‘मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्र’

फागुन ११, २०७६ | आजको अर्थ
ajaako_artha

मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ । 

होरी उत्सवका सन्दर्भमा यो परम्पराले निरन्तरता पाएको देखिन्छ । मिथिला क्षेत्र प्राचीनकालदेखि नै ज्ञान, चिन्तन र दर्शनको भूमिका रूपमा प्रख्यात छ । प्राच्य सभ्यताको विकासका साथै सनातन वैदिक धर्मको प्रचलन एवं उत्तरवैदिक कालमा भएको धार्मिक सुधार इत्यादिका साक्षीका रूपमा मिथिलाञ्चल क्षेत्र रहिआएको छ ।

जनकपुरधाम पौराणिककालमा मिथिला प्रदेशको राजधानी थियो । निमि, मिथि, शिरध्वज, बहुलाश्व जस्ता दार्शनिक, प्रतापी एवं जनप्रिय राजाद्वारा सुशासित तथा याज्ञवल्क्य, गौतम, कणाद, गार्गी, मैत्रेयी जस्ता विद्वानको योग, तप, ज्ञान र दर्शनले यो क्षेत्र सुसंस्कारित रहेको छ । सो समयमा विचार विमर्श, बैठक र सम्मेलनका माध्यमले चिन्तन, हास–परिहास हुने गरेको थियो ।

मिथिलाको संस्कृतिमा धर्मको साथै दर्शनको पनि महत्वपूर्ण स्थान रहिआएको मानिन्छ । दर्शनलाई धर्मसित सम्पृक्त मानिएको छ । यसलाई धर्मको स्वाभाविक परिणतिका रूपमा ठानिएको छ । राजा जनकको दरबारमा माया, कर्म, मुक्ति जस्ता विषयको विश्लेषण गरिएको पाइन्छ ।

विदुषी विद्युत्मा र महामुर्ख कालिदासको वैवाहिक सम्बन्धका दृष्टान्त पनि मिथिलाञ्चलमै रहेको छ । विद्वानबीच शास्त्रका बारेमा चिन्तन, विवाद र समाधानको केन्द्रका रूपमा पनि यो ख्याति पाएको देखिन्छ । सोही भावभूमिमा विद्वानले आपूmमा महामूर्खको भाव राख्ने, सभ्यता, संस्कृतिको रक्षा गर्ने, भाषा र कलालाई  अभियानका रूपमा लिने, धरातीय अवस्थाको बोध गराउने प्रतीकका रूपमा महामूर्खको उपाधिले निरन्तरता पाएको बताइन्छ । 

महामूर्ख उपाधिमा सम्मान, अभियान र व्यङ्ग्य समाहित देखिएको छ । मिथिलावासी विद्यापे्रमी रहेका तथा यहाँ विद्वानको कदर गरिने परम्परा रहेको तथ्य राजा जनकका राजसभाबाट ज्ञात हुन्छ । महामूर्खको उपाधि पाउनेमा साहित्यकार, अभियानी, संस्कृतिकर्मी, समाजसेवी, कलाकर्मी, लेखक र राजनीतिकर्मी रहेका छन् । हुन त समान्यतः महामूर्खको उपाधिले ग्लानि र हीनताबोध हुनुपर्ने हो तर मिथिलाञ्चल क्षेत्रमा यो उपाधिका लागि निकै प्रतिस्पर्धा हुने गरेको पाइन्छ ।

राजनीतिकर्मी बजरंगप्रसाद साहका अनुसार जनकपुरधाममा होरी मनाउने सन्दर्भमा यो उपाधि महत्वपूर्ण स्थान रहेको बताउछन् । महामूर्खको उपाधि र होरी उत्सवलाई बूढापाकाले दिएका निरन्तरताका शृङ्खलाका रूपमा आपूmले विसं २०३६ मा कानूनविद् गिरिशचन्द्र लाललाई महामूर्खको उपाधि जानकी मन्दिर परिसरमा आयोजित होरी उत्सवमा प्रदान गरेको उनी बताउछन्।

सोही उत्सवमा विमलेन्द्र निधि, वृषेशचन्द्र लाल, समीर घिमिरे, प्रेमकिशोर साहलगायतका अभियानीले तत्कालीन राजालाई व्यङ्ग्य गरी मञ्चबाट महामूर्खको सङ्ज्ञा दिएका कारण सो अभियान पछि गएर शासक वर्गको बक्रदृष्टिको शिकार हुन पुगेको बताइन्छ । शासक वर्गको बक्रदृष्टि भएपछि विभिन्न युवा क्लबले होरी उत्सवलाई  रङ्ग उत्सवका रूपमा मनाउन थालेको देखिन्छ । राजनीतिकर्मी साह आफ्नो पहलमा शुरूमा महावीर चोकमा होरी मनाउने सन्दर्भमा जोगिरा गायन र मटका फोर अभियान पनि सञ्चालन गरेको भन्छन् ।
 
केही वर्षसम्म महामूर्खको उपाधि प्रदानमा इतिहास मौन देखिए पनि मिथिला नाट्य कला परिषद्ले  यसलाई  जीवन्तता दिएको पाइन्छ । परिषद्ले २३ वर्षदेखि महामूर्खको उपाधि प्रदान गर्दै आएको छ । सो परिषद् महामूर्खको उपाधि पाउनेमा ओमकुमार झा, नरेश ठाकुर, हरिबहादुर बिसी, डा राजेन्द्र विमल, रामचन्द्र झा, रामसरोज यादव, सीके लाल, शीतल झा, डा विजय सिंह, दीगम्बर राय, शत्रुधन महतो र लालकशिोर साहलगायतका व्यक्ति रहेका छन् ।

परिषद्का पूर्वअध्यक्ष सुनिल मल्लिकका अनुसार सामाजिक संस्कृतिको अङ्गका रूपमा विद्वत वर्गदेखि अभियानी, राजनीतिकर्मीलाई निराकार भाव, व्यङ्ग्य र सम्मानमूलकरूपमा सो उपाधि प्रदान गरिँदै आएको हो । यसपटक प्रदेशस्तरीय भएकाले प्रदेश नं २ का आठ जिल्लाबाट यही फागुन २६ गते जानकी मन्दिर परिसरमा हुने होरी उत्सवमा सो उपाधि प्रदान गर्ने जनाइएको छ । चयन समितिका संयोजक श्यामसुन्दर शशि युद्धस्तरमा महामूर्ख र पटमूर्खको खोजी जारी रहेको बताउछन् ।

यसपटक २४औँ महामूर्ख उपाधिका लागि कुन क्षेत्रका व्यक्ति हकदार छन भन्ने प्रश्नमा संयोजक शशिले नाम आउनेक्रम जारी छ भने । परिषद्ले यही फागुन २५ गते होरी गायन प्रतियोगिता र २६ गते महामूर्ख सम्मेलनको कार्यक्रम राखेको छ । सम्मेलनमा एक जनालाई महामूर्ख र सात जनालाई पटमूर्खको उपाधि प्रदान गरिनेछ । होरी गायन प्रतियोगितामा आठ जिल्लाका कलाकारको सहभागिता रहने बताइएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११९.४८१२०.०८
European Euro१३१.५६१३२.२२
UK Pound Sterling१४६.०११४६.७४
Swiss Franc१२४.२३१२४.८५
Australian Dollar७२.५३७२.९०
Canadian Dollar८४.८६८५.२९
Singapore Dollar८३.३५८३.७७