दोलखा महोत्सव फागुन २१ देखि

४ बर्ष अगाडि

नेपाल  भ्रमण वर्ष २०२० लाई लक्ष्य गर्दै दोलखा महोत्सव आयोजना हुने भएको छ ।  जिल्लामा उत्पादन भएका वस्तुको प्रदर्शनका लागि निःशुल्क व्यापारिक कक्षको व्यवस्था गर्दै पहिलोपटक दोलखा उद्योग वाणिज्य सङ्घले यही फागुन २१ गतेदेखि ३० सम्म महोत्सव गर्ने भएको हो ।
 
जिल्लालाई  आर्थिक, सामाजिक, शैक्षिक र सांस्कृतिकरूपमा मजबुत बनाउने उद्देश्यका साथ महोत्सव गर्न लागेको सङ्घले जनाएको छ । महोत्सवमा १५० वढी बिक्रीकक्ष राखिनेछन् । पचास हजारभन्दा बढीले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवमा लगानी सम्मेलनसमेत हुनेछ । 

दोलखा जिल्लामा बढीभन्दा बढी लगानीकर्ता ल्याई रोजगारी सिर्जना गर्ने उद्देश्यले महोत्सवमा लगानी सम्मेलनसमेत गर्न लागेकोसङ्घका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले बताए । यसका लागि जिल्लाका मेघा परियोजना पहिचान गरी लगानीकर्तासमक्ष प्रस्ताव गरिने अध्यक्ष श्रेष्ठले बताए । 

सूचना प्रविधिको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, जलविद्युत् आयोजनाबारे छलफल, हेलिकोप्टरमार्फत दृष्यावलोकन, लाखेनाच प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी, दोलखा फोटो प्रदर्शनीजस्ता आकर्षण रहने सङ्घका महासचिव हेमराज रिमालले बताए । 

महोत्सवको अवसर पारेर दोलखामा रहेको होटलले विशेष छुट प्याकेजसमेत ल्याउने उनले जानकारी दिए । दोलखा सदरमुकाम चरिकोटस्थित टुँडिखेल मैदानमा हुने महोत्वसमा रु एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । रिमालले जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा प्रभाव पार्ने भएकाले महोत्सवलाई सफल बनाउन सबैले सकारात्मक भूमिका निर्वाह गर्न अनुरोध गरे । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया