दिवाखाजा कार्यक्रमले विद्यार्थीमा उत्साह थपियो

४ बर्ष अगाडि

रावाबेँसी गाउँपालिकाले विद्यालयमा आधारित दिवाखाजा कार्यक्रम लागू गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र भर्ना भएका विद्यार्थीलाई विद्यालय छाड्न नदिन गाउँपालिकाले चालू आर्थिक वर्षमा रु १० लाख ५० हजार बजेट विनियोजन गरेको छ ।

गत पुस १ गतेदेखि गाउँपालिकाका २८ वटै विद्यालयमा लागू गरिएको दिवाखाजा कार्यक्रमका लागि पुस र माघ महिनाको रकमसमेत वितरण शुरु गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताए। “गाउँपालिकामा १६ प्रावि, पाँच आधारभूत र सात माविमा एक हजार ६१४ विद्यार्थी अध्ययनरत छन्”, उनले भने, “प्रतिविद्यार्थी रु १० का दरले उनीहरुको अभिभावकलाई विद्यालयमा बोलाएर दिवाखाजावापतको भत्ता रकम प्रदान गर्ने गरिएको छ ।”

छ वडा रहेको रावाबेँसी गाउँपालिकाको सबै विद्यालयका छात्रछात्राका अभिभावकलाई आगामी फागुन १९ गतेसम्म पुस र माघको दिवाखाजावापतको भत्ता रकम वितरण गरिने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । प्रत्येक अभिभावकले आफ्ना बालबच्चालाई रोटी, गेडागुडी, खाना, चाम्रे, सातु, सागसब्जीका परिकार तथा फलफूललगायत खाजाका रूपमा पठाउने र सोवापत गाउँपालिकाले खर्च दिने विद्यालयमा आधारित दिवाखाजा सञ्चालन कार्यविधिमा उल्लेख गरिएको छ । 

गत मङ्सिर १९ गते दिवाखाजा सञ्चालन कार्यविधि पारित गरेको गाउँपालिकाले विद्यार्थीलाई बिस्कुट, चाउचाउ, भुजिया, दालमोटजस्ता जङ्कफुड ९पत्रु खाना० जन्य खाजाका रूपमा खुवाउन र पठाउन बन्देज लगाएको छ । विद्यार्थीका आमालाई भेला गरेर खाजाको सूची तयार पारेको र सोहीअनुसार खाजा तयार पारेर पठाउन भनिएको छ ।

विद्यालयमा दिवाखाजा कार्यक्रम शुरु गरिएपछि विद्यार्थी नियमित भएको र कक्षा छाड्ने प्रवृत्तिमा कमी आएको गाउँपालिका उपप्रमुख समला राईले जानकारी दिए। “दिवाखाजा कार्यक्रम लागू भएको छोटो समयमै सकारात्मक प्रभाव देखिएको छ”, उनले भने, “दिउँसै कक्षा छाडेर हिँड्ने सङ्ख्यामा पनि कमी आउनुका साथै उनीहरुको पढाइमा समेत उत्साह थपिएको पाइएको छ ।”

दैनिक रु १० का दरले दिवाखाजावापतको भत्ता दिँदा गाउँपालिकाबाट विनियोजित रकमले करिब ६५ दिन मात्र पुग्ने देखिएको शिक्षा शाखा संयोजक तीर्थराज दाहालले बताएका छन्। शिक्षा शाखा संयोजक दाहालका अनुसार अन्य दिनका लागि उक्त कार्यक्रमलाई निरन्तरता दिन पुनःविचार गर्नुपर्ने अवस्था देखिएको छ । दिवाखाजा कार्यक्रमको निरन्तरता दिन वित्तीय समानीकरणअन्तर्गतको बजेटका लागि राष्ट्रिय योजना आयोगसमक्ष माग गरिएको गाउँपालिकाले जनाएको छ । विद्यालयमा आधारित दिवाखाजा कार्यक्रम शुरु गरिएपछि प्रदेश सरकारले विद्यार्थीलाई खाजा ल्याउने भाँडा उपलब्ध गराउने भएको छ ।

जिल्लाका सामुदायिक विद्यालय अध्ययन गर्ने विद्यार्थीका लागि दिवाखाजा पठाउने चलन कमै मात्र छ । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा दिवाखाजा कार्यक्रम लागू गर्ने रावाबेँसी गाउँपालिका पहिलो स्थानीय तह हो । जिल्लामा ९१ मावि, ६७ आधारभूत र ३३५ प्राविगरी ४९३ सामुदायिक विद्यालय सञ्चालनमा छन् । रावाबेँसी गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा सञ्चालित विद्यालयमा अहिलेसम्म दिवाखाजा कार्यक्रम लागू भएको छैन । 

जिल्लाका कतिपय ठाउँमा सञ्चालित सामुदायिक विद्यालय जान पैदल तीन घण्टासम्म हिँड्नुपर्ने अवस्था छ । बिहान ७ बजे विद्यालय गएका विद्यार्थी बेलुका ८ बजे मात्र घर पुग्ने हुँदा कतिपयले बीचैमा विद्यालय छाड्ने गरेका छन् ।  

४ बर्ष अगाडि

प्रतिक्रिया