आम्दानीको स्रोत बन्दै मौरीघार

चैत ६, २०७६ | आजको अर्थ
ajaako_artha

छिमेकी जिल्ला तनहुँ र कास्कीसँग सिमाना जोडिएका मध्यनेपाल नगरपालिका– १० हाँडीखोलाका ४७ वर्षीय कालु दुरा बिहानदेखि झमक्क साँझ पर्दासम्म घर वरिपरि नै लुटुपुटु गरिरहन्छन् । गाउँ छाडेर टाढा जाने फुर्सद त उनीलाई हुँदैन नै केही दिनसम्म त गाउँघरमा घुम्नसमेत फुर्सद हुँदैन । असिना पसिना हुनेगरी काम गरेको देखिँदैन तर उनको आम्दानी भने वर्षेनी लाखौँ रुपैयाँ हुन्छ । उनको रहर लाग्दो आम्दानीको बाटो भने मौरीपालन, मह र घार (गोला) बिक्री व्यवसाय नै हो । 

हाँडीखोलास्थित आफ्नै घरमा उनले विगत पाँच वर्षदेखि मौरीपालन गर्दै आएका छन् । मौरीपालनमा रम्दैजम्दै आएका उनले विशेष गरी मौरीको गोला (घार) र मह बिक्रीबाट राम्रो आम्दानी गरिरहेका छन्। वर्षेनी सयौँ घार र महको बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी भइरहेको उनले बताए । दुराका अनुसार गत वर्ष मात्रै ९० घार बिक्री भएका थिए । प्रतिघार रु आठ हजार ५०० का दरले बिक्रीबाट मात्रै रु सात लाख ६५ हजार आम्दानी भएको उनको भनाइ छ । 

त्यस्तै करिब १०० लिटर मह बिक्रीबाट प्रतिलिटर रु एक हजार १०० का दरले रु एक लाख बढी आम्दानी भएको दुराकी श्रीमती धनमायाले बताए । यस वर्ष १०० भन्दा बढी घार बिक्री गर्ने लक्ष्यका साथ काम गरिरहेको दुराको भनाइ छ । बिहानैदेखि मौरीको हेरचाह, स्याहार, चरनको व्यवस्था, पुराना घारबाट मौरी छुुट्याएर नयाँ मौरीघार बनाउने काममा दुरा परिवार खट्दै आएको छ । 

उनको यतिबेला ५४ घार मौरी छन् । तिनै घारबाट मौरी छुट्याएर नयाँ घारमा राख्दै बिक्री गरिने दुराको भनाइ छ । जिल्लाभित्र र बाहिरका धेरै ठाउँबाट मौरीघार र महको माग आउने भएकाले बजारको कुनै समस्या नभएको उनको भनाइ छ । यो व्यवसाय शुरु गरेदेखि हालसम्मको अवधिमा दुरालाई रु १४÷१५ लाख आम्दानी भइसकेको छ । घरपरिवारको पुरानो ऋण तिर्नाका साथै छोरालाई विदेश पठाउने लगायत काममा उक्त आम्दानीले ठूलो सहयोग पुगेको उनले बताए । 

दुराका अनुसार उनको व्यवसायलाई नगरपालिकाबाट गत वर्ष रु एक लाख अनुदान पाइएको थियो । जुन ठाउँमा जे व्यवसायको सम्भावना हुन्छ सोही व्यवसाय गर्नसके सफलता मिल्छ भन्ने सिकाइ दुराबाट भएको सोही वडाका वडाध्यक्ष रामचन्द्र भण्डारीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११९.४८१२०.०८
European Euro१३१.५६१३२.२२
UK Pound Sterling१४६.०११४६.७४
Swiss Franc१२४.२३१२४.८५
Australian Dollar७२.५३७२.९०
Canadian Dollar८४.८६८५.२९
Singapore Dollar८३.३५८३.७७