टिप्पणीः बढ्दो शेयर बजारमा नयाँ लगानीकर्ता फस्ने सम्भावना

४ बर्ष अगाडि

काठमाडौं – नेपाली शेयर बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज (नेप्से) पछिल्लो समय उच्च मात्रामा बढदै गएको छ । केही महिना अघि ११०० विन्दुको हारहारीमा रहेको नेप्से परिसचुक अहिले १६ सय नजिक पुग्न थालेको छ ।
सन् २०१६ सेप्टेम्बरमा १८०० भन्दा माथिल्लो विन्दुमा पुगेको नेपाली शेयर बजार पछि ११०० विन्दुमा झर्यो । लामो समयसम्म नेप्से सोही विन्दुमा घुमीरह्यो । तर, अहिले नेप्से करेक्सन हुँदै दैनिक दोहोरो अंकका दरले बढेको छ भने कारोबार पनि उच्च मात्रामा हुदै आएको छ । नेप्से कारोबारले त यो हप्ता नयाँ इतिहास नै कायम गरेको छ ।
यसरी अहिले नेप्से बुलिश ट्रेन्डमा अगाडि बढेको छ । विशेषगरि अर्थमन्त्री डा. युवराज खतिवडा अर्थमन्त्रीबाट हट्ने हल्लाले यस्तो अवस्था आएको बताइन्छ । तर, त्यसले कम्पनी तथा नेप्से परिसुचकमा परिवर्तन भने ल्याउदैन । 
यद्यपि, पुँजी बजार सम्बन्धी सुधारका काम पनि नभएका होइनन् । पुँजी बजार सुधारका लागि नीतिगत परिमार्जन गर्ने काम भएका छन् । संघीय संसद्को अर्थ समितिले पनि यस बिषयमा काम गरिरहेको छ । नेप्सेमा अनलाइन ट्रेडिङको व्यवस्थासँगै मार्जिन कारोबार, स्टक डिलर लगायतका लगानीकर्ताको माग पनि पुरा भएको अवस्था छ । यी यस्ता कारणले पनि बजार बढेको हुन सक्ने बताइन्छ ।  
पहिला बैंकहरूमा तरलताको अभाव थियो ।  बैंकहरले व्याजदर बढाएर तरलता बढाउने काम पनि गरे । यस बीचमा बैंकहरूले मुद्दतीमा १३ प्रतिशतसम्म व्याज दिने घोषणा गरे । फलस्वरुप लगानीकर्ताहरू शेयर बजार भन्दा पनि मुद्दतीमा पैसा जम्मा गर्न थाले । यी यस्ता कारणले शेयर बजार घटेको थियो ।
तर, अहिले बैंकसँग तरलता छ । साथै, बचतमा व्याज कम दिएका छन् । यस अवस्थामा बैंकबाट कर्जा लिएर बजारमा नयाँ लगानीकर्ता छिरेको अनुमान पनि गरिएको छ । जसअनुसार अहिले बजारमा अल्कालिन र दिर्घकालिन लगानीकर्ताहरू सक्रिय छन् । यी यस्ता कारणले  पनि अहिले बजार बढ्द मद्दत पुगेको बताइन्छ ।
तर, बढ्दो बजारमा नयाँ लगानीकर्ता भने सचेत हुनुपर्ने देखिन्छ । केही ठुला लगानीकर्ताले अनावश्यक हल्ला चलाएर बजार बढाउन मद्दत पुग्ने र पछि घटाएर नाफा कमाउने गरेको पनि कुराहरु सुन्ने गरिन्छ । 
यदि, बजार ओरालो लाग्ने हो भने नयाँ लगानीकर्ताहरु फस्ने सम्भावना पनि उत्तिकै हुने देखिन्छ । किनकी बजार निन्तरत बढ्छ भन्ने हुदैन । साथै, शेयर बजारबाट सबैले कमाएका पनि छैनन् । बिगतमा शेयर बजार १८०० को विन्दुमा ऋण लिएर धेरै नयाँ लगानीकर्ता बजारमा आए । उनीहरुले आफुले बहन गर्न सक्ने भन्दा पनि बढी ऋण लिएर बजामा लगानी गरे । तर, त्यो विन्दु लामो समयसम्म टिक्न सकेन । अन्ततः नयाँ लगानीहरु ऋणको भारी बोक्न बाध्य भए । कतिपयले आत्महत्या समेत गरेको उदाहरण नेपाल तथा विदेशी मुलुकमा पनि पाइन्छ । 
यसरी, ऋण लिएर लगानी गर्ने लगानीकर्ताहरु बजार बढ्दा÷घट्दा समस्यामा पर्न सक्छन् । साथै, अहिले शेयर बजार बढ्नुलाई अस्वभाविक पनि ठानिएको  छ । तसर्थ, नयाँ लगानीकर्ताले बुलिश प्रवृतिको शेयर बजारमा एकदम चनाखो भएर लगानी गर्नुपर्ने देखिन्छ । नत्र, बियरिस ट्रेन्डमा शेयर बजार गयो भने उनीहरु फस्ने सम्भावना हुन्छ । साथै सम्बन्धीत निकायले पनि पनि जोखिम विश्लेषण गरेर लगानी गर्न सचेत गराउनुपर्ने देखिन्छ । तर, सम्बन्धीत निकाय भने बुलिश ट्रेन्डको बजारमा मौन भएर बसेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया