ग्लोबल आईएमई बैंकमा दुई गुटको विवाद उत्कर्षमा, ग्राहकलाई हैरानी

४ बर्ष अगाडि

देशको सबैभन्दा ठूलो बैंक बनेको ग्लोबल आईएमईमा कर्मचारीको चर्कंदो अन्तरबिरोधले समस्या उत्पन्न भएको छ ।   

गाभिएका दुई ठूला बैंकका कर्मचारीको राम्रो समन्वय नहुँदा बैंकको दैनिक काम अस्तव्यवस्त हुनुका साथै सेवा प्रवाहमा समेत समस्या उत्पन्न भएको हो । 

व्यवस्थापनले गाभिएका ग्लोबल आईएमई र र जनताका कर्मचारीलाई उचित जिम्मेवारीका साथ व्यवस्थापन नगरेको भन्दै बैंकमै गुटबन्दी गरेका छन् । 

बैंकको केन्द्रीय कार्यालयमै कतिपयको अहिलेसम्म कार्यकक्षको समेत टुंगो नलागेको कर्मचारीहरु बताउँछन् ।

‘केन्द्रीय कार्यालयभित्र विभिन्न विभागमा पुराना जुन बैंकबाट आएकाले नेतृत्व लिएका छन उसले नै प्रभुत्व जमाउन खोज्ने र अर्कोलाई उपेक्षा गर्नेकाम अति नै छ’, एक उच्च तहका कर्मचारीले भने ‘कतिपय विभागका साथीहरु आफ्नो कार्यकक्ष खोज्न फूटवलजस्तै एउटा भवनबाट अर्को भवनमा चहार्दा हैरान छन् ।’

केन्द्रमा मात्र होइन शाखाहरुमा पनि दुई बैंकका कर्मचारी मिल्न नसक्दा सेवाग्राहीले समस्या भोग्नु परेको छ । ‘एक बैंकबाट आएका कर्मचारीले अर्को बैंकबाट आएकासँग राम्रो संग समन्वय नै गर्ने अबस्था छैन, मातहतका साथीलाई पनि म पनि शाखा चलाएर आएको भन्ने घमण्ड छ’, बैंकका एक शाखा प्रवन्धक भन्छन् ‘दुई भिन्न संस्थाबाट आएकाहरुमा यो समस्या हुनु स्वभाविक हो तर व्यवस्थापनले समयमै उचित कारण सहित जिम्मेवारी व्यवस्थापन गर्नुपर्ने देखिन्छ।’ 

घमण्डका कारण तल्लो तहले नटेर्ने र समयमै सेवा प्रवाह नहुँदा सेवाग्राहीले समस्या भोग्नुपरेको उनी बताउँछन् । 

बैंक सञ्चालक समिति र व्यवस्थापनले समयमै समस्या समाधानको लागि पहल नगरेमा सबैभन्दा ठूलो बैंकमा सबैभन्दा ठूलै समस्या उत्पन्न हुने कर्मचारीहरु बताउँछन् ।

विवाद बढ्दै जाँदा बैंकका ग्राहकले दिनप्रतिदिन समस्या भोग्दै जानुपर्ने पनि उनीहरु बताउँछन् । ‘हामी आफू सन्तुष्ट हुँदा सेवा प्रवाह पनि सहज हुन्छ तर एकजनाले हेप्ने, अर्कोले नटेर्ने, गुट बनाउने गरेपछि काम गर्ने जाँगर पनि मर्छ’, ति कर्मचारी भन्छन् ‘त्यसले ग्राहकलाई दिने सेवामा स्वतः समस्या उत्पन्न हुन्छ ।’ 

कर्मचारीको विवादले सेवामा ढिलाई हुनुका साथै सबैभन्दा धेरै समस्या कर्जा लिनेहरुलाई भएको छ ।

पुरानो ग्लोबलका कर्मचारीले कर्जाको लागि प्रस्ताव गरे ग्लोवलका कर्मचारीले स्वीकृति नदिने र ग्लोवलका कर्मचारीले प्रस्ताव गरे जनताकहरुले स्वीकृति नदिने समस्या छ । जसका कारण महिनौंसम्म कर्जा लिन गाह्रो भएको सेवाग्राहीको गुनासो छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया