कामदार चीनमा रोकिँदा साञ्जेन जलविद्युत् कम्पनी प्रभावित

४ बर्ष अगाडि

कोरोना भाइरसका कारण विश्व नै त्राहीमान भइरहेका बेला त्यसको प्रभाव विभिन्न क्षेत्रमा परेको छ । नेपालका विभिन्न विकास निर्माणका कामसमेत त्यसबाट प्रभावित भएका छन् । निर्माण सम्पन्न हुने क्रममा पुगेका र राम्रो भौतिक प्रगति भएका जलविद्युत् आयोजनासमेत त्यसबाट नराम्ररी प्रभावित भएका छन् । 

चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरिरहेका दुई आयोजनामध्ये एक आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको थियो । तर, कोरोना भाइरसका कारण चिनियाँ प्राविधिक आउन नसक्दा इलेक्ट्रोमेकानिकल उपकरण जडान गर्न समस्या भएको छ । 

कम्पनीले माथिल्लो र तल्लो साञ्जेन गरी दुई आयोजना निर्माण गरिरहेको छ । त्यसमध्ये १८।८ मेगावाट क्षमताको माथिल्लो साञ्जेनको काम करिब सम्पन्न हुने चरणमा पुगेको थियो । भौतिक निर्माणको काम करिब ९० प्रतिशत सम्पन्न भएको सो आयोजनाको विद्युत् गृहमा उपकरण जडान गर्ने कार्यतालिका तय गरिएको थियो । तर गत डिसेम्बरको अन्तिमदेखि चीनमा फैलिएको कोरोनाका कारण चिनियाँ कामदार उतै रोकिँदा उपकरण जडानमा समस्या भएको साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए । 

चीनमा कोरोनाको सङ्क्रमण कम भएपछि चिनियाँ प्राविधिक आउने सूचना आए पनि सरकारले विदेशी नागरिकलाई तत्काल नेपाल आउन लगाएको प्रतिबन्धका कारण उनीहरु उतै रोकिएका छन् । कोरोनाको प्रभाव न्यून नहुँदासम्म आयोजनामा कुनै काम नहुने अवस्था देखिएको छ । 
    
“कोरोना भाइरसको असरले उपकरण जडानको काम प्रभावित भएको छ, चिनियाँ कामदार फर्किन नसक्दा उपकरण जडानमा ढिलाइ भएको हो”, उनले भने । रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेनबाट चालू आर्थिक वर्षको अन्त्यदेखि विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएको छ । कोरोनाका कारण थपर दुई महिना पर धकेलिने अवस्था आएको श्रेष्ठको भनाइ छ । 

“कोरोनाको असरले काम रोकिँदा उत्पादन तालिका पनि पछि सर्ने सम्भावना देखिएको छ, हेरौँ प्रभाव कस्तो पर्छ, सोही आधारमा थप निर्णय होला”, श्रेष्ठले भने । यस्तै आयोजना सकिएको भए पनि प्रसारण लाइनको अभावमा उत्पादित विद्युत् पूर्ण क्षमतामा राष्ट्रिय प्रसारण लाइनमा जोड्न पनि समस्या रहेको थियो । निर्माणाधीन चिमिले–त्रिशूली थ्री बी हब प्रसारण लाइन र सवस्टेशनको कामसमेत पूरा भएको छैन । सो प्रसारण लाइन नबने पनि वैकल्पिक व्यवस्था गरेर नौ मेगावाट विद्युत् जोड्ने तयारी गरिएको थियो । 

तल्लो साञ्जेनको सुरुङ ‘ब्रेक थ्रु’

चिलिमको हालकै प्रसारण लाइनमार्फत नौ मेगावाट विद्युत् जोड्ने तयारी गरिएको थियो ।  यस्तै कूल ४२ दशमलव पाँच मेगावाट क्षमताको तल्लो साञ्जेनको शुक्रबार मात्रै सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको कूल तीन हजार ६७३ मिटर लामो मुख्य सुरुङ शुक्रबार निर्माण सम्पन्न भएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए । 

आज शनिबार सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि साञ्जेन खोलाको पानी व्यवस्थापन गरेर शुक्रबार नै सुरङ ‘ब्रेक थ्रु’ गरिएको आयोजनाले जनाएको छ । आयोजनाको प्रमुख र महत्वपूर्ण मानिएको सुरुङ निर्माण कार्य सम्पन्न भए पनि अब सुरुङको ढलान तथा मर्मतको काम अगाडि बढाइनेछ । सो कार्यका लागि कम्तीमा आठ महिना समय लाग्नेछ । हाल आयोजनाको भौतिक निर्माण झण्डै ७८ प्रतिशतको हाराहारीमा पुगेको छ । 

यस्तै आयोजनाको बाँध क्षेत्रको भौतिक निर्माण यसअघि नै सम्पन्न भएको छ । हाल विद्युत् गृह निर्माण तथा टेलरेस सुरुङमा पाइप जडानलगायतका काम भने जारी छ । कोरोनाका कारण ठेकेदार कम्पनीका प्राविधिक, कर्मचारी र केही उपकरण चीनमा नै रहेका कारण आयोजनाको काम प्रभावित भएको छ । 

तल्लो साञ्जेनबाट आगामी कात्तिकदेखि विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएको छ । ती दुवै आयोजना सरकारले अगाडि सारेको जनताको जलविद्युत् कार्यक्रममा समावेश गरिएका आयोजना हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शुरु गरेको सो कार्यक्रमले जलविद्युत्मा आन्तरिक लगानी प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया