रोहीहरू सम्झौताको पक्षमा खडा हुन पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया