संसदीय समितिद्वारा पुरातात्विक स्थलको अनुगमन

४ बर्ष अगाडि

सङ्घीय संसद्को अन्तरराष्ट्रिय सम्बन्ध समितिको टोलीले यस क्षेत्रका पुरातात्विक स्थलको अध्ययन अनुगमन गरेको छ । समितिका सभापति पवित्रा निरौलासहितको टोलीले लुम्बिनीसहित, कपिलवस्तु र नवलपरासीमा रहेका पुरातात्विक क्षेत्रको अनुगमन गरेको हो । 

टोलीले बुद्धको जीवनीसँग जोडिएका लुम्बिनी, देवदह, रामग्राम, कपिलस्तुको सिसहनिया, निग्रोधराम, गोटिहवा, तिलौराकोट, निग्लिहवा, सगरहवा र विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालको अवलोकन गरेको समितिका सचिव सुरजकुमार दुराले जानकारी दिए ।

चैत ४ गते काठमाडौँबाट आएको टोलीले दुई दिनसम्म पुरातात्विक स्थलको महत्व, अवस्था र भइरहेका गतिविधिबारे अध्ययन गरेको सचिव दुराले बताए । अनगुमनपछि उपसमितिले प्रतिवेदन तयार गरी पुरातात्विक स्थलको विकासका लागि बनाउनुपर्ने योजनाबारे सरकारको ध्यानाकर्षण गराउने बताए । अनुगमन टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेशकुमार त्रिपाठी) ले बुद्धस्थलका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्व तथा विकास कोषले गरिरहेका कामबारे जानकारी गराएका थिए । पुरातात्विक स्थलको अवलोकनपछि समिति सभापति निरौला, उपसमिति संयोजक सुजिता शाक्य, सदस्य माधवकुमार नेपाल, उमा रेग्मी, बोधमाया यादव, सरला यादव लगायतको टोली आज काठमाडौँ फर्किएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया