खतिवडाले लगाए इन्धनमा चर्को कर, भट्टले मूल्य बढाउन दिएनन

४ बर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्यमा थप ५ रुपैंया पूर्वाधार कर लगाए पनि मूल्य भने नबढ्ने भएको छ । 

अर्थमन्त्रालयले इन्धनमा थप १० रुपैयाँ पूर्वाधार कर लगाउने प्रस्ताव गरेपनि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले इन्धनको मूल्य बढाउन रोकेका हुन् । 

मन्त्रीपरिषदको सोमबारको बैठकले पेट्रोल र डिजलमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर लगाउने निर्णय गरेको छ । 

यसअघि ५ रुपैयाँ पूर्वाधार विकास कर लिँदै आइएकोमा त्यसलाई बढाएर १० रुपैयाँ पुर्याइएको हो ।
पूर्वाधार कर थप हुने तर मूल्य नबढाउने भएपछि राम्रो नाफा कमाउँदै आएको नेपाल आयल निगमको नाफा अब ह्वात्तै घट्ने भएको छ । 

अहिले काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपैंया, डिजेल र मट्टितेलको ९७ रुपैंया छ । यो मूल्य अनुसार निगमले प्रतिलिटर ५ रुपैंया २४ पैसा, डिजेलमा ६ रुपैंया ६६ पैसा र मट्टितेलमा २५ रुपैंया ७४ पैसा, हवाई इन्धनमा १० रुपैंया ३ पैसा नाफा कमाउँदै आएको थियो । 

अब थप ५ रुपैयाँ कर लगाएपछि  पेट्रोलको नाफा २४ पैसामा सीमित हुनेछ भने डिजेलको नाफा ६६ पैसामा झर्नेछ । मट्टितेल र हवाई इन्धनमा नाफा राम्रै भए पनि त्यसको खपत निकै कममात्रै हुन्छ । 

कर बढेपनि मूल्य नबढाउने भएपछि निगम अब नाफा न घाटाको अबस्थामा रहने नेपाल नायव कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । निगम स्वचालित मूल्य प्रणालीमा गएकोले अन्तराष्ट्रिय बजार अनुसार मूल्य समायोजन हुने गरेको छ ।

‘हामी अहिले स्वचालित मूल्य प्रणालीमा छौं, त्यसैले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ भएसँगै हाम्रोमा पनि मूल्य घटबढ हुन्छ, तर सरकारले बढाएको करकै लागि हामी मूल्य बढाउँदैनौं,’ उनले भने ‘अब हामीसँग एकदमै कम नाफा हुन्छ । हामी लगभग ब्रेक इभेनमा हुन्छौं ।’ 

सरकारले यसअघि बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि संकलन भएको ५०औं अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । 

४ बर्ष अगाडि

प्रतिक्रिया