फागुनसम्म कान्ति लोकपथको काम सक्न निर्देशन

४ बर्ष अगाडि

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कान्ति लोकपथमा भौगर्भिकलगायत अध्ययन गरी आगामी वर्षको फागुनसम्ममा काम सक्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।      
     
वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलको नेतृत्वमा मन्त्रालय पुगेका सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसँग कुरा गर्दे उनले निर्माण व्यवसायीलाई काम छिटो गर्न पत्र काटी काम नगर्नेलाई कालोसूचीमा राख्न सिफारिस गर्न समेत उनले निर्देशन दिए । 

विसं २०१२ देखि शुरु भएर पटक–पटक रोकिँदै आएको लोकपथका समस्या समाधान गर्नुपर्ने माग गर्न फुयाँल सहितको टोली मन्त्रालय पुगेको थियो ।      
     
“भौगर्भिक रुपमा ठूलो समस्या भएका स्थानमा एलाइनमेन्ट परिवर्तन गर्न सकिन्छ, आइपरेका समस्या समाधान गरेर काम अघि बढाउनुस्, तालिका अनुसार आयोजनाले काम गर्नु प¥यो, अब तोकिएको समयमा काम सक्नुपर्छ”–उनले भने । 

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री फुयाँलले स्थलगत अनुगमनका क्रममा लोकपथको ७९ किमीमध्ये करिब चार किमीमा भौगोलिक अवस्थाका कारण अप्ठ्यारो देखिएको बताए ।      

“सडकमा पहिरो लागेको स्थानमा जोगाउन अर्को आयोजना शुरु गर्नुपर्ने अवस्था देखियो, सडकको भौगर्भिक अध्ययन पनि गरिनुपर्छ, आयोजनाका लागि आगामी आर्थिक वर्षका लागि थप बजेटको व्यवस्था होस्”, उनले भने । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले अहिले कान्ति लोकपथ काठमाडौँलाई हेटौँडासम्म जोड्ने वैकल्पिक सडकका रुपमा प्रयोग गर्न नसकिने बताए । 

आयोजना कार्यालयका प्रमुख गनेन्द्र झाले लोकमार्गमा अहिले कतै पनि ठेक्का तोड्नुपर्ने गरी समस्या नभएको बताए । भालुखोलामा रहेको ढुङ्गाखानीका कारण लोकमार्गमा पहिराको जोखिम रहेको उनले बताए ।  “उद्योगका लागि बनाइएका पहुँच सडकका कारण पनि विभिन्न किसिमका समस्या आइरहेको छ ”, उनले भने ।     
     
वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले निर्माण शुरु भएको लामो समय भइसक्दासमेत सम्पन्न नभएकाले स्थानीयवासीले हैरानी बेहोरिरहेका बताए । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया