बजारमा छ्याप्छ्याप्ती ग्यासका अवैध सिलिन्डर

४ बर्ष अगाडि

नेपालमा भित्र्याउन प्रतिबन्ध गरिएका साना ग्यासका सिलिन्डर नेपालगञ्जको बजारमा खुलेआम बिक्री हुने गरेको छ । भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बाँकेका स्थानीय बजारमा अवैध रुपमा भित्र्याइएका साना ग्यासका सिलिन्डरहरु बिक्री वितरण हुँदै आएको छ । 

नेपालमा साना सिलिन्डर ल्याउन नपाइने भएकाले त्यसको गुणस्तर परीक्षण र प्रमाणीकरण हुँदैन । सोमबार जिल्ला प्रशासनको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले ग्यास बिक्रेतालाई लक्षित गरी अनुगमन गरेको छ । उपभोक्तालाई तोकेबमोजिमको मापदण्डअनुसार ग्यास बिक्री भए÷नभएको अनुगमन गरिएको हो”, वाणिज्य कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण पौडेलले भने। 

संयुक्त बजार अनुगमन समितिले शुक्रबार पाँचवटा ग्यास बिक्रेताको पसल अनुगमन गरेको थियो । “अनुगमनमा तीनवटा पसलले मापदण्ड विपरीत साना ग्यासका सिलिन्डर बिक्री गरेको पाइएको छ”, वाणिज्य कार्यालयका प्रमुख पौडेलले भने, “उनीहरुलाई प्रतिफर्म रु २० हजारका दरले जरिवाना गरेका छौँ” । 

पुनः अनुगमन गरी निर्देशन पालना गरे÷नगरेको ‘फलोअप’ पनि गर्नेछौँ”, उनले भने । अनुगमनका क्रममा नेपालमा अनुमति प्राप्त ग्यासका सिलिन्डरहरु तोकिएको तौलबमोजिम नै भेटिएको पौडेलले बताए । “अधिकांश ग्यास पसलले तौल गर्ने तराजु नराखेको पाइएकाले राख्न निर्देशन दिएका छौँ’’ उनले भने। 

नेपालमा अनुमति नभएका साना ग्यास सिलिन्डरको प्रयोग गर्नु जोखिमपूर्ण हुने पौडेलले बताए । उपभोक्ताले पनि साना ग्यास सिलिन्डरको प्रयोग गरी जोखिम लिनु उचित होइन”, उनले भने । 
    
भारतले अघोषित नाकाबन्दी लगाएका बेला बजारमा साना ग्यासका सिलिन्डर अवैध रुपमा भित्रिएका थिए । नेपालमा ग्यासको अभाव भएपछि त्यतिबेला उपभोक्ताहरुले भारतीय बजारमै पुगेर पनि साना सिलिन्डर खरिद गरी ल्याएका थिए । अभावका कारण नियामक निकायले समेत नेपालगञ्ज बजारमा अवैध सिलिन्डर बिक्रीमा चासो देखाएको थिएन । साना सिलिन्डरहरु उपभोक्ताले खाना पकाउन र बत्ती बाल्नका लागि प्रयोग गर्दै आएका छन् ।

साना सिलिन्डरमा ग्यास भर्ने व्यवस्था नेपालमा छैन । व्यवसायीहरुले अवैध रुपमा ठूलो सिलिन्डरबाट सानो सिलिन्डरमा ग्यास भर्दै आएका छन् । ठूलो सिलिन्डरबाट सानोमा ग्यास भर्दा दुर्घटनाको जोखिमसमेत रहने गर्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया