इन्टरनेटको प्रयोगमा अस्वभाविक बृद्धि, आवश्यक एप्लिकेसन मात्रै चलाउनुस्

४ बर्ष अगाडि

नेपालमा केहीदिनदेखि इन्टरनेटको प्रयोगमा अस्वभाविक बृद्धि भएको छ । 

कोरोना भाइरस (कोभिड–१९) कोकारण मानिसहरु बाहिर निस्कन छाडेपछि घरमै बसेर इन्टरनेट चलाउँदा खपत अस्वभाविक रुपमा बढेको हो । 

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार प्रयोगकर्ता बढेपछि अस्वभाविक लोड बढेर इन्टरनेटको गति सुस्त हुन थालेको छ।

केहीदिन यता इन्टरनेट प्रयोगको दर २५ प्रतिशतले बढेको इन्टरनेट प्रदायकहरुको संगठन आईएसपीएनका अध्यक्ष भोजराज भट्टले बताए । 
पहिला पहिला बिहान र बेलुका धेरै इन्टरनेट चल्ने भएपनि अहिले दिनैभरी एउटै दरमा इन्टरनेट चलेको उनको भनाई छ ।  

प्रयोगकर्ताको चाप बढेपछि डाटा सेवा दिने कम्पनीहरुलाई तत्काल कुनै समस्या नदेखिए पनि आइएसपी तर्फका सेवामा भने समस्या आउन सक्ने नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । 

‘नेपालमा केही ठूला कम्पनीबाहेक अधिकांश आइएसपीले प्रयोग गर्ने गेटवेको क्षमता ४० जिबी मात्रै छ’, उनले भने ‘एकैपटक धेरै प्रयोगकर्ता सक्रिय हुँदा गेटवेको क्षमताले नधानेर  आइएसपीहरुको सर्भर डाउन हुँदा सेवा अवरोध हुन सक्छ।’

त्यसैले त्यो अबस्था आउन नदिनका लागि आवश्यक एप्लिकेसनहरु मात्रै चलाउन प्राधिकरणले आग्रह गरेको छ। 

केही समयअगाडि केही युरोपेली मुलुकमा इन्टरनेट प्रयोगको दर बढेपछि सेवा प्रदायकका सर्भर डाउन भएको थियो । 

‘नेपालमा पनि त्यस्तै परिस्थिती आउन नदिन समयमै सचेत हुनुपर्छ’, नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले भने । 

नेपाल टेलिकमसँग उच्च क्षमताको उपकरण भएको कारण हाललाई सर्भरनै डाउन हुने अवस्था नभएको भएपनि केही नीजि कम्पनीहरुको सर्भर डाउन हुन सक्ने भएकोले समयमै सचेत हुनुपर्ने प्राधिकरणको भनाई छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया