दिनभरको लफडापछि बेलुका विज्ञप्ती निकालेर बन्द गरियो सेयर बजार

आइतबार, ०९ चैत्र २०७६, २१ : ३६

आइतबार दिनभर भएको विवादपछि अन्ततः धितोपत्र बोर्डले सोमबारदेखि ५ दिनका लागि सेयर कारोबार बन्द गरेको छ । 

धितोपत्र बजारमा भइसकेका कारोबारको नियमानुसार राफसाफ तथा फछ्र्यौट गरेपछि सेयर बजार बन्द गरिएको बोर्डले जनाएको छ । 

शुक्रबार प्रधामन्त्री केपी शर्मा ओलीले सम्बोधनको क्रममा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने घोषणा गरेको कारण सेयर बजार बन्द गर्नुपर्ने भन्दै आइतबार दिनभर लगानीकर्ताले विवाद गरेका थिए । 

तर भइसकेको कारोबारको राफसाफ हुनुपर्ने भन्दै दिनभर कारोबार रोक्न नमानेको बोर्डले बेलुका विज्ञप्ती निकालेर सोमबारदेखि पाँचदिनका लागि कारोबार बन्द गर्ने निर्णय गरेको जनाएको छ । 

बोर्डका प्रवक्ता निरज गिरीले जारी गरेको विज्ञप्तीमा नेपाल स्टक एक्सचेञ्जसँग परामर्श गर्दा कोरोना भाईरसको जोखिमको त्रासले गर्दा लगानीकर्ता तथा सदस्य दलालको धितोपत्र कारोबारमा सहभागिता घटदो क्रममा रहेको पाइएकोले कोरोना भाईरसको जोखिमलाई न्यूनीकरण गरी लगानीकर्ता, सदस्य दलाल, कर्मचारी आदिको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई दोस्रो बजारमा हुने नयाँ कारोबार केही समयका लागि बन्द गर्ने निर्णय गरिएको जनाएको छ । 

आइतबार, ०९ चैत्र २०७६, २१ : ३६

प्रतिक्रिया