क्यान इन्फोटेकमा सूचना प्रविधि सङ्ग्रहालय : पुरानो र नयाँ प्रविधि एकै ठाउँमा

४ बर्ष अगाडि

कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासङ्घ कास्की शाखाद्वारा आयोजित क्यान इन्फोटेकमा राखिएको सूचना प्रविधि सङ्ग्रहालयको कक्ष पुराना र नयाँ पुस्ताका लागि आकर्षक बनेको छ ।  

विशेषगरी नेपालमा प्रविधिको विकास कहिले भयो र कुन–कुन समयमा यसको विकास हुँदै गयो भन्ने जानकारीसहित राखिएका पुराना प्रविधिले अवलोकनकर्ताको ध्यानाकर्षण गराएको हो । 
 
सङ्ग्रहालयका संयोजक एवं क्यान सदस्य पुरुषोत्तम कुँवरले पुराना र नयाँपुस्ता दुवैले उत्तिकै रुचिपूर्वक मेला अवलोकन गरेको बताए । उनले भने, “यो सबैका लागि उत्तिकै रुचिकर बनेको छ, पाको उमेर समूहकाले आफ्नो जमानामा प्रयोग गरेको भनेर बडो रुचिसाथ अवलोकन गर्नुभएको छ भने नयाँ पुस्ताले पहिला–पहिला त यस्तो पो हुनेरहेछ भनेर जानकारी लिएका छन ।” अवलोकनकर्ता सबैले उत्तिकै चासो दिएको उनको भनाइ छ । 

सङ्ग्रहालयको कक्षमा विसं २०१८ देखि विकास भएको प्रविधिदेखि २०७६ सम्म नेपालमा भित्रिएका प्रविधिका बारेमा समेत जानकारी उल्लेख गरिएको छ । 

प्रविधि सङ्ग्रहालयको टाइपराइटर नियालिरहेका कक्षा १० का विद्यार्थी रोशन थापाले पुरानो प्रविधिको बारेमा जानकारी लिन पाएको बताए । “मलाई नयाँ–नयाँ प्रविधिको बारेमा मात्र थाहा थियो तर यो पुरानो टाइपराइटर ओभरहेड प्रोजेक्टर हेर्दा अचम्म लाग्यो, यसबारेमा जानकारी लिन पाएँ ।”
 
क्यान सदस्य कुँवरका अनुसार इन्फोटेकमा १०० कक्षमध्ये दुई कक्षमा पुरानो सूचना प्रविधिको सङ्ग्रहालयको रूपमा राखिएको छ । बाँकी ९८ कक्षमा नयाँ प्रविधि रहेका छन् । सङ्ग्रहालयमा ३० वर्ष पुराना प्रविधि टाइपराइटर मेसिन, कम्प्युटर पेन्टियम टु, पुराना केवल हार्डवेयर डिभाइस, प्रोसेसर, ४० वर्ष पुराना क्यामेरा, ओभरहेड प्रोजेक्टर, टेपरेकर्डरलाई राखिएको छ । 

पोखरा इञ्जिनीयरिङ कलेजका विद्यार्थीले पनि ह्याकिङसम्बन्धी जानकारी दिन कक्ष राखेका छन् । ह्याकिङका बारेमा धेरै अवलोकनकर्ताले चासो राखेको कलेजका विद्यार्थी निश्चल पौडेलले बताए । 

उनले भने, “अहिले इन्टरनेटबाट आफ्नो डाटा कसरी सुरक्षित राख्ने भन्ने चुनौती बढिरहेको छ । हामीले यसबाट सुरक्षित रहन सकिने उपायका बारेमा जानकारी दिएका छौँ, धेरैले उपयोगी मान्नुभएको छ ।” पौडेलले मोबाइलका एपको प्रयोग गर्दा, लिङ्क ओपन गर्दा र वेबसाइटमा सेक्युर छैन भनिएका लिङ्कमा खोल्दा, फ्रि वाइफाइ प्रयोग गर्दा ह्याक हुनसक्ने बारेमा जानकारी दिएको बताए ।

 पौडेलले मेला परिसरमा इन्टरनेटले राम्रो काम नगर्दा आफूहरुले त्यसबारे बृहत् जानकारी दिन अलि कठिन भइरहेको गुनासोसमेत गरे । 

इन्फोटेक अवलोकन गर्न आउनुभएका शिक्षक कमल पौडेलले आफ्नो डाटालाई कसरी सुरक्षित राख्ने भन्नेबारेमा जानकारी लिएको बताए । उनले भने, “आफ्नो एकाउन्ट ह्याक हुनसक्ने सम्भावना र त्यसबाट सुरक्षित रहन अपनाउनुपर्ने विधिका बारेमा राम्रोसँग जानकारी लिन पाएँ, इन्टरनेट चलाउने सबैले ह्याकिङका बारेमा जान्नैपर्ने रहेछ ।” 

क्यानका अध्यक्ष रुक्मागत भण्डारीले कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी भएका अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिँदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पु¥याउने लक्ष्यका साथ इन्फोटेक आयोजना गरिएको जानकारी दिए । 

उनले इन्फोटेकमा बृहत् सूचना प्रविधि प्रदर्शनी, मेला अवधिभर आइसिटी कन्फरेन्स, प्रदेश तथा जिल्लास्तरका टाइपिङ प्रतियोगिता, आइसिटी वक्तृत्वकला प्रतियोगिता, विद्यालयस्तरीय जिल्ला तथा प्रदेशस्तरीय आइटी क्विज प्रतियोगिता भइरहेको बताए । 

क्यानका पूर्वअध्यक्ष चण्डीप्रसाद अर्यालले इन्फोटेक व्यावसायिकरूपमा मात्र नभएर प्रविधिका बारेमा समेत सबैलाई जानकारी दिने उद्देश्य रहेको  बताए । उनले ११औँ संस्करणसम्म आइपुग्दा निकै राम्रो प्रतिक्रिया पाएको र तेस्रो दिनसम्म आइपुग्दा करिब २५ हजारले मेला अवलोकन गरेको जानकारी दिए ।

इन्फोटेक मेलामा आइसिटी रोजगारी फारम वितरण तथा तालिमको व्यवस्था, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी, रोबोट प्रदर्शनी एवं प्रतियोगिता तथा अन्य आइसिटीसँग सम्बन्धित नवीनतम गतिविधि प्रदर्शनी, मोबाइल गेमिङ, भर्चुअल रियालिटी, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नवीनतम प्रविधिका मोबाइलको प्रदर्शनी एवं बिक्री वितरण भइरहेको सचिव सेवक क्षितिजले जानकारी दिए।
 

४ बर्ष अगाडि

प्रतिक्रिया