बङ्गलादेशकी पूर्व प्रधानमन्त्री जिया सशर्त रिहा

४ बर्ष अगाडि

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री तथा विपक्षी दलकी नेत्री खालिदा जियालाई बुधवार रिहा गरिएको छ । 

सरकारले उनलाई घरमै बस्ने र देशवाट बाहिरिन नपाउने शर्तमा छ महिनाका लागि जेलमुक्त गरेको बताएको छ । नेतृ जिया विगत दुई बर्षदेखि कारागारमा रहेका थिए । उनलाई बङ्गाबन्धु शेख मुजिब चिकित्सा विश्वविद्यालयको कैदी कक्षमा राखिएको थियो । उनका परिवार, शुभेच्छुक र पार्टीका वरिष्ठ नेतासहितका हजारौँले उहाँलाई जेलबाट रिहा हुँदै गर्दा स्वागत गरेका थिए ।

कोरोनाभाइरसका कारण धेरै मानिस जम्मा हुन सरकारले लगाएको निषेधका बावजुत पनि उनीहरू जियालाई स्वागत गर्न पुगेका थिए ।

ह्विलचियरमा थुनावाट बाहिर निस्कँदा नेतृ जियाले मुखमा मास्क लगाएका थिए । कानुनमन्त्री अनिशुल हकले मानवियताका कारण उहाँलाई जेलमुत्त गर्ने तयारी भएको मंगलवार बताएका थिए। नेतृ जियाले घरमै बसेर उपचार गर्ने विश्वास लिइएको पनि उनले बताए । 

लामो समयदेखि विभिन्न रोगवाट ग्रसित ७४ वर्षीय जियालाई जेलमुत्त गर्न सरकारमाथि दवाब पर्दै आएको थियो । पूर्व प्रधानमन्त्री जियालाई भष्ट्राचारको आरोपमा अदालतले १७ बर्ष जेल सजायको फैसला गरेको छ । उनि र उनका समर्थकहरूले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको दाबी गर्दै आएका छन् । 

वर्तमान प्रधानमन्त्री शेख हसिना र जियाका बिचमा लामो समयदेखि राजनीतिक तथा व्यक्तिगत टकराव चल्दै आएको छ । जियाका समर्थकहरूले कारागारमा जियाका लागि सरकारले राम्रो व्यबस्था नगरेकाले उनको स्वास्थ्य अवस्था बिग्रिएको आरोप लगाएका छन् । बङ्गलादेशको एक उच्च अदालतले उपचारका लागि जेलमुत्त गर्न जियाले गरेको अपिललाई गत फेबुअरीमा अस्वीकृत गरेको थियो । 

सन् २०१८ को फेबुअरीमा राज्यशक्ति र स्रोतको दुरुपयोग गरेको ठहर गर्दै अदालतले उनलाई जेल सजायको फैसला गरेको थियो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया