सडक ढलानपछि हरिचौरको मुख्यबजारको आकर्षण बढ्दो

चैत ५, २०७६ | आजको अर्थ
ajaako_artha

पुरानो बजार भएकाले सडक चौडा पार्ने काम नभएपछि बागलुङको गल्कोट नगरपालिका–५ हरिचौर बजारका अधिकांश सडकखण्ड ढलान गरिएको छ ।

 ढलानपछि अहिले हरिचौरको मुख्यबजार आकर्षक देखिएको छ । 

यसअघि हिलो र धुलोले सताउने बजारमा ढलानपछि आकर्षण बढेको वडाध्यक्ष नारायणध्वज मल्लले बताए । 

वडा कार्यालयले गत वर्षको रु ४० लाख खर्चेर बजार क्षेत्रमा ढलान गरेको हो ।

अझै यहाँको पृथ्वी मावि र वडा कार्यालयतर्फको सडकखण्ड बाँकी छ । उक्त खण्ड चालु आर्थिक वर्षमा ढलान गरिने उनले बताए । हाल विद्यालयको भवन पनि निर्माणाधीन छ । 

भवनको कारणले समेत बाटोमा ढुङ्गामाटो खसेको थियो ।

अब भने सरसफाइ गरेर ढलान गर्न सकिने अवस्थामा पुगिएको मल्लले बताए । 

वडा कार्यालयले ताराखोलातर्फ जानका लागि उपल्लो बजारको सडकलाई मुख्य सडक बनाउने निर्णय गरेको छ ।

 “पुरानो र ऐतिहासिक बजार भत्काउनभन्दा उपल्लो बजारबाट सडक लैजाँदा सहज हुने भयो”, मल्लले भने, “अहिले कालोपत्रसहितको योजना परेको छ, उक्त काम माथिल्लो बजारबाटै हुन्छ ।” खहरेखोलामा पक्की पुल बनाउने चुनौतीसमेत छ । 

तर अस्थायी पुलबाट भए पनि सडक सञ्चालन गर्न उपल्लो बाटो सहज हुने स्थानीयवासीको भनाइ छ । 

“विद्यालय नजिक भएको र विस्तार गर्ने ठाउँ पनि थिएन”, हरिचौरस्थित पृथ्वी माविका प्रअ बद्रीप्रसाद ढकालले भने, “साना गाडी हिँड्ने बाटो यहाँ पनि छ, लामो दूरीका र ठूलो गाडी हिँड्ने सडक मुख्य बजारभन्दा बाहिरबाट जाँदा संरचना जोगाउन सकियो ।” धेरै विद्यार्थी भएको र थोरै जमिनमा धेरै भवन बनाएर व्यवस्थापन गर्नु परेकाले सडक विस्तार गर्दा विद्यालयमा क्षति हुने सम्भावना टरेको उनले बताए ।

नगरपालिकाले हाल इलाका प्रहरी कार्यालय रहेको स्थानमा जग्गा किनेर सडक विस्तार तथा अन्य संरचना बनाउने तयारीसमेत गरेको छ । 

‘बजारक्षेत्र संरक्षण गर्ने र संरचना बनाउने काम गर्न खोजेका छौँ”, उनले भने, “ऐतिहासिक क्षेत्रलाई पहिचानसहितको विकास गर्न पनि खोजिएको छ ।” हरिचौरले सरसफाइको अब्बल वडा बनाउनसमेत काम गरेको उनले बताए ।
 
उपल्लो बजारबाट सडक लैजाँदा टेउवा जाने सडकका लागि पनि सहज हुने सामाजिक अगुवा पूर्णसिंह रानाले बताए । टेउवामा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला सम्पन्न भएको छ । उक्त स्थानमा जाने सडक हाल कच्ची छ ।

पक्की सडक निर्माणका लागि पनि यो सडकबाटै जोडिन्छ । हरेक टोलमा सडक लैजाने आवश्यकतालाई पनि यो सडकले जोडेको छ ।

सिमलबोटतर्फको गाउँलाई जोड्न पनि सहज भएको स्थानीय नरबहादुर थापाले बताए ।
 
सडक सफाइका लागि नाली बनाउने, फोहर सङ्कलनका लागि चोकचोकमा बाल्टिन राख्ने र घरघरमा फोहर व्यवस्थापनमा समेत लागिएकाले बनेका सबै सडक सफा बन्ने उनले बताए । 

डोजर लगाएपछि अलपत्र छाडेर पहिरो खस्ने गरी सडक नबन्ने उहाँले बताए ।
 
वडा नं ६ ले पनि हरिचौरमा मुख्य सडक नलाने योजनामा साथ दिएको छ ।

वडाले नगरपालिकाको कार्यालय रहेको स्थानबाटै राजाको पुल नतरीकन ताराखोला लैजाने सडक बनाएको हो । नगरपालिका र वडाको गरी झण्डै रु २० लाख रकम खर्चेपछि सडक पुगेको हो । 

यो सडकले ताराखोला जाने सवारीलाई हरिचौर बजार नगइकनै सोझै जाने बाटो खुलेको छ । 

यो सडकले वडा नं ६ को आन्तरिक सडक विस्तारमा पनि महत्वपूर्ण योगदान पुगेको वडाध्यक्ष नरबहादुर खत्रीले बताए । 

गण्डकी प्रदेश सरकारको रु ४० करोड लगानीमा हटियादेखि ताराखोलासम्म पुग्ने सडकको कालोपत्र गर्ने गरी काम भइरहेको छ । यो सडक बनिसकेपछि ताराखोलासम्म कालोपत्र सडकमा पुग्न सकिन्छ । 

पहिलो चरणमा भने १२ किमी सडक कालोपत्र हुने ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । 

आगामी वर्ष गाउँपालिका केन्द्रसम्मै कालोपत्र लैजाने गरी काम गरिने उहाँले बताए । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११९.४८१२०.०८
European Euro१३१.५६१३२.२२
UK Pound Sterling१४६.०११४६.७४
Swiss Franc१२४.२३१२४.८५
Australian Dollar७२.५३७२.९०
Canadian Dollar८४.८६८५.२९
Singapore Dollar८३.३५८३.७७