अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

४ बर्ष अगाडि

सर्लाहीको पुर्व–पश्चिम हुलाकी सडकको निर्माण विगत लामो समयदेखि अलपत्र अवस्थामा छाडिएको भन्दै सर्लाहीका सरोकारवालाले तत्काल अघि बढाउन माग गरेका छन् ।

जिल्लाका सर्वपक्षीय संयन्त्रको बैठकले जिल्लाको पूर्वी सिमाना सङ्ग्रामपुरदेखि पश्चिम सिमाना बलरासम्मको हुलाकी सडकको निर्माण कार्य यथाशीघ्र सञ्चालन गर्न माग गरेका हुन् ।

 फागुपूर्णिमासम्म पनि सडक निर्माणको काम अघि नबढाए चरणबद्ध आन्दोलनमा उत्रने सरोकारवालाले घोषणा गरेका छन् । 

तत्काल सडक निर्माणको काम अघि बढाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ज्ञापनपत्र बुझाइ ध्यानाकर्षण गराइएको प्रदेशसभा सदस्य अशोक यादवले बताए ।

आफूहरुको माग सुनुवाइ नभए आन्दोलनको कार्यक्रम अघि बढाउन सांसद, स्थानीय तहका प्रमुख, नागरिक अगुवालगायत सम्मेलित सङ्घर्ष समितिसमेत गठन गरिएको यादवले बताए ।

जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीको अध्यक्षता एवं सर्लाही क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेन्द्रराय यादवको प्रमुख आतिथ्यतामा हुलाकी सडकबारे छलफल गर्न सर्वपक्षीय बैठक बसेको हो । 
सर्वपक्षीय बैठकमा जिल्लाबाट निर्वाचित जनप्रतिनिधि तथा प्रदेशसभा सदस्य, पूर्वपश्चिम तथा भित्री हुलाकी सडकमा पर्ने विभिन्न स्थानीय निकायका प्रमुख, सडक कार्यालय जनकपुर र चन्द्रनिगाहपुर रौतहटका प्रतिनिधिको बीचमा छलफल भएको हो ।

सदरमुकाम मलङ्गवा हुँदै भारतीय सीमासँगै जोडिने जिल्लाको पूर्व–पश्चिम हुलाकी सडक लामो समयदेखि जीर्ण अवस्थामा रहँदा नागरिकले वर्षायाममा हिलो र हिउँदमा धुलोको मार खेपी रहनुपरेको छ ।

 सर्लाही खण्डको हुलाकी सडक निर्माणको काम तत्काल अघि बढाउने व्यवस्था मिलाई दिन आफूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग आग्रह गरेको सर्लाही क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रमोद साहले बताए । 

आफूले हुलाकी सडकको अवस्थाबारे निरन्तररुपमा मन्त्री नेम्वाङ र मन्त्रालयका जिम्मेवार कर्मचारीलाई ध्यानाकर्षण गराइरहेको सांसद साहको भनाइ छ ।

रिफ्रेस सेन्टर निर्माण
पूर्व पश्चिम लोकमार्र्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–६ मा रिफ्रेस सेन्टर राखिएको छ । प्रधानमन्त्री स्वारोजगार कार्यक्रमको आर्थिक सहयोगमा लालबन्दी नगरपालिका–६ का वडाध्यक्ष उज्जवलकुमार कार्कीको विशेष पहलमा रिफ्रेस सेन्टरमा राखिएको हो ।

लामो दूरीका सवारीसाधन, चालक र यात्रुका लागि आराम गर्न सहज होस् भन्नका लागि रिफ्रेस सेन्टर राखिएको वडा अध्यक्ष कार्कीले बताए । सेन्टरमा निःशुल्क इन्टरनेट सेवासमेत शुरु गरिएको छ । 

केन्द्र सरकारले सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सेवा शुरु गर्ने लक्ष्य अघि सारेपछि लालबन्दी नगरपालिका–६ ले आफ्नो वडाभित्रका विभिन्न चार सार्वजनिक स्थानमा  निःशुल्क इन्टरनेट सेवा शुरु गरेको हो । 

वडा कार्यालयले पूर्व पश्चिम राजमार्गअन्तर्गत जनवादी चोक, शिवमन्दिर, लेकाली चौर र राधाकृष्ण खेल मैदानमा निःशुल्क इन्टरनेट सेवा शुरु गरेको हो । 

बेरोजगार युवा फुर्सदिला हुँदा विभिन्न अनैतिक क्रियाकलापमा लाग्ने भएका कारण निःशुल्क इन्टरनेट सेवाबाट अमानवीय तथा अनैतिक क्रियाकलाप घट्ने उद्देश्यका साथ निःशुल्क इन्टरनेट सेवा शुरु गरिएको वडा नम्बर ६ का वडाध्यक्ष कार्कीले बताए । 

आजको युग सूचना र प्रविधिको युग भएका कारण पनि युग अनुकूल सुहाउँदो प्रविधिको प्रयोग गर्न सकेमात्र व्यक्ति समाज र राष्ट्रको विकास हुने भएकाले पनि प्रविधिको प्रयोगमा युवा तथा नगरवासीलाई सहजताका लागि निःशुल्क इन्टरनेट सेवा शुरु गरिएको अध्यक्ष कार्कीले बताए । 

रिफ्रेस सेन्टरमा सुविधा सम्पन्न शौचालय र शुद्ध पिउने पानीको समेत व्यावस्था गरिएको छ ।

रिफ्रेस सेन्टरमा आराम गर्दालगायत गाडी कुरेर बस्दाको पट्यार लाग्दो समयमा निःशुल्क इन्टरनेट सेवाको प्रयोगले केही राहत महसुस हुने भएका कारण पनि चोकमा र रिफ्रेस सेन्टरलाई पहिलो प्राथमिकता दिएर निःशुल्क इन्टरनेट सेवा  जडान गरिएको उनले बताए ।

सुविसु कम्पनीको इन्टरनेट वडा कार्यालयको पहलमा कूल रु ६० हजार लागतमा २४ सैँ घण्टा चलाउन मिल्ने ३० एमविपिएस क्षमता भएको अनलिमिटेड निःशुल्क इन्टरनेट सेवा  शुरु गरिएको हो । 

जिल्लाका केही स्थानमा निःशुल्क इन्टरनेट सेवा शुरु गरिएको भए पनि ती स्थानबाट गुणस्तरीय सेवा प्रवाह हुन नसकेको गुनासो आइरहेको छ । यद्यपि निःशुल्क इन्टरनेट सेवाबाट स्थानीय लाभान्वित हुनेछन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया