त्रिशुली गल्छीमा लगानी गरेका लगानीकर्ता डुबे, प्राधिकरणले गरिदियो गुरु न्यौपानेको सिद्धकाली पावरको पिपिए खारेज

४ बर्ष अगाडि

काठमाडौं । ऊर्जा उद्यमी गुरुप्रसाद न्यौपानेले महत्वाकाक्षी भनेको र धेरै व्यक्तिबाट लगानीका लागि भन्दै पैसा समेत उठाएको एक जलविद्युत् आयोजनाको विद्युत् खरीद सम्झौता खारेज भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले त्रिशुली गल्छी जलविद्युत् आयोजनाको विद्युत् खरीद सम्झौता खारेज गरिदिएको हो । तोकिएको समयमा वित्तीय व्यवस्थापन गर्न नसकेको सो आयोजनालाई नियमानुसार नै सम्झौता खारेज भएको प्राधिकरणले जनाएको छ ।

धादिङ र नुवाकोटको सिमानामा रहेको गल्छस् बजार भन्दा केही किलोमिटर माथि मात्रै निर्माण गर्न लागिएको सो आयोजनाको क्षमता ७५ मेगावाट रहेको छ । आयोजनाको निर्माण सिद्धकाली पावर लिमिटेडले गर्न लागेको थियो ।

कम्पनीले त्रिशुली नदीमा नै विद्युत् गृह तथा अन्य संरचना समेत निर्माण गर्ने तयारी गरेको थियौ । न्यौपानले सो आयोजना निर्माणका लागि संस्थापक सेयर भन्दै झण्डै ५ सय बढी लगानीकर्तासँग पैसा समेत उठाएका थिए । प्राधिकरण र कम्पनीबीच २०७३ साल जेठ २० गते विद्युत् खरीद सम्झौता समेत भएको थियो । प्राधिकरणले तोकेको २ वर्षभित्र वित्तीय व्यवस्थापन नगरेको र वित्तीय व्यवस्थापन गरी निर्माणमा जान पटक पटक आग्रह गरेपनि सम्बन्धित कम्पनीले अटेर गरेको प्राधिकरणको भनाइ छ ।

नियमानुसार प्रक्रिया पूरा नगरेपछि प्राधिकरणले सम्झौता खारेज गरिदिएको हो । प्राधिकरणका अनुसार विद्युत् खरीद सम्झौताको दफा ३८.२ अनुसार प्रावधान पूरा नगरेपछि सम्झौता खारेज भएको हो । त्यसो त न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो चीन भ्रमणको समयमा एक चिनियाँ कम्पनीसँग लगानी सम्बन्धी सम्झौता समेत गरेका थिए । सम्झौतामा चिनियाँ कम्पनीले नैै लगानी भित्र्याएर इपिसिएफ ढाँचामा आयोजना निर्माण गर्ने भन्दै हल्ला समेत चलाएका थिए ।

यस्तै, २०७५ चैतमा सम्पन्न भएको लगानी सम्मेलनका क्रममा समेत एक बेलायती कम्पनीसँग लगानी सम्बन्धी सम्झौता भएको दावी गर्दै उनले ठूलै प्रचार गरेका थिए । तर, ती सबै हल्ला केवल हल्ला मात्रै रहेको प्राधिकरणको आजको कदमपछि थप पुष्टि भएको छ । सोही कम्पनीले आयोजना निर्माण गर्ने भए अब पुनः नियमानुसार प्रक्रिया पुर्याएर सम्झौता गर्नुपर्ने हुन्छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया