प्युठानमा जनता आवास कार्यक्रम : ११० घर निर्माण हुने

४ बर्ष अगाडि

प्रदेश नं ५ सरकारले प्युठानमा जनता आवास कार्यक्रम सञ्चालन गर्दैछ । कार्यक्रममार्फत जिल्लाका विपन्न वर्गका लागि विभिन्न बस्तीमा ११० घर निर्माण हुने भएका छन् । 

आर्थिक वर्ष ०७६÷०७७ का लागि  जिल्लाको क्षेत्र नं। १ मा ५५ र क्षेत्र नं २ मा  ५५ घर निर्माण हुन् लागेको प्युठान क्षेत्र नं १ का प्रदेशसभा सदस्य  हरिप्रसाद रिजालले जानकारी दिएका छन ।

दलित, जनजाति, विपन्न र पिछडियाका वर्गको लागि जनता आवास कार्यक्रममार्फत घर निर्माण हुने उनले बताए । 

प्रतिघर तीन लाख ३० हजार बजेट 

प्रतिघर निर्माणका लागि प्रदेश सरकारले रु तीन लाख ३० हजारका दरले बजेट छुट्याएको छ । उक्त घरको लागि २० प्रतिशत स्वयं व्यक्तिको श्रमदान रहने छ । 

नयाँ बन्ने घरमा दुई कोठा ब्रण्डासहित शौचालयसमेत हुने रिजालले बताए ।  विपन्न परिवारको व्यक्तिगत जग्गा भएकाको उनीकै जग्गामा र नभएकाको पालिकास्तरबाट त्यसको व्यवस्थापन गर्न सकिने रिजालले बताए । 

जनता आवासमार्फत अब बन्ने घर चालु आर्थिक वर्षको असारसम्म निर्माण हुनुपर्नेछ । चालु आवमै विपन्न परिवारलाई हस्तान्तरण गरिने प्रदेशसभा सदस्य रिजालले बताए । 

पालिकाको निर्णय र प्राविधिकले अनुगमन गरेपछि घर निर्माणको कार्य शुरुआत हुनेछ । 

सदस्य रिजालले आगामी दिनमा भएगरेका कामको कमीकमजोरी औँल्याउँदै अझ जिल्लामा प्रभावकारी कार्यक्रम ल्याउने योजना भएको बताए ।

 जिल्लामा कुन कुन ठाउँका विपन्न परिवारलाई घर बनाइदिने निर्णयसहित प्रदेश सरकारसँग माग गरेको उनको भनाइ छ ।

जिल्लाका यी क्षेत्रमा निर्माण हँदै घर 

प्युठान क्षेत्र नं १ अन्तर्गत प्युठान नगरपालिका–३  विजयनगरमा दलित बस्तीमा  ११, स्वर्गद्वारी नगरपालिका–८ चाल्नेटारमा १२, ऐरावती गाउँपालिका–१ दाङवाङको खल्नेटामा १४,  सरुमारानी गाउँपालिका–१, २, ३ र ४ मा पनि १८ वटा नयाँ घर निर्माण हुने भएका छन् । 

यसैगरी क्षेत्र नं। २ अन्तर्गत गौमुखी गाउँपालिका–४ पुँजामा १५, गौमुखी गाउँपालिका–६ लिवाङमा सात, झिमरुक गाउँपालिका–७ मा १५, प्युठान नगरपालिका–८ मा १३ घर निर्माण गरिने प्रदेशसभा सदस्य रिजालले बताए ।

 यस्तै प्युठान नगरपालिका–७ मा पनि पाँच वटा लक्षित वर्गका लागि नयाँ घर निर्माण हुने उनको भनाइ छ । 
अघिल्लो वर्ष २६ घर लक्षित वर्गलाई हस्तान्तरण

गत वर्ष प्रदेश सरकारको बजेटमार्फत जिल्लामा २६ नयाँ घर निर्माण भएका थिए । 

निर्माण गरिएका घर लक्षित वर्गलाई हस्तान्तरण गरिसकेको प्रदेशसभा सदस्य रिजालले जानकारी दिए । गत वर्ष जिल्लाको सरुमारानी गाउँपालिकाअन्तर्गतका बस्तीमा १८ र नौवहिनी गाउँपालिका– ५ मा आठ घर निर्माण भएका थिए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया