ब्याडमिन्टनको विश्व बरियतामा प्रिन्सको स्थान यथावत

४ बर्ष अगाडि

ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको विश्व बरियताको स्थान यथावत रहेको छ । 

विश्व ब्याडमिन्टन महासङ्घ (बीडब्लुएफ) ले शुक्रबार जारी गरेको नयाँ बरियतामा पुरुष यू–१९ तर्फ प्रिन्स सातौँ स्थानमा कायमै छन् । 

यसअघिको बरियतामा प्रिन्स १०औँ स्थानमा थिए । प्रिन्सले प्राप्त गरेको बरियता विश्व जुनियर ब्याडमिन्टनतर्फ अहिलेसम्मकै उत्कृष्ट नतिजा हो ।

 नेपाली खेलाडीले प्राप्त गरेको यही नै अहिलेसम्मकै सर्वाधिक सफलता हो । 

प्रिन्सले गत महिना सम्पन्न डच जुनियर इन्टरनेशनल तथा जर्मन जुनियर सिरिजमा प्रि–क्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए । 

डच जुनियर इन्टरनेशनलमा उनले खेलेका तीन खेलमा दुईमा जीत र एउटामा हार तथा जर्मन सिरिजमा चार खेलमा तीन जीत तथा एउटामा हार ब्येहोरेका थिए ।  

यसअघि महासङ्घले गत पुस अन्तिम साता निकालेको विश्व बरियतामा उनी ११औँ स्थानमा,  पुस दोस्रो साता १४औँ स्थानमा तथा मङ्सिरमा ३२औँ स्थानमा थिए ।

 विश्व जुनियर ब्याडमिन्टनमा नेपालबाट विश्व बरियताको शीर्ष १० मा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी बनेका छन् । 

दार्चुला सदरमुकाम खलङ्गा घर भएका १६ वर्षीय प्रिन्स हाल ललितपुरको जाउलाखेलीस्थित डाँफे इङ्ग्लिस बोर्डिङ स्कूलमा नौ कक्षामा अध्ययनरत छन् । हालसम्म उनी कुनै पनि विभागिय टोलीमा आबद्ध छैनन् । प्रिन्सले सुदूरपश्चिम प्रदेशबाट खेल्ने गरेका छन् । 

विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता सिनियरतर्फ तथा यु – १९ जुनियर खेलाडीको बरियता निर्धारण गर्ने गर्छ । 

विश्व जुनियरतर्फको बरियताको शीर्ष स्थानमा फ्रान्सका क्रिस्टो पोपोभ पनि यथावत छन् । 

दोस्रो स्थानमा भारतका मिराव लुवाङ, मलेसियाका कोक जिङ होङ तेस्रो, भारतका बरुण कपुर चौथो, डेनमार्कका म्याड्स जुवेल मोलर पाँचौँ तथा फिनल्यान्डका जोआकिम वल्डरफ छैटौँ स्थानमा यथावत नै रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया