पर्सामा होटल व्यवसायप्रति आकर्षण बढ्दो

४ बर्ष अगाडि

पर्यटकको आगमन यहाँ दिन प्रतिदिन वृद्धि हुन थालेपछि पछिल्लो समय होटल सञ्चालनप्रति व्यवसायीको आकर्षण पनि बढ्न थालेको छ ।

 छोटो समयमा राम्रो आम्दानी गर्न सकिने सम्भावना देखेर यहाँका व्यवसायी सो व्यवसायमा आकर्षित हुन थालेको होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साले जनाएको छ ।

औद्योगिक क्षेत्रको विकाससँगै होटल व्यवसाय पनि फस्टाउँदै गएकाले यसप्रति व्यवसायीको लगानी बढ्दै गएको छ,सङ्घ पर्साका अध्यक्ष हरिपन्तले  भने, “तर लगानी बढे पनि सङ्घीय तथा प्रदेश सरकारबाट यस क्षेत्रमा रहेको पर्यटकीयस्थलको विकासमा ठोस नीति नल्याउँदा कताकता होटलप्रतिको लगानी जोखिममा पर्न थालेको देखिन्छ ।”
यहाँका बजार क्षेत्रमा ठूलासाना गरी करिब ५० होटल रहेका छन् ।

 ती होटलमा करिब रु पाँच अर्ब लगानी रहेको जनाइएको छ । त्यसमा एक हजारभन्दा बढी कामदार प्रत्यक्ष रोजगारीमा रहेका छन् ।ठूला होटलमध्ये यहाँ रहेका होटल भिस्वा र होटल सुरजले पर्यटकलाई तान्न क्यासिनो सेवा सञ्चालनमा ल्याएको छ । 

होटल लर्ड दियालोले पनि निकट भविष्यमा क्यासिनो सेवा सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ ।

आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका गर्न ठोस कार्यक्रम नभए पनि यहाँका होटलहरुमा ५० भारतीय, ४० आन्तरिक तथा १० प्रतिशत विदेशी पर्यटक आउने गरेको देखिन्छ ।

यहाँ रहेका धार्मिकस्थलहरुको प्रचारप्रसारको अभाव र यातायातको सहज पहुँच नहुनुले विदेशी तथा तेस्रो मुलुकबाट आउने पर्यटकमा देखिएको कमीले होटल व्यवसायमा गरेको लगानी जोखिममा पर्न थालेको व्यवसायीको गुनासो गर्दछन् । 

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी यहाँ ठूल्ठूला होटलहरुमा लगानी बढे पनि नेपाल भ्रमण वर्ष २०२० ले यस क्षेत्रको धार्मिक, ऐतिहासिक तथा प्राचीन सम्पदाको प्रचारप्रसार हुन नसकेको गुनासो गर्दै आदर्शनगरस्थित होटल लर्ड दियालोका सञ्चालक अनिल रुङ्गटाले भने, “विश्वको अधिकांश देशमा फैलिएको कोरोना भाइरसको सन्त्रासले हवाई मार्गबाट आउने तेस्रो मुलुकका पर्यटकहरुको आगमनमा कमी आएकाले होटल व्यवसाय प्रभावित भएको छ ।”

विभिन्न धर्म, संस्कृति, वेशभूषा रहेको यहाँ विर्तामाई मन्दिर, पारसनाथ मन्दिर, बौद्ध भिस्वा चैत्य, दुग्देश्वर महादेव , पिपरामठ तथा कट्टिमठ रहेका छन् । 

यसैगरी गहवामाई, महावीर, वनशक्ति, अलखियामठ, गीता, बिन्ध्यवासिनी, कोइलाभार, दुर्गा, छौइयादेवी तथा आमादेवी मन्दिरलगायत धार्मिकस्थलहरु रहे पनि यसको प्रचारप्रसार हुन सकेको छैन । 

विगत केही वर्षयता यहाँ स्तरीय तथा तारे होटलहरु निर्माण भएको र सुविधासम्पन्न होटल अहिले पनि निर्माणाधीन अवस्थामा छन् । 

यहाँ रहेका धार्मिक तथा पर्यटकीयस्थलहरुको प्रचारप्रसार हुन नसकेको, पर्यटकहरुको राति बास बस्ने वातावरण नभएको, पर्याप्त मात्रामा पर्यटकहरु आउन नसक्नु जस्ता कारणले होटल व्यवसाय सोचेजस्तो फस्टाउन नसकेको उद्योगपति तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष प्रदीप केडियाले बताए ।

होटल व्यवसायमा लगानी गर्ने व्यवसायीहरु धेरै भए पनि उनीहरुबीच व्यापारिक प्रतिस्पर्धा भएकाले पर्यटकहरु सस्तो तथा स्तरीय सेवा लिन थालेका छन् । 

आर्थिक उन्नतिको सबभन्दा ठूलो मेरुदण्ड होटल व्यवसाय भएकाले तिनै तहका सरकारले यहाँको धार्मिकस्थलको प्रचारप्रसार, भारतसँग जोडिने सडकमार्गको विस्तार, रेल सेवा विस्तार, धार्मिकस्थलसम्म सडक सञ्जालको विकास गर्नुपर्ने माग यस क्षेत्रका होटल व्यवसायीहरु रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया